काठमाडौं, ८ साउन । पति र परिवारले घर, छोरा र सम्पत्तिबाट अलग राखेपछि कानुनी उपचारको खोजीमा रहेकी एक महिला जिल्ला प्रशासन कार्यालयमै कुटिएकी छन् ।
चरित्रहीनको आरोपमा घरनिकालामा परेकी चाबहिल ७ कुमारीगालकी सुशीला जोशी भट्टराई आइतबार पति अशोक भट्टराईबाट जिप्रका काठमाडौंमा कुटिएकी हुन् । सुशीलालाई न्याय दिलाउन पहल गरिरहेकी नेपाल नारी चेतनशील संघकी अध्यक्ष सोमा खत्रीले पनि कुटाइ खाएकी छन् । भट्टराईको मुक्का प्रहारबाट सुशीलाको गालामा र खत्रीको दाहिने आँखामा चोट लागेको छ ।
सुशीला ०६८ सालदेखि कान्छो छोरा आठ वर्षका रियाजसँग माइतीमा बस्दै आएकी छन् । गत २१ वैशाखमा जेठो छोरा नौ वर्षका बिटल्सको जन्मदिनमा उपहार लिएर घर जाँदा छोरासँग भेट गर्नसमेत नदिई परिवारले उल्टै आफूले गुन्डा लगाएर अशोकलाई कुटपिट गराएको आरोप लगाएको उनले बताइन् ।
‘जन्मदिनमा मलाई छोरासँग भेट्न पनि दिइएन, उल्टै मैले गुन्डा लगाएर कुटपिट गराएको भनी उनीहरूले बौद्ध प्रहरीमा उजुरी दिएका छन्,’ उनले भनिन्, ‘बौद्ध प्रहरीमा छलफल हुँदाहँदै सिडिओले फोन गरेपछि प्रशासनमा आएका थियौँ । छलफलकै क्रममा एक्कासि मुक्का हान्यो ।’
खत्रीले पनि सुशीलाका पतिले कुटपिट गरेको बताइन् । भट्टराईले भने, ‘फोटो खिचेको’ भन्दै सौर्यकर्मीमाथि आक्रोश पोखे तर घटनाबारे केही खुलाउन चाहेनन् ।
सासू–ससुरा पनि छोराकै भनाइमा लागेर आफूलाई घरनिकाला गर्नमा सहयोग गरेको भन्दै सुशीलाले जेठा छोरासँग लामो समयदेखि भेट गर्न नदिएको बताइन् । ससुरा वेदनिधि निराला भट्टराईले भने नातिले नै भेट्न नचाहेको दाबी गरे ।
अशोकले मार्ने धम्की दिइरहेको भन्दै सुशीलाले सुरक्षा माग गर्दै गत फागुनमै जिल्ला प्रशासनमा निवेदन दिएकी थिइन् । छोरा भेट्न दिइयोस् र आºनै नामको घरमा बस्न पाऊँ भनी उनले जिल्ला अदालतमा मुद्दासमेत दर्ता गराइसकेकी रहिछन् । मुद्दाको पेसी सरिरहेको उनले बताइन् ।
बौद्ध प्रहरी वृत्तका डिएसपी श्याम ज्ञवालीले केस अदालतमा गइसकेको अवस्थामा त्यताबाट निर्णय नभएसम्म घरबाहिर बस्न बाध्य पार्न नहुने बताए । ‘हामीले त शान्ति सुरक्षाको अवस्था मात्र हेर्ने हो,’ डिएसपी ज्ञवालीले भने, ‘जसको नाममा घर छ ऊ सडकमा बस्ने अवस्था आउनु राम्रो होइन ।’
स्रोतका अनुसार सुशीलाको मुद्दामा एमालेका केही नेताले अशोकको पक्षमा लाग्न सम्बद्ध अधिकारीहरूलाई दबाब दिइरहेका छन् । आइतबार बौद्ध प्रहरीले छलफलमा बोलाएको समयमा अशोकको पक्ष लिँदै एकजना पूर्वसभासद्, अशोकका मामा दाजु सुशील भट्टराई र मामा शिवराज आचार्य पुगेका थिए । सुशीलाका एक आफन्तले छलफलकै क्रममा डिएसपीलाई मन्त्रीको फोन आएको भन्दै सिडिओ चूडामणि शर्माले छलफलका लागि दुवै पक्षलाई प्रशासनमा ल्याउन निर्देशन दिएको दाबी गरे ।
प्रतिक्रिया