‘मुड फ्रेस’ का लागि सञ्चारमन्त्री धुलिखेलमा

काभ्रे, ७ साउन । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादव ‘मुड फ्रेस’ गर्न शनिबार साँझ धुलिखेल पुगेका छन् । सरकारबाट फिर्ता बोलाउन प्रधानमन्त्री र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीकै बहुमत केन्द्रीय सदस्यले दबाब दिएपछि तनावमा रहेका सूचना तथा सञ्चारमन्त्री एवं फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष यादव धुलिखेल गएका हुन् ।

पार्टीका बहुमत सदस्य आफूसँग रहेको दाबी गर्दै आएका यादवले ९ र १० साउनमा वीरगन्जमा विस्तारित बैठक बोलाएका छन् । विस्तारित बैठकका एजेन्डा तथा पार्टी विवादबारे योजना बनाउन उनी एकान्त खोज्दै धुलिखेल आएको स्रोतले बताएको छ । धुलिखेलको मिराबेल रिसोर्टमा बसेका यादवका साथमा उनका सहयोगी मात्रै छन् । पार्टीका कुनै सदस्यसमेत नलिई धुलिखेल आएका यादवले विस्तारित बैठकमा सरकारमा रहँदा पार्टीले खेलेको भूमिका र पार्टी अध्यक्ष जेल परेपछि पार्टीको अवस्थाबारे समेत जानकारी गराउनेछन् ।
यादवले बोलाएको विस्तारित बैठकमा असन्तुष्ट समूह सहभागी हुने/नहुने अझै यकिन भएको छैन । असन्तुष्ट नेताले पार्टीप्रति प्रतिबद्ध भई यादवको विरोध गर्दै हस्ताक्षर गर्ने नेतालाई किनेको आरोप लगाएका छन् । आर्थिक चलखेलका कारण यादवलाई सरकारबाट नहटाएको भन्दै पार्टीका केही नेताले प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष दाहालको समेत विरोध गर्दै आएका छन् ।
सञ्चारमन्त्री यादवले आइतबार बिहान जिल्लाका सञ्चारकर्मीसँग राष्ट्रिय राजनीति, पार्टीको विवाद र विस्तारित बैठकबारे जानकारी गराउने बताएका छन् । उनी आइतबार बेलुकी काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया