प्राय: बूढाबूढीको रहर हुन्छ– कम्तीमा नातिनातिनासम्मको अनुहार देख्न पाइयोस् । पनाति–खनातिसम्म हेरौँला भनेर त सोच्न पनि भ्याएका हुँदैनन् । त्यो अवस्थासम्म बाँच्ने पनि कमै हुन्छन् । बाँचिहाले पनि अरूको सहारामा आश्रित भएर झर्को र फर्कोमा बिताउनुपर्ने हुन्छ । तर, सप्तरी ठेलिया–५ की विष्णुप्रिया ओझाको कहानी दुर्लभ छ । उनी एक सय पाँच वर्षको उमेरमा छिन् । पाँचौं पुस्तासम्म देख्न भ्याएकी उनी अहिले तिनै सन्तानबीच रानो मौरी बनेर रहेकी छन् । कर्मी मौरीजसरी उनका वरिपरि झुम्मिरहेका हुन्छन्, परिवार । आºना सानातिना काम आफैँ गर्न सक्छिन्, अरूको भर पर्नु पर्दैन ।
नत्र त उनको भन्दा निकै कम उमेरको बुढ्यौलीमा रहेकाहरूकै अवस्था पनि निरीह भेटिन्छ यहाँ । आँखा नदेख्नु, कान नसुन्नु, ओछ्यानमै दिसापिसाब, र्यालसिँगान भएर कसैले खान देला कि भन्दै दीन याचना गरेर बस्नुपर्ने दैनिकी पटक्कै छैन विष्णुप्रियासँग । उमेरले दिनेभन्दा निकै फुर्तिली छन् उनी ।
विष्णुका सबै दाँत झरेका छन्, त्यसैले बोली भने प्रस्ट छैन । पावरवाला चस्मा लगाएर भए पनि आँखाले राम्रै गरी ठम्याउन सक्छिन् । केटाकेटीसँग गफ गर्नु, टिभी हेर्नु उनका दिन काट्ने मेलो हुन् । दिमाग चुस्त छ, परिवारमा कसले खायो खाएन, को भोको छ सबैको ख्याल राख्छिन् । अझ चाडबाडमा को आयो–आएन, सबको हिसाबकिताब राखिरहेकी हुन्छिन् । यही सक्रियताका कारण बोझ होइन, परिवारको आस्थाको केन्द्रविन्दु बनेकी छन् । अर्बौंको सम्पत्ति हुनेले पनि पचास काट्नासाथ बाबुआमालाई धर्मशालामा पुर्याएर बेवारिसे बनाउने दुरुह कहानी भेटिने यही समाजमा यी जिजुआमा परिवारको अमूल्य निधि बनेर रहेकी छन् । खाना आफैँ पकाएर खान्छिन् । वैष्णव हुन्, माछामासु खानेले पकाएको उनलाई चल्दैन । खाना मात्र होइन, भाँडा पनि अलग चाहिन्छ । त्यसैले सप्तरीदेखि काठमाडौं घुम्न आउँदा आºना चुलेसीदेखि एकसरो भाँडासमेत साथै ल्याएकी छन् ।
यी उमेरविजेता आमैलाई एकचोटि फेरि काठमाडांै घुम्ने र पशुपतिको दर्शन गर्ने इच्छा भयो । परिवारले विराटनगरबाट हवाइजहाजमा हालेर काठमाडौं ल्याए । कालिकास्थानमा रहेको छोरीतिरको घरमा बसेर काठमाडौं घुमिन् । सबै हेक्का छ उनलाई– पशुपति, गुह्येश्वरी, बूढानीलकण्ठ । ‘यी यसले सबैतिर घुमाइदिई,’ छेवैमा बसेकी नातिनी बुहारीतर्फ फर्कंदै सुनाइन् ।
अघिल्लोचोटि उनी ००६ सालमा काठमाडौं आएकी थिइन् रे । उनले बिर्सेकी छैनन्, उति बेलाको वाग्मती अहिलेजस्तो फाहोरी थिएन । भन्छिन् ‘००६ सालमा वाग्मतीमा नुहाएकी थिएँ, कति सफा थियो । अहिले त फोहोरै फोहोर रहेछ जताततै, यस्ता बाक्ला र अग्ला घर काहाँ थिए र † अहिलेको मान्छेलाई घर भए हुँदो रहेछ, जग्गा नै नचाहिने ।’ उदयरपुरबाट चिउरा सामल बोकेरै पैदलै १८ दिन लाएर काठमाडौं आएकी रहिछन्, असनतिरका बासिन्दाले गाडीको धुवाँ मात्र सुँघ्न पाउनुलाई पनि ‘सौभाग्य’ ठान्ने युगमा ।
बुढ्यौलीसँगै शरीरमा रोगहरूले खात लगाउन सुरु गरेपछि लौ अब दिन आइपुगेछ भन्दै झोक्राउन थाल्छ मान्छे, जोसिला इच्छा–चाहनालाई थाती राखेर परलोक सुधार्ने उपायतिर गम्न थाल्छ । ग्यास्टिक, अल्सर, प्रेसर, सुगर दुनियाँ रोगको औषधि खान थाल्छ । तर, विष्णुप्रियाले यस्ता रोगबारे सुनेकी मात्र छन्, आफूले भोग्नुपरेको छैन । अहिले पनि पखाला लाग्यो भने एक पाउ घिउ सुक्र्याउँछिन् रे उनी । डाक्टरी औषधि कस्तो हुन्छ, थाहा छैन । आफन्तहरू भन्छन्– ‘कुनै रोग देखापरेको छैन अहिलेसम्म, अस्पताल अनि औषधिको कुनै झन्झट बेहोर्नुपरेको छैन ।’
यहाँ आउँदा पनि सकेसम्म आºना काम आफैँ गरिन् उनले । आºना कपडा र भाँडा अरूलाई धुन दिन्नन् । भन्छिन्– ‘यी छोरीतिरका सन्तान हुन्, यिनीहरूलाई मेरा जुठा भाँडा र कपडा धुन लाए पाप लागिहाल्छ नि † मेरो सबै धर्म नाश हुन्छ ।’ तर, यसपालि नातिनी बुहारीले पकाएको खानुपर्ने बाध्यता आइलाग्दा आँसु झारिछन् यी आमैले । ‘कहिल्यै अरूले छोएको खाइनँ, तर के गर्नु यो उमेरमा आएर खानुपर्यो, मलाई यिनीहरूको चुलो बाल्नै आएन, हाम्रो गाउँको जस्तो रहेनछ,’ धर्मप्रति अगाध आस्था र डर छ उनलाई ।
यो उनको सुस्वास्थ्यको रहस्य हो कि होइन, थाहा छैन तर बिहानको खानामा घिउ र दही अनिवार्य चाहिन्छ विष्णुप्रियालाई वर्षौंदेखि । साँझ भने रोटी, तरकारी र दही खान्छिन् । नातिनी बुहारी सुनाउँछिन्– ‘साँझ चपक्क घिउ हालेर रोटी पका त भन्नुहुन्छ, चामलको रोटीमा घिउ हाल्नुपर्छ ।’ थोरै घिउ हालेको देखिन् भने ‘के त्यति हालेको नि, बरु पैसा नभए म आफैँ किनिदिउँला अलि निकै हाल्’ भन्न थाल्छिन् यी चिरञ्जीवी वृद्धा ।
– बिहे हुँदा जम्मा १५ वर्षकी थिइन् रे उनी । सत्र वर्षकै उमेरमा विधवा भइन्, पति जयप्रसाद ओझा छोडेर गए । ‘६ महिनाको गर्भ थियो, छोरी जन्मिई । उसैका छोराछोरी सबै गरेर मेरा ३४ जना नाति, पनाति, खनाति छन्’ –उनी गर्व गर्छिन् । ऊ बेलैदखि बिहान तीनै बजे उठ्ने बानी छ उनलाई । भन्छिन्– ‘उति बेला सुतिरहन कहाँ पाइन्थ्यो र, कति धेरै काम गर्नुपथ्र्यो, अहिले जस्तो हो र ?’ यो उमेरमा पनि सधैँ नुहाउनुपर्छ उनलाई । पूजाजपमा आधाघन्टा बिताउँछिन् । निधारमा सिधा पारेर लामो धर्के टीका लगाउँछिन् । आºनो जमानाको स्वाद र गुणस्तरको निकै तारिफ गर्छिन् उनी– ‘हामी त सुकामाना घिउ खान्थेम्, बाल्टीभरि दूध दुह्यो अनि कराइमा भकभक उमालेर खाने । अहिलेको जस्तो प्लास्टिकको पोकामा ल्याएको ठुस्स गन्हाउने दूध हो र †’
९० सालको महाभूकम्प झलझली याद छ यी पुरानी नेपालीलाई । जति बेला उनी २४ वर्षकी जवान थिइन् । ‘हामी माघेसंक्रान्तिमा त्रिवेणी नुहाएर फर्कंदै थियौँ । जमिन भुर्रभुर्र गर्न थाल्यो, सबै हल्लियो, इनारबाट माछाहरू पानीसँगै बाहिर निस्कन थाले । सबैतिर कोलाहाल भयो । पछि थाहा भयो, भुइँचालो पो गएको रहेछ,’ दन्त्यकथाजसरी सुनाइन् उनले ।
अहिलेका थुप्रै कुरा मन पर्दैनन् उनलाई । जे पनि आºनै जमानाको राम्रो भन्छिन् । ‘हाम्लाई त सात वर्षमा गुन्यु चोली दिन्थे’, सानी खनातिनीतर्फ देखाउँदै भनिन्– ‘त्यो पनि यिनले लगाएजस्तो फ्रक हो र ? पूरै बाह्र हातको हुन्थ्यो, फनफनी बेरेर लाउथ्यौँ । छिटको गुन्यु र खादीको बर्को हुन्थे ।’ तर, उति बेला उनले बिहेमा लगाएको छिटको गुन्युभन्दा चाहिँ अहिलेका बेहुलीले लगाउने हलुका कपडा नै राम्रो लाग्दो रहेछ उनलाई ।
सुख भने पहिलेका भन्दा अहिलेका मान्छेलाई बढी भएको देख्छिन् विष्णुप्रिया । ‘हाम्रो पालामा निकै काम गर्नुपथ्र्यो, धेरै दु:ख थियो । खाना पनि अहिलेको जस्तो मीठो कहाँ खाना पाउनु † उति बेला हेरी अहिलेकालाई त धेरै आनन्द । हामी त जहाँ पनि हिँडेरै जानुपथ्र्यो । खेतीपाती, उकालोओरालो मेलापात कति गर्यौँ–गर्यौँ ।’ अहिले काठमाडौंमै हुर्किएकाहरूलाई विष्णुमाया जिजुमाका यी कुराको भेउ नै हुँदैन होला । थाहा पाएकाहरूलाई पनि कुनै दन्त्यकथा सुनेजस्तो लाग्दो हो । अनि आश्चर्यले जिब्रो टोक्दा हुन्, यो उमेरमा पनि उनको फुर्तिलो अनि टाठो बोली सुनेर ।
प्रतिक्रिया