चीनविरोधी गठबन्धनमा नपस्न भारतलाई सुझाब

लन्डन, ७ साउन । चिनियाँ मामिलामा विशेषज्ञता हासिल गरेका अन्तर्राष्ट्रिय राजनीतिका विख्यात विश्लेषक मार्टिन ज्याक्यसले चीनविरोधी गठबन्धनमा सामेल नहुन भारतलाई सुझाब दिएका छन् । ‘बेन चाइना रुल्स द वल्र्ड’ नामक विश्वप्रसिद्ध किताबका लेखक मार्टिनलाई उद्धृत गर्दै भारतीय पत्रिका ‘द एसियन एज’मा शनिबार प्रकाशित समाचारअनुसार उनले चीन र पश्चिमी राष्ट्रबीचको द्वन्द्वमा नफँस्न भारतलाई सुझाएका छन् ।
‘चीनको शक्तिशाली सभ्यता पुन: प्रभावकारी बनेकाले चीनले विश्वभर शासन गर्ने दिन नजिकिँदैछ । विश्व मामिलामा पश्चिमी राष्ट्रका प्रभुत्व अन्त्य हुने कुराको यो संकेत हो । यस्तो अवस्थामा चीनलाई शत्रुका रूपमा नहेरी ऊसँग नयाँ शिराबाट सम्बन्ध विस्तार गर्नु भारतका लागि बुद्धिमानी हुन्छ,’ उनले भनेका छन् ।
पश्चिमी राष्ट्रहरूले भन्दा चीनले विश्वलाई आर्थिक तथा व्यापारिक क्षेत्रमा ठूलो अवसर दिलाउनसक्ने जिकिर मार्टिनले गरेका छन् । ‘पूर्वी एसियाले एक समय अमेरिकालाई आºनो सबैभन्दा ठूलो बजार मान्ने गथ्र्यो तर त्यो अवस्था अब बाँकी रहेन,’ उनको भनाइ छ । जापानसहित सबै पूर्वी एसियाली राष्ट्रका लागि चीन सबैभन्दा ठूलो बजार बनेको उल्लेख गर्दै उनले यसलाई चीनको बढ्दो क्षमताको द्योतकका रूपमा बुघ्नुपर्ने बताएका छन् ।
‘अमेरिकासहित पश्चिमी राष्ट्रको बजार ओरालो लाग्ने अथवा यथास्थितिमा रहने अवस्थामा छ । यस्तोमा भारतसहित विश्वका मुख्य अर्थतन्त्रहरूको मुख्य व्यापार साझेदारको हैसियत चीनले बनाइरहेको छ,’ उनले भने । एसियामा अमेरिकी शक्तिको आधार उसको सैन्य क्षमता रहेको जिकिर गर्दै मार्टिनले आर्थिक आधारविना अमेरिकी नौसेनाले लामो समयसम्म एसियामा आºनो प्रभाव धान्न नसक्ने दाबी गरे ।
निकट भविष्यमा अधिकांश पूर्वी एसियाली राष्ट्रहरूले अमेरिकी नेतृत्व स्वीकार नगर्ने अवस्था आउने उनले प्रस्ट पारे । ‘अमेरिकी शक्तिको आधार भनेको उसको सेना हो । तर, उसको आर्थिक क्षमता क्षयीकरणको दिशामा छ,’ उनले भने, ‘यस्तो अवस्थामा चीनसँग व्यापारलगायत विश्व मामिलाका अन्य कतिपय मुद्दामा भारतको धारणा समान रहेपछि चीनसँगको उसको सम्बन्धको गाँठो फुक्न सकेको छैन ।’ भारतका लागि चीन महत्त्वपूर्ण रहेको भन्दै उनले चीनसँग सीमालगायतका विवाद सल्टाउन भारतलाई सुझाब दिएका छन् । (एजेन्सी)

प्रतिक्रिया