दिल्लीमा दिल जवान

कहिलेकाहीँ लाटोको खुट्टो पनि बाटोमा पर्छ । मैले धेरै वर्षसम्म हरिहर विरही र पदम ठकुराठीको समयमा साप्ताहिक ‘विमर्श’ मा लाटो बुंगोको डायरी लेखेको हुनाले होला साहित्यिक क्षेत्रमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा म आफूलाई लाटो बुंगो नै ठान्छु । हालसालै अर्थात् गत ११ जुनका दिन पाँच जवान साहित्यकारको टोली एयर इन्डियाको एयर बसमा छिरेर दिल्लीको अत्यन्त तातो हावा, जसलाई आगोको लप्का भने पनि हुन्छ, मा भौँतारिन पुग्यौँ । दिल्लीमा पाँचजना हिन्दीका कवि र पाँचजना हामी नेपालका कविबीच मल्लयुद्ध थियो ।
त्यस मल्लयुद्धको नाम राखिएको थियो– हास्य कवि सम्मेलन † हास्यकवि सम्मेलन हास्यास्पद कवि सम्मेलन नबनोस् भनेर होला, हाम्रो नेपाली टोलीमा थोर बहुत हास्य–व्यंग्य लेखिटोपल्ने मुकुन्द आचार्य भनाउँदो मै एक थान बूढो थियो । अन्य साहित्यकार मित्रहरू हुनुहुन्थ्यो– सिताराम अग्रहरि, ज्ञानुवाकर पौडेल, राजेश्वर नेपाली र गोपाल अश्क ।
रुचि सिंह, कोअर्डिनेटर (संयोजिका) को समुधुर स्वरले निम्त्याएपछि म पनि फुरुंग परेर कम्मर कसेरै हिँड्या थिएँ । ‘कम्मर कसेर’ को गलत अर्थ नलागोस् । कविले कम्मर कस्नु भन्या टन्न नोट बोक्नु भन्या होइन, टन्न कविता बोक्नु हो । मैले नेपाली, भोजपुरी, हिन्दी र संस्कृतमा समेत व्यंग्य कविता रचेर लगेको थिएँ । तर, त्यहाँका श्रोता वर्गको दुर्भाग्य हेर्नुस् न, उनीहरूले मेरा नेपाली र हिन्दीका कविता मात्र चाख्न पाए, समयाभावले । यसै कारणले समयलाई बलियो भन्या होला ।
मसँग भंगेरारुपी जहाजमा चकलेट खाँदै सिमराबाट काठमाडौं र काठमाडौंबाट सिमरा उडेको मात्र अनुभव थियो । यो बुढेसकालमा गरुड समान विशाल जहाजमा आसन जमाएर, रासन (भोजन) को आनन्द लिँदै दिल्लीको भव्य इन्दिरा गान्धी विमानस्थलमा ओर्लंदा आफूलाई धेरैबेरसम्म भाग्यमानी मान्न पाइएन, त्यहाँको प्रचण्ड गर्मीले गर्दा । कता–कता मलाई लाग्यो, यो प्रचण्ड शब्द नै खतरा हो कि ? तर, दिल्लीको करोल बाग, अमन होटेलमा वातानुकूलित (एसी) कोठामा ढलिमली गर्न पाउँदा प्रचण्ड गर्मीको बख्खुले पनि क्यै नाप्न सकेन । होटेलबाहिर निस्कँदा भने आगोको भुंग्रोमा परेजस्तै हुन्थ्यो । तर, व्यवस्थापनको आदर, सत्कार र सुमधुर व्यवहारले हार्दिक शीतलता चैँ मनग्गे प्रदान गथ्र्यो । हाम्रो तराईतिर मेलामा भेडा–भेडा जुधाउने चलन थियो ।
मैले त त्यै जुधाइलाई सम्झँे हिन्दी र नेपाली कविको जुहारी भेडा जुधाइभन्दा कम थिएन । भित्र ज्ञानुवाकर र गोपाल अश्कले गजलको गदाले श्रोतागणलाई बेहोसै पार्ने गरी प्रहार गरे भने सीताराम–राजेश्वर नेपालीले चैँ बेहोस स्रोतालाई मीठा–मीठा कुरा गरे फकाइफुल्याइ गरे । मैले चैँ व्यंग्यका घुयेँत्राहरू चलाएर सोनिया गान्धी, मनमोहन सिंह, प्रणव मुखर्जी, ममता बनर्जी सबैलाई तारो बनाएँ । हिन्दीका तर्फबाट एउटी सुन्दरी नारीले, कविताको सुन्दर सारी लाएर कविता– वाचनको श्रीगणेश गरिन् । सुन्दरीको मुखबाट सुन्दर कविता सुन्न पाएपछि को लठ्ठिँदैनथ्यो ? वीना बाजामा सर्प झुमेजस्तै सबै झुम्दै थिए । म बूढोलाई पनि सात्विक आनन्दको अनुभूति भयो । साँच्चिकै बूढो त भएको रैनछु जस्तो लाग्यो । दिल्ली भा’ हुनाले मेरो मनले सही थाप्यो ‘दिल ही ते है ।’
सबभन्दा पुरानो पत्रिका (गोप) का सबभन्दा नयाँ नाइके सीताराम अग्रहरिले पनि म त सुरुमा खेल पत्रकार थिएँ भन्ने प्रमाण मञ्चमा दिएर हँसाउने प्रयास त नगर्‍या होइन । गजलकार मित्र ज्ञानुवाकरले यात्राभर नै आºनो अखण्ड सज्जनताको प्रमाणपत्र देखाउँदै हिँड्नु भयो । संस्कृतमा एउटा भनाइ छ ‘प्रथम चुम्बन ओष्ठ भंग’ अर्थात् सुरुमै विघ्न पर्नु भने जस्तै गोपाल अश्क र मैले नागरिकता घरमै छाडेर ठूलो तहल्का मच्चायौँ । संयोजिका रुचि सिंहको त त्यतिखेर रुचि नै खराब भयो । पहिलो चुम्बनमै कसैको ओठ घाइते हुन्छ भने, कसको के लाग्छ †
यात्रा सानो अवधिको भा’ हुनाले हामी अक्षरधाम र दिल्लीको प्रचण्ड घाम दुवैको आनन्द पेटभरी लियौँ । अक्षरधाममा स्थापित भगवानहरूलाई भन्न मन लाग्यो, आतंककारीहरूले त्यत्रो उपध्रो गर्दा पनि, के लाटोले केरा हेरेझैँ टुलुटुलु हेरेर बस्या होला ? यसो क्यै गर्नु पर्दैनथ्यो । तर, क्यै पनि भनिनँ । शासक वर्ग जहीँको पनि यस्तै हो, भन्ठाने । बिदाइका बेला कलात्मक खाम भने राखिएका भारतीय नोटहरूले हृदयलाई आर्थिक आनन्द प्रदान गरे । एयर इन्डियाको भुँडीभित्र एक डेढ घन्टा चलखेल गरेर हामी पुन: त्रिभुवन विमानस्थलमा फुत्त झर्‍यौँ ।

प्रतिक्रिया