उपाध्यक्ष सहितका पदाधिकारी कारबाहीमा

काठमाडौं, ६ साउन । नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले आफ्ना तीन उपाध्यक्षसहितका पदाधिकारीलाई कारबाही गरेको छ ।
अध्यक्ष गुणराज लोहनीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर विधान विपरित संगठन बदनाम गर्ने, गोप्य सूचना चुहाउने लगायतका आरोप लगाएर तीन उपाध्यक्ष, सचिव र सचिवालय सदस्यलाई साधारण सदस्य समेत नरहने गरेर निकाष्कासन गरेको जनाएका हुन् ।
लोहनीले भनेका छन्, ‘संगठनका नाममा व्यक्तिगत लाभ लिने, गोपनीयता भंग गर्ने, सत्ता नजिक रहेर शिक्षक आन्दोलनलाई खण्डित गर्ने कार्य गर्ने उपाध्यक्ष, सचिव र सचिवालय सदस्यलाई कारबाही गरेका छौं ।’
कारबाहीमा पर्नेमा संगठनका उपाध्यक्ष तुलसी घिमिरे, रत्नबहादुर ओली, भोलानाथ सापकोटा, सचिव जीवनाथ पराजुली र सचिवालय सदस्य रामप्रसाद अधिकारी तथा शंकर अधिकारी रहेका छन् । उनीहरुलाई साधारण सदस्यपनि नरहने गरी संगठनबाट निस्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैवीच, संगठनले आगामी भदौ २, ३ र ४ गते चौथो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीका लागि अध्यक्ष लोहनीको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन भएको छ ।
विगतमा शिक्षा मन्त्रालय, सरोकारवालासँग भएका सहमति कार्यान्वयन गराउन दबाव मुलक आन्दोलन गर्ने निर्णय गरेको संगठनले निजी विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरु माथि भएका विभिन्न खाले शोषण, दमन र उत्पीडनका विरुद्ध संघर्ष गर्ने जनाएको छ ।

प्रतिक्रिया