कार्यपत्र लेखेर फर्किए यादव

काभ्रे, ७ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकमा कारबाहीमा परेका कार्यबाहक अध्यक्ष एवं सूचना तथा संचारमन्त्री राजकिशोर यादव सोमबारबाट शुरु हुने विस्तारित बैठकको कार्यपत्र लेखेर आज राजधानी फर्किएका छन् ।
कार्यपत्र लेख्न यादव शनिबार साँझ यादव धुलिखेलको मिराबेल रिसोर्टमा बसेका थिए ।
यसैवीच, यादवले श्रमजीवि पत्रकार र संचारमाध्यमको विकासका लागि चारवटा काम गर्न लागेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आज गरेको कार्यक्रममा उनले जीवनभर पत्रकारिता गर्ने पत्रकारहरुको हकमा २५ वर्ष पुगेपछि राज्यकै तर्फबाट गोल्डेन मनी दिन पत्रकार कल्याण कोषमा रकम जम्मा गर्न राज्यले कानून बनाउँदै गरेको बताए ।
त्यस्तै पत्रकारिताका नाममा परिचयपत्र बोकेर ब्लाक मेलिङ्ग गर्दै आएकाहरुलाई ठेगान लगाउँदै बास्तविक पत्रकारहरुलाई जीवीकोपार्जन र आत्मनिर्भर बनाउन पहल गर्ने भन्दै उनले पत्रकारहरुको जीवन वीमा र तत्काल हुने आकस्मिक घटनामा भएको क्षतिपूर्ति उपलब्ध गराउने तयारी भएको बताए ।
आर्थिक वर्ष २०६९/२०७० देखि लागू गर्न लागिएको उक्त कार्यक्रम लगत्तै श्रमजीवी ऐन कडाइका साथ लागू गराउन राज्यले पहल गर्ने उनले बताए ।
संक्रमणकालमा राज्य र राज्यका हरेक निकाय कमजोर भएको बताउँदै उनले राज्यको चौथो अंग सजग हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया