काभ्रे, ७ साउन । कांग्रेस सभापति सुशील कोइरालाले केहि दिनमै राजनीतिक दलहरुका वीच सहमति हुने दाबी गरेका छन् ।
उनले सहमतिसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताए । काभ्रे कांग्रेसले आज ३० औं विपी स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले जनतासँग जोरी नखोज्न एमाओवादीलाई सुझाव दिए ।
‘एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेर अरुलाई धोका दिएको ठानेको होला,’ उनले भने, ‘एमाओवादी आफैले धोका पाएको छ ।’
एकीकृत माओवादीको हठ र बेइमानीसँग कांग्रेस झुक्न नसक्ने बताउँदै कोइरालाले विपी र गिरिजाप्रसाद कोइरालाको मार्गमा लाग्नुपर्ने बताए ।
बाबुराम भट्टराई प्रधानमन्त्री रहेसम्म मुलुकले राजनीतिमा नयाँ स्थान लिन नसक्ने कोइरालाको भनाई छ ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले केहि दिनमै कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताए । ‘कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्रै २०७० वैशाख भित्र संसदको निर्वाचन हुनेछ,’ उनले भने ।
केन्द्रीय सदस्य रामशरण महतले एमाओवादीका लडाकुहरु छाती र उचाई नापेर मापदण्ड अनुसार नेपाली सेनामा समायोजन हुन सक्ने स्पष्ट पारे ।
एमाओवादीका नेताहरुले जर्नेल बनाइदिन्छु भनेको भरमा नेपाली सेनाले अयोग्य ब्यक्ति लिन नसक्ने महतको भनाई थियो ।
‘एमाओवादी फुटेर कुर्सी मात्रै हानाहान भयो,’ उनले भने, ‘एउटै पार्टी भएको भए गोली हानाहान हुन्थ्यो ।’
प्रतिक्रिया