मुटु सिसाको हुने भए…

म असममा बिएस्सी दोस्रो वर्ष पढ्दै थिएँ । सन् १९७४ को असार २९ अर्थात् भानुजयन्तीको दिन थियो । हामीले कविता वाचन कार्यक्रम आयोजना गरेका थियौँ । कार्यक्रममा गीत गाउन आएकी एक युवतीसँग अनायासै आँखा जुध्यो । मलाई त्यतिबेलासम्म पहिलो नजरमै प्रेम बस्छ भन्ने थाहा थिएन । म त्यतिबेला अखिल गुवाहाटी विद्यार्थी संघको अध्यक्ष थिएँ । विद्यार्थी राजनीतिमा लागेको हुनाले बेलाबेलामा पत्रपत्रिकामा फोटोसहितको अन्तर्वार्ता पनि छापिन्थे । त्यही भएर होला मलाई निकै सुन्दर युवतीले प्रेमपत्र पठाउने गर्थे । मलाई भने कहिल्यै ती युवतीप्रति ध्यान गएन ।
तर, मैले भानुजयन्तीमा देखेकी ती युवतीप्रति भने विशेष खालको आकर्षण बढ्यो । झट्ट हेर्दा उनी त्यति सुन्दरी पनि थिइनन्, जति मलाई प्रेमपत्र लेख्नेहरू थिए । उनले मेरो दिल तानिन् । बिस्तारै हाम्रो प्रेमयात्रा सुरु हुन थाल्यो । उनी पनि मलाई मन पराउँथिन् । तर, हामीले कहिल्यै शब्दमा प्रेम व्यक्त गरेनौँ । हेराहेरमै हामी प्रेम पोख्ने गथ्र्यौं । हाँसोबाट प्रकट हुने गथ्र्यो हाम्रो प्रेम । जन्मदिनमा पनि उपहारमार्फत प्रेमका भावना साटासाट हुनथाल्यो । त्यतिबेला अहिलेजस्तो प्रेमको आभास पाउनुअघि नै शारीरिक आकर्षणले तान्ने जमाना थिएन । हामीले असममा धेरै फिल्म सँगै हेरेका थियौँ तर कहिल्यै हात समाउनेसम्म काम पनि भएन ।
विद्यार्थी राजनीति, साहित्यिक कार्यक्रममा मेरो सक्रियता थियो । त्यसैले पनि हामीबीचको सम्बन्धबारे धेरै जानकार थिए । फिल्म हेर्न जाँदा पालेले लुकाएर विशेष सिटको पास दिन्थे । यतिसम्म कि कतिपय ट्याक्सी ड्राइभरलाई समेत हामीबीचको प्रेमसम्बन्धबारे थाहा थियो । हामीबीचको सम्बन्धबारे बाहिर पनि हल्ला चल्न थालेपछि उनको परिवारलाई थाहा नहुने त कुरै भएन । तर, उनको परिवार हाम्रो सम्बन्धलाई स्वीकार गर्न सहमत भएन ।
म एसएलसी पढ्दै पिता बित्नुभएको थियो । आमा भाइलाई साथ लिएर हाम्रो पुख्र्यौली घर पर्वत फर्किनुभएको थियो । त्यतिबेला अनुहार चिटिक्क परेको, आफ्नो काममा स्थापित व्यक्तिसँग विवाह गरिदिने चलन थियो । उनीहरूको आँखामा म त कविता पढ्दै हिँड्ने ‘आवारा’ न थिएँ । घरपरिवार पनि व्यवस्थित थिएन । काठमाडौं ल्याएर उनको बिहे गरिदिने चर्चा घरमा भएछ । त्यतिबेला हामी प्रेममा डुबेको चार वर्ष भएछ । मैले गतिलो जागिर पनि पाएको थिइनँ । न पढाइ नै पूरा भएको थियो । परिवारमा बिहेको चर्चा चल्न थालेपछि उनले मसँग आएर ‘भागी विवाह’ गर्न अनुरोध गर्दै रोइन् । तर, मलाई त्यसो गर्नुहुँदैन भन्ने लाग्यो । राति आठ बजेसम्म उनलाई सम्झाएर मेरो घरबाट १४ किलोमिटर पर उनको घरसम्म पुर्‍याउँदा छोरी हराई भनेर पुलिसमा खबर गर्न उनका परिवारका सदस्य ठिक्क परेका रहेछन् ।
मैले उनलाई गेटसम्म पुर्‍याइदिएँ । उनका परिवार आक्रोशित थिए । तर, कसैले मलाई गाली गरेनन् । म पनि चुपचाप फर्किएँ । त्यसपछि हाम्रो भेटघाटमा अंकुश लगाउन सुरु भयो । लगत्तै ‘हरिभक्त कटुवालको स्मृति ग्रन्थ’ निकाल्न म बनारस जानुपर्ने भयो । त्यतिबेला फोनको जमाना थिएन । मैले सम्पर्क गर्न पाइनँ । दुई महिनापछि कटुवालको स्मृति दिवस पारेर भव्य कार्यक्रमको तय गरिएको थियो । त्यस कार्यक्रममा उनी पनि आउने भइछिन् । त्यतिबेला म निकै झस्किएँ । त्यसबेला मलाई ज्वरो आइरहेको थियो । डाक्टरको ‘आराम गर्नु’ भन्ने सल्लाहको उपेक्षा गरी म कार्यक्रमस्थल पुगेँ ।
त्यहाँ उनी बहिनीसँग आएकी थिइन् । मसँग परपर हुन चाहिरहेकी थिइन् । कारण के थियो, आजसम्म पनि मलाई थाहा छैन । त्यही कार्यक्रममा एकजना साहित्यकारको घरमा साँझको खानाको निम्तो थियो । हामी धेरै सहभागी थियौँ । उनलाई देखेँ– उनी त केही नबोली मात्र रोइरहेकी थिइन् । उनकी बहिनीले ‘तेरो जीवनमा अरू केटा आउन सक्दैन ? एउटै केटाका लागि यति धेरै रुन्छेस् ?’ भनेको सुनेर मलाई साहै्र नरमाइलो लाग्यो । त्यसबेलासम्म उनी मसँग बोलेकी थिइनन् । मलाई भने जसरी पनि उनको परिवारअघि ‘योग्य’ बनेर उनको हात माग्नु थियो । त्यसैले नेपाल फर्किएर एमए पढ्ने अनि जागिर खाने सोच बनाएँ । उनकी आमालाई मेरो योजना सुनाएँ । दुई वर्षपछाडि बिहे गर्ने योजना सुनाएर ०४२ सालमा नेपाल आएँ । एमए पहिलो वर्षको परीक्षा दिएर ०४३ सालमा असम गएको थिएँ । तर, त्यतिबेला उनको बिहे अर्कै केटासँग हुन लागेको गाइँगुइँ सुनँे । अरूको कुरामा मलाई भर थिएन । एकजना साथीलाई भेट्न गएको थिएँ, उनी त आफ्नो हुनेवाला श्रीमान्सँग दंग परेर हिँडिरहेकी थिइन् । त्यतिबेला लाग्यो, मेरो जीवनको महत्त्वपूर्ण कुरा मबाट टाढिँदै छ । मेरै हातबाट मेरो जीवन फुत्किँदै छ । मुटु सिसाले बनेको हुन्थ्यो भने त्यतिबेला नै झर्‍याम्झुरुम हुने थियो होला, मनमनै रोएँ । आँखाको चेपभित्र जमेको आँसु रोक्दै उनको सुखद जीवनको कामना गरिरहेँ ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया