कार्यसम्पादन फारम भर्ने चटारोमा कर्मचारी

काठमाडौं, ८ साउन । मुलुकभरका सरकारी कार्यालयमा कार्यरत राजपत्रांकित निजामती कर्मचारी आइतबार अन्य दिनको तुलनामा निकै व्यस्त देखिन्थे । सेवाग्राहीसँग मात्र होइन, कार्यालयमा सँगै काम गर्ने सहकर्मीसँग बोल्ने समयसमेत थिएन उनीहरूसँग ।

अघिल्ला दिनका तुलनमा छिट्टै कार्यालय पुगेका कर्मचारी गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन फारम भर्ने आइतबार अन्तिम दिन भएकाले व्यस्त भएका हुन् । सिंहदरबारभित्रका मन्त्रालय तथा विभागमा कार्यरत कर्मचारीका हातमा सम्बन्धित कर्मचारी प्रशासन शाखाले उपलब्ध गराएको कार्यसम्पादन मूल्यांकनको फारम थियो । केहीले आफूभन्दा माथिल्लो तहका कर्मचारीसँग सल्लाह गरेर फारममा खाली छाडिएको ठाउँमा आºनो विवरण भर्दै थिए ।
‘यो फर्म भरेर बुझाउनुपर्ने आज अन्तिम दिन भएकाले सबैभन्दा पहिले आºनो काममा लागाँै भनेको,’ गृह मन्त्रालयमा कार्यरत शाखा अधिकृत भीमकान्त शर्माले भर्दै गरेको कार्यसम्पादन मूल्यांकन फारम देखाउँदै सौर्यसँग भने । १ देखि ७ साउनभित्र कार्यसम्पादन मूल्यांकन फारम भर्ने म्याद रहे पनि आफूले कार्यव्यस्ताताका कारण भर्न नसकेको शर्माको भनाइ थियो ।
उनले अगाडि भने, ‘कार्यसम्पादन मूल्यांकन फारममा भरेको कुराले बढुवालगायत अन्य कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले श्रेणीविहीनबाहेक सबै कर्मचारीको ध्यान केन्द्रित हुनु स्वाभाविकै हो ।’ सचिव तहसम्मका कर्मचारीको बढुवा वा सरुवा गर्दा कार्यसम्पादन मूल्यांकनका आधारमा ४० नम्बरसम्म दिने कर्मचारी नियमावलीमा छ ।
उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले पनि आइतबार नै कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाएको बताइन् । ‘पहिले नै भरेर बुझाउनुपर्ने हो तर कामको व्यस्तताले गर्दा बुझाउन सकिनँ,’ उनले भनिन्, ‘मैले वर्षभरि गरेको कामको मूल्यांकन गरी त्यसमध्ये उत्कृष्ट लागेको पाँचवटा कामको विवरण र त्यसबाट परेको प्रभाव लेखेर बुझाएँ ।’
शान्ति मन्त्रालयका उपसचिव प्रेम सञ्जलले भने आफूले ४ साउनमै फारम भरेर बुझाएको बताए । उनले भने, ‘आफूभन्दा माथिल्लो तहका कर्मचारीको निगाहमा भर पर्ने भएकाले मैले मभन्दा माथिका हाकिमलाई बुझाएको छु, हेराँै उहाँले कस्तो मूल्यांकन गर्नुहुन्छ ।’ सबै कर्मचारीबाट कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाए पनि माथिल्लो तहका कर्मचारीले मनोमानी रूपमा नम्बर चढाउने परिपाटीले यसको महत्त्व घट्दै गरेको उनको भनाइ थियो ।
अर्थ मन्त्रालयका सहायक प्रवक्ता भीमसेन तिमिल्सिनाले पनि निजामती कर्मचारी आइतबार कार्यसम्पादन मूल्यांकन फारम बुझाउने अन्तिम दिन भएकाले फर्म भर्न बढी व्यस्त भएको बताए । तिमिल्सिनाका अनुसार कर्मचारी सरुवा तथा बढुवा गर्दा कर्मचारीको कार्यसम्पादनमा ४०, शैक्षिक प्रमाणपत्रमा १६, ज्येष्ठतामा २८ र भौगोलिक कार्यक्षमतामा १६ प्रतिशत नम्बर दिइन्छ । उनले भने, ‘सबैभन्दा धेरै नम्बर कार्यसम्पादन मूल्यांकनबाट पाइने भएकाले सबैले त्यसैमा ध्यान दिने गरेको पाइन्छ ।’
प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले निजामती कर्मचारीका लागि वार्षिक कार्यसम्पादन मूल्यांकन अत्यन्तै महत्त्वपूर्ण हुने बताए । वार्षिक कामको गुणस्तर, कामको प्रकृति, काम गर्दा लागेको समय र त्यसमा गरेको खर्चका आधारमा कार्यसम्पादन मूल्यांकन गरिने प्रवक्ता रेग्मीको भनाइ थियो ।
‘सरुवा, बढुवा, विदेश भ्रमण, छात्रवृत्तिलगायत कोटाका लागि निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकन अत्यन्तै महत्त्वपूर्ण हुन्छ,’ उनले थपे, ‘कर्मचारीको कार्यसम्पादन मूल्यांकन सही ढंगबाट हुन सके मात्र निजामती सेवाको क्षेत्रबाट लक्ष्यअनुसार काम हुन्छ । हचुवाको भरमा कर्मचारीको मूल्यांकन हुने परिपाटी बस्यो भने त्यसले कर्मचारीतन्त्रलाई ध्वस्त बनाउँछ ।’
वातावरण मन्त्रालयकी प्रवक्ता मीना खनालले पनि आइतबार मात्र कार्यसम्पादन मूल्यांकन फारम भरेर बुझाएको बताइन् । उनले भनिन्, ‘आन्तरिक काममा व्यस्त भएकाले आज अन्तिम दिन भरेर बुझाएको छु ।’
निजामती कर्मचारी नियमावलीअनुसार कर्मचारीले भरेर बुझाएको कार्यसम्पादन मूल्यांकन फारमका अधारमा उपसचिव, सचिव स्तरका सुपरिवेक्षक, सहसचिव स्तरका पुनरावलोकनकर्ता हँदै सचिव स्तरको पुनरावलोकन समितिले विवरणका आधारमा नम्बर दिने गर्छ । त्यस्तै, सहसचिव र सचिवको हकमा भने मुख्यसचिव संयोजक रहेको मूल्यांकन समितिको निर्णयका आधारमा नम्बर दिने गरिन्छ ।

प्रतिक्रिया