रोग बढाउने मौसम

काठमाडौं, ७ साउन । उपत्यकामा टाइफाइड र हैजा । डोटीमा पनि हैजा । बुटवल, चितवन र झापामा डेंगु । जाजरकोट, पाल्पा, नुवाकोट, धादिङलगायत जिल्लामा झाडापखाला । बाँकेमा औलो । कालीकोटमा जन्डिस र झाडापखाला । वर्षातको सुरुआतसँगै देशका विभिन्न जिल्लामा एकैसाथ देखिएका रोग हुन् यी । वर्षातसँगै किसान परिवारमा रोपाइँको चटारो बढेजस्तै स्वास्थ्य कर्मचारीलाई भने रोग नियन्त्रणको चटारो पर्ने गर्छ ।
वर्षातमा एकैसाथ विभिन्न सरुवा रोगको महामारी फैलने भएकाले स्वास्थ्य मन्त्रालयले यो मौसमलाई सरुवा रोगको महामारी फैलने मौसमका रूपमा लिएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ‘वर्षातको मौसममा गर्मीबाट राहत मिले पनि सरुवा रोगको संक्रमण भने अत्यधिक बढी हुने गरेको छ,’ महाशाखाका निर्देशक डा. जिडी ठाकुरले भने, ‘त्यसकारण स्वास्थ्य क्षेत्रका व्यक्तिले वर्षातको मौसमलाई रोग बढाउने मौसम पनि भन्ने गरेका छन् ।’
निर्देशक डा. ठाकुरका अनुसार एक वर्षको अवधिमा देशभरमा देखिने सरुवा रोगको संख्या ८० प्रतिशतभन्दा बढी यही मौसममा हुने गरेको छ ।
चिकित्सकका अनुसार वर्षातको मौसममा पानी तथा खानेकुरा फोहोर हुने र हावामा ओस बढ्नुका साथै विभिन्न स्थानमा जम्ने फोहोर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग छिट्टै फैलने गर्छ । बढी मात्रामा झाडापखला, हैजा, टाइफाइड, भाइरल, जण्डिस, आँउ, निमोनिया, औलो, डेंगु, कालाजार, रुघा, खोकी, पेटमा इन्फेक्सन, छालामा फंगस, आँखा पाक्नेजस्ता रोग लिएर बिरामी उपचार गराउन आउने गरेको वीर अस्पतालका फिजिसियन डा. धु्रवप्रसाद सिंहले बताए ।
सिंहका अनुसार वर्षात समयमा भाइरस, झिँगा, लामखुट्टे, किरा–फट्यांग्रा र भुसुना बढी सक्रिय हुने गर्छन् र रोग लाग्ने गर्छ । ‘वर्षामा पानी पर्ने हुनाले खानेपानीका मुहानदेखि वरिपरिका वातवरण नै दूषित हुन्छ,’ उनले भने, ‘त्यही दूषित पानी र वातावरणका कारण कुनै न कुनै एक रोगले समातिहाल्छ ।’
वर्षातको समयमा देखिने सरुवा रोगमध्ये अधिकांश रोग सरसफाइको कमी, दूषित पानी र दूषित खाना नै भएको डा. ठाकुरको भनाइ छ । उनका अनुसार बासी, सडेगलेका, झिँगा भन्केका खाना एवं कुनै पनि कारणले दिसा–पिसाबको जीवाणु मिसिएका पानी पिउनले वा राम्रोसँग हात सफा नगरी खाना खाँदा यी रोग लाग्छन् । ‘साधारण सरसफाइ र खानपिनमा मात्र ध्यान दिने हो भने पनि यो मौसममा हुने अधिकांश रोगमा कमी ल्याउन सकिन्छ,’ उनले भने, ‘तर यो मौसममा मानिस आफैंले पनि खानपिन र सरसफाइमा ध्यान दिएको पाइँदैन ।’
वर्षातसँगै सरकारकै एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा यतिबेला झाडापखाला, हैजा, टाइफाइड, आउँ, जन्डिसका बिरामीको चाप बढिरहेको अस्पतालका चिकित्सक डा. राजेश शाहले जानकारी दिए । उनका अनुसार यतिबेला अस्पतालमा आउने बिरामीमध्ये अधिकांशमा दूषित खाना र पानीका कारण रोग लागेको देखिएको छ ।
झाडाजन्य रोग मात्र होइन, वर्षातको समयमा दूषित पानीका कारण छाला र आँखाको समस्या पनि बढिरहेको चिकित्सकको भनाइ छ । धुलोधुँवाले भरिएको काठमाडौंमा पानीले भिजेपछि घरमा गएर सफा पानीले नुहाँउदा छालाको समस्या लिएर आउने बिरामीको संख्या दैनिक बढिरहेको वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झाले बताए ।
वर्षातकै कारण पानीको स्रोत फोहोर भएकाले आँखा पाक्ने समस्या पनि देखिएको वरिष्ठ आँखारोग विशेषज्ञ डा. आनन्द शर्मा बताउँछन् । उनका अनुसार सफा पानीले दिनमा तीन/चारपटक यो मौसममा आँखा सफा नगर्ने हो भने धेरै मानिसको आँखामा समस्या आउँछ ।
चिकित्सकले वर्षातको समयमा देखिने अधिकांश रोग खाना र पानीमा ध्यान दिने हो भने निको हुने बताएका छन् । उनीहरूका अनुसार सफा पानी र शुद्ध खाना खाने, सरसफाइमा ध्यान दिने हो भने यो मौसममा लाग्ने धेरै रोग नियन्त्रणमा आउनेछ ।

प्रतिक्रिया