पित्तलको ढयाक देखाएर ठगी

सिरहा, ८ साउन । लहान–१ सिरहामा कार्यालय एलोभेरा जुस बिक्री गर्दै आइरहेको ग्लोबल वेलनेस इन्टरनेसनल कम्पनीले पित्तलको जन्तरजस्तो देखिने ढयाकलाई रेडिएसनविरुद्धको यन्त्र भनेर महँगो मूल्यमा बिक्री गरिरहेको खुलासा भएको छ ।

कम्पनीले खटाएका सेल्सम्यानले यन्त्रले रोगको निदान गर्ने भन्दै सर्वसाधारणलाई झुक्याएर प्रतिगोटा १२ हजारमा बिक्री गरिरहेका छन् । कम्पनीले विभिन्न सहरमा हेल्थ अवेर्नेस सेमिनार भनेर मानिस जम्मा गर्ने र भारतीय नागरिकलाई ल्याएर आफ्नो उत्पादनबारे अभिमुखीकरण गर्ने गरेको पाइएको छ ।
६ साउनमा पनि लहानको मारवाडी सेवा सदनमा आयोजित गोष्ठीमा करिब तीन सय सहभागी भएका थिए । गोष्ठीमा डा. राम कछवाडा नामक भारतीय नागरिकले रेडिएसनविरुद्धको ढयाकले रोग निदान गर्ने विधि र तरिका बताएका थिए ।
गोष्ठीमा सहभागी हुन आएकी गोविन्दपुर–७ मल्हनमाकी महिला स्वास्थ्य स्वयंसेविका प्रभा आचार्य गर्मीका कारण अचेत भएपछि कम्पनीका बिक्री ऐजेन्टले निधारमा रेडिएसनविरुद्धको यन्त्र राखेर उपचार गरी देखाएका थिए । बिक्री ऐजेन्ट मञ्जु महतो भन्छिन्, ‘यन्त्रलाई १२ हजार रुपियाँ पर्छ । मोबाइललगायत विद्युतीय यन्त्रले शरीरमा भरेको रेडिएसनलाई खिचेर यन्त्रले धेरै रोग निको पार्छ ।’
रेडिएसनविरुद्धको यन्त्र भनिएको ढयाकमा सानो चुम्बकको टुक्राबाहेक केही नभएको पाइएको छ । गोलबजारस्थित श्रीराम हस्पिटलका डा. राकेश पाण्डे भन्छन्, ‘रेडिएसन खिच्ने यन्त्र सामान्य होइन, एउटा सानो म्याग्नेटिक ढयाकले शरीरभित्रको रेडिएसन खिच्ने कुरा हास्यास्पद हो ।’
कुनै पनि उपचार यन्त्र र औषधि उत्पादन गर्ने कम्पनीले त्यसको सूत्रसहित बिक्री अनुमतिका लागि नेपाल सरकारमा निवेदन दिनुपर्ने हुन्छ । सरकारले त्यसको उपयोगिता जाँचेर बिक्री अनुमति दिएपछि मात्र सामान वा औषधि बिक्री गर्न पाइन्छ । तर, कम्पनीले अनुमति नलिई यन्त्र बिक्री गर्ने गरेको छ । ग्लोबल वेलनेस इन्टरनेसनलका अध्यक्ष रोहितचन्द्र चौधरीले भने, ‘यन्त्र क्वान्टम फिजिक्सको सिद्धान्तमा आधारित छ तर हामीले यसलाई लन्च गरिसकेका छैनौँ, नमुना प्रदर्शनी गरेका हौँ ।’

प्रतिक्रिया