मंसिर–७ मा चुनाव असम्भवः थापा

इलाम, ७ साउन । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले मंसिर–७ मा कुनैपनि हालतमा नयाँ निर्वाचन हुन नसक्ने जनाएका छन् ।
संविभानसभा भङ्ग भईसकेको अवस्थामा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताएका उनले भने, ‘दलहरुका वीच सहमति नभएसम्म मंसिर–७ मा चुनाव सम्भव छैन ।’
इलाममा आज आयोजित कार्यक्रममा उनले नियोेजित रुपमा संविभानसभा भङ्ग गरेर सत्ता लम्बाउन चुनाव घोषणा गरिएको टिप्पणी गरे । उनले भने, ‘यथास्थिामा नयाँ निर्वाचन सम्भव हुँदैन ।’
चार वर्षमा पनि संविधान लेख्न नसकेकाले राजनीतिक दलहरुले जनताको विश्वास गुमाउँदै गएको उनको भनाई थियो । उनले भने, ‘संविधानसभा बिउँताउने कुरा दिवास्वप्न मात्रै हो ।’
राजनीतिक सहमति नभएकै कारण संघीयता र गणतन्त्रका विषय टुङ्गोमा पुग्न नसकेको बताएका थापाले दलहरुले फेरि पनि साझा बाटो तय गरेर निर्वाचनको नयाँ मिति तोक्नुपर्ने बताए ।
संघीयताका विषयमा कांग्रेसको नीति प्रष्ट भएपनि बाहिर बुझाउन नसकेकाले ९० प्रतिशत गल्ती आफूहरुकै भएको उनको भनाई छ ।
केन्द्रीय सदस्य थापाले संघीयता जातीय आधारमा बन्न नहुने धारणा राखे । बहुजाति, बहुभाषी बसोबास भएको मुलुकमा जातीय आधारमा संघीयता निर्माण गर्दा समस्या आउने उनले बताए । ‘संघीयता निर्माण गर्दा पहिलो आधार पहिचान नै हो,’ उनले भने ।

प्रतिक्रिया