मेरो कथाकी नायिका

‘कम्युनिस्ट’ शीर्षकको कथा मेरो लेखनयात्राको एउटा महत्त्वपूर्ण पाटो हो । यो कथा मैले समय लिएर लेखेका कथाहरूमध्ये एउटा कथा हो । मलाई तनाब दिने कथाहरूमध्ये यो पनि एउटा कथा हो । यो कथा लेख्न मलाई पाँचथरकी एक माओवादी कार्यकर्ताले प्रेरित गरेकी थिइन् । उनीसँग मेरो भेट संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा भएताका भएको थियो । उनी गणतन्त्रको घोषणा हुँदा काठमाडौंमा ‘के हुन्छ’ भनेर नै हेर्न आएकी रहिछन् । चिया खाँदै गफैगफमा मैले ‘माओवादी लडाकुले प्रेम प्रस्तावचाहिँ कसरी राख्थे ?’ भन्ने जिज्ञासा राखेँ । खासमा यो प्रश्न मैले आफूले लेखिरहेको उपन्यासका लागि सजिलो होस् भनेर सोधेको थिएँ । उनको जवाफले मेरो मथिंगलमा तरंग ल्यायो । उनले आºनो प्रेमीलाई एउटा चिठी लेखेर प्रस्ताव गरेकी थिइन् रे । उनको प्रेमीलाई सेनाले समातेर गोली हानेको रहेछ । जब उनले आºनो प्रेमी मारिएको कुरा गरिन् तब मेरो मुखबाट फुत्किएको थियो, ‘ओहो † त्यसरी पो मर्नुभएको ?’ उनको जवाफ थियो, ‘मर्नुभएको होइन, त्यसरी सहिद हुनुभएको †’
उनको यही जवाफबाट नै ‘कम्युनिस्ट’ कथाको जन्म भयो । आफ्नो प्रेमीको मृत्युलाई