“सुटुक्क फिल्म हेर्न गइहाल्थे”


भाइबहिनी हो, २००५ साल पुस ५ गते काठमाडौँको ठमेलमा मेरो जन्म भएको हो । बाल्यकालचाहिँ खिचापोखरीमा बित्यो । एक भाइ र दुई दिदीमध्ये जेठो हुँ । मेरा बुबा सरकारी जागिरे हुनुहुन्थ्यो ।
उस बेलाको ठमेलमा अहिलेजस्तो घरहरू च्याउझैँ जथाभाबी उम्रेका र बकुल्लाझैँ ठिंग उभिएका थिएनन्, भाइबहिनी हो । त्यति बेला जताततै फाँट र बाँसघारी थिए । बाँझो जमिनमा मौसमअनुसार साग, मुला र काउली फल्थे । मानिसको पातलो ओहोरदोहोर हुन्थ्यो भने हेन्डल घुमाएर चालु गर्नुपर्ने लहरी र जिप पनि आकलझुकल कुद्थे ।
टेबहालमा गुरुहरूसँग कखरा गोर (काठको पाटी) मा रातोमाटोले लेख्न र चिन्न सिकेँ । गुरुहरूसँग एक–दुई वर्ष पढेपछि म कक्षा पाँचमा पद्मोदय स्कुलमा भर्ना भएँ । बल्लतल्ल ५–६ कक्षा पास भए पनि सात कक्षामा एकपटक होइन, दुईपटक गुल्टेँ अर्थात् फेल भएँ । सानोमा मेरो स्वभाव लहलहैमा लाग्ने खालको थियो ।
गृहकार्य गरेको दिन सानले गजक्क कलिलो छाती फुलाएर अगाडि बेन्चमा बस्थेँ तर सरले गृहकार्य चेक नै नगर्ने । नगरेको दिन लास्ट बेन्चमा मुसोजस्तो सानो शरीरलाई भुसुनोजस्तो बनाएर सरलाई हेर्दै र छल्द बस्थेँ । तर, त्यही दिनचाहिँ सरले कसरीकसरी चाल पाइहाल्ने र डंकी, मंकी भन्दै गालामा चड्कन चिउरा लगाइहाल्ने । अरू विषयमा ठीकै भए पनि हिसाबमा चाहिँ नढाँटी भन्ने हो भने भाइबहिनी हो, मलाई पिसाब नै आउँथ्यो । गणित कक्षा भएको बेला साथीहरूसँग टुकुचामा माछा मार्न जान्थेँ । भोलिपल्ट सरले चड्कन होइन, जोडले पिटेर फलामे चिउरा ख्वाउनुहुन्थ्यो ।
सानोमा हामी टोले केटाहरू अर्काको बारीबाट भोगटे टिपेर फुटबल र सानो निबुवा टिपेर क्रिकेट खेल्ने गथ्र्यौं । डन्डीबियो र पौडी खेल्न, चंगा उडाउन र चंगा लुट्नमा त म उस्ताद नै थिएँ । सिसा पिनेर माझा (चङ्गा उडाउने धागो) बनाउँदा हात रगताम्मै हुन्थ्यो । टोलमै एनआरटी क्लब भएकाले फुटबलमा लगाब र झुकाब नहुने कुरै भएन । त्यस बेला फुटबल खेल सिंहदरबारभित्र र टुँडिखेलमा हुन्थ्यो । म्याच हुने दिन हामी टोले फुच्चे केटाहरू क्लबका दाइहरूको गन्हाउने मोजा, बुट र जर्सी काँधमा बोकेर फुटबल म्याच हेर्न जान्थ्यौँ । टोलको जिमखानामा सकी नसकी ठसठस कन्दै डम्बेल र चक्काहरू बोकेर आफूलाई भीम ठान्दै जिम गरी टोपल्थ्यौँ ।
छोरा बरालियो, बिग्रियो भनेर बुबाले टोलमै एकजना अंग्रेजी पढाउने बंगाली मास्टरकहाँ ५ बजे बिहानै ट्युसन पढ्न पठाउनुहुन्थ्यो । मास्टरले बुबासँग के कति फिस लिनुहुन्थ्यो भन्ने थाहा भएन तर हामीले पसलबाट सामान किनमेल गरेर पूजालाई चोखो पानी ओसारेर र फूल टिपेर ल्याउनुपथ्र्यो । उनले अह्राएपराएको काम अनिवार्य रूपमा गर्नै पथ्र्यो ।
