उग्रवामपन्थी विचार पतनको मार्गमा

हेटौंडा, ६ साउन । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले कांग्रेसले सहमतीय सरकारको नेतृत्व गर्न नसके सो जिम्मेवारी बहन गर्न आफूहरु तयार रहेको बताएका छन् ।
प्रेस चौंतारी मकवानपुर शाखाले आज हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वैशाख–२१ गते भएको सहमतिकै आधारमा एमाले जान तयार रहेको बताए । ‘पूर्व सहमति अनुसार सरकारको नेतृत्व कांग्रेसलाई दिनुपर्छ,’ उनले भने, ‘कांग्रेस सरकार बनाउन अग्रसर नभए एमालेले देशलाई संकटवाट निकास दिन तयार छ ।’
वर्तमान अवस्थामा सरकार कामचलाउ भएको भन्दै उनले भने, ‘सरकारले आफ्नो हैसियत भुलेर गुपचुप रुपमा विदेशी कम्पनीलाई देशका महत्वपूर्ण कामको ठेक्का दिने प्रक्रिया गरेर देश र जनतासँग धोका दिएको छ ।’
उनले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार र अनैतिक कार्यमा चुर्लुम्म डुबेको आरोप समेत लगाए ।
बिस्तारै सल्कदै आएको आन्तरिक द्वन्द्वको आगोमा एमाओवादी आफै बल्दै गईरहको एमाले नेता ज्ञवालीको भनाई थियो । उनले भने, ‘एमाओवादीले शान्ति र हिंसा दुवै डुङगामा खुट्टा राखेर हिड्ने काम नछोडेसम्म आफैले लगाएको आगोमा जली रहनेछ ।’
अन्तरबिरोधमा खेल्ने दाउपेचको राजनीतिका कारण एमाओवादीले मुलुकको अवस्थालाई अस्थिर बनाएको भन्दै उनले अहिले सो कदम एमाओवादीलाई नै घातक भएको टिप्पणी गरे ।
‘एमाओवादी आफूले रोपेको बीउको सिकार आफै भएको छ,’ नेता ज्ञवालीले भने, ‘अन्तरसंघर्षले एमाओवादीमा उग्रवाम विचारको पतन सुरुवात भएको छ ।’

प्रतिक्रिया