काठमाडौं, ८ साउन । एमाले नेताहरूले एकीकृत माओवादी कम्युनिस्टका नाममा कलंक भएको आरोप लगाएका छन् । युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटनमा उनीहरूले एमाओवादी खहरेका रूपमा आएकाले अब सुक्न थालेको टिप्पणीसमेत गरेका छन् ।
राजधानीमा आइतबार भेलाको उद्घाटन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले सत्ता र पैसाका लागि जस्तोसुकै कुकर्म गरेर कम्युनिस्ट नाममा कलंक लगाएको उल्लेख गर्दै देश विकासका लागि संगठित हुन कार्यकर्तालाई आग्रह गरे । ‘राष्ट्रियता, लोकतन्त्र र परिवर्तनको पक्षमा कम्युनिस्ट पार्टीले बनाएको छविमा एमाओवादीले कलंकको टीका लगाइदियो,’ नेपालले भने, ‘उसले सत्तामा नहुँदा राष्ट्रियताको कुरा गर्ने र सत्ताका लागि लम्पसार परेर सबै कुरा सुम्पने काम गर्यो ।’
उनले एमाओवादी नेताहरू पैसा भनेपछि जस्तोसुकै कुकर्म गर्न पनि तयार रहने उल्लेख गर्दै उनीहरूले लडाकु शिविरलाई पैसा कमाउने भाँडो बनाएको बताए । ‘पैसा भनेपछि जेसुकै गर्न पनि एमाओवादी पछि परेन, लडाकु शिविरलाई पैसा कमाउने भाँडो बनायो,’ उनले भने ।
नेता केपी शर्मा ओलीले एमाओवादी खहरेका रूपमा आएकाले अहिले सुक्दै गएको टिप्पणी गरे । एमाओवादी आडम्बरी राष्ट्रवादी भएको तथा सत्ताका लागि विदेशी भरिया बनेर उसले देशमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरेको आरोप नेता ओलीले लगाए । दुईतिहाइ बहुमतका लागि संविधानसभाको हत्या गरेको एमाओवादीले चुनाव हार्ने देखेपछि त्यही संविधानसभा ब्युँताएर मुलुकमा अस्थिरता ल्याउन खोजेको उनको भनाइ थियो ।
‘संविधानसभा विघटनका बेला दुईतिहाइ ल्याउन कुम हल्लाएको थियो, दुई/चार दिनपछि दुईतिहाइ नआउने लाग्दै गयो, कुम अलि कम हल्लियो,’ उनले भने, ‘अब कुम हल्लाउने ब्याट्री नै डाउन भएजस्तो छ संविधानसभा पुन:स्थापना गर्नुपर्यो रे †’
दुई वर्षको संविधानसभालाई चार वर्ष लम्ब्याउँदा पनि संविधान नबन्नुमा एमाओवादीको एकतिहाइ उपस्थिति र सत्ता कब्जाको उसको बदनियत दोषी रहेको तर्क उनले गरे । महासचिव ईश्वर पोखरेलले सत्ता कब्जा गर्ने एमाओवादीको निरन्तर प्रयासले मुलुक संकटमा फसेको बताए ।
प्रतिक्रिया