बालवयमा खासै केही बन्ने सपना वा चाहना थिएन तर गीतसंगीतमा मेरो रुचि सानैदेखि थियो । खिचापोखरीमा हार्मोनियम माइलाको बाजाको पसल थियो, म बराबर गइरहन्थँे । उनका छोरा मेरा साथी थिए । त्यस पसलमा नामुद उस्तादहरू बाजा किन्न आउने गर्थे । गितार हार्मोनियम आदि बजाउँदै जान्थेँ । म उनीहरूले बजाएको नोट रिट्ठो नबिराई मनमनै टिप्थेँ र उनीहरू गएपछि नक्कल गर्दागर्दै मैले सक्कल बजाउन थालेँ । एक प्रकारले भन्ने हो भने हार्मोनियम माइलाको त्यो पसल मेरो गीतसंगीतको प्रेरणास्रोत, पहिलो गुरु र पाठशाला नै थियो ।
म कट्टु लाएर किताबकापी झोलामा बोकेर ठाँटिएर स्कुल जान्थेँ । जति ठाँटिए पनि चप्पल छिनेर धोका दिइहाल्थ्यो । आलपिन हालेर बनायो, एकछिनपछि फेरि उस्तै । बुबाले खाजा खान पाँच पैसा दिनुहुन्थ्यो । बकुल्ला, चना, केराउ पुष्टकारी जेजे खाए पनि पुग्ने । अलि ठूलो कक्षामा पुगेपछि एक सुका दिनुहुन्थ्यो । अनि त भाइबहिनी हो, म महाधनी भइहाल्थेँ । चप, सेल, जेरी र मालपुवा जे पनि ढुक्कै खान पुग्थ्यो ।
स्कुलबाट फर्किंदा साथीहरूसँग ग्याङफाइट खेल्न चउरमा जान्थ्यौँ । बेमतलबको कुरा झिकेर ‘ए जैरे, तैँले किन कक्षामा मलाई सुँगुरजस्तो थुतुनो बनाएर गिज्याइस्’ अथवा ‘ए ढेडु, तैँले किन सरको अगाडि मलाई लंगुरजस्तै आँखा तरेर ओठ लेप्राइस्’ भनेर निहुँ खोज्दै सुरु हुने ग्याङफाइट मल्ल युद्ध र महाभारतमा परिणत हुन्थ्यो । फुच्चे बेलामा फिल्मको त म किरो र हिरो नै थिएँ । नयाँ फिल्म आयो कि घरमा भन्दै नभनी सुटुक्क हलमा पुगिहाल्थेँ । टिकट दर १५/२० पैसा वा एक सुका भए पनि जुक्ति झिकेर हलमा पस्थेँ । एउटा जुक्ति थियो– ठूलो मानिसको हात समाएर गेटकिपरलाई ‘म उहाँ दाइसँग आएको’ भन्दै हिरोझैँ भित्र पस्ने र मज्जाले हेर्ने ।
नौ कक्षा पास भएपछि दस कक्षा पढ्नचाहिँ जेपी स्कुलमा भर्ना भएँ । जेपी स्कुलमा एकपटक साथीहरूले उल्क्याइदिए । म पनि डेस्क बजाउँदै कक्षा कोठामा गीत गाउन थालेँ, गीतको सुरमा सर आएको चालै पाइनँ । छेउमा आएर सरले मेरो काँधमा धाप दिनुभयो, म झसंग भएँ । अनि मुस्कुराउँदै उहाँले मेरो गाला मुसार्नुभयो, म विस्मित भएँ । गुच्चा जत्रो आँखा गोलभेँडाझैँ ठूलो र रातो बनाउँदै सरले आºना दुवै हात मेरो कान र गालामा पर्ने गरी मच्चाएर घ्याम्म हिर्काउनुभयो । चारैतिर निस्पट्ट कालो र अँध्यारो देखेँ । ओहो † भाइबहिनी हो, सरको त्यो चड्कन सम्झिँदा अझै मेरो मुटुको ढुकढुक रोकिएलाजस्तो हुन्छ ।
भाइबहिनी हो, १६ वर्षको उमेरमा २०२१ सालमा जेपी स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुले जीवन सदाका लागि सकियो ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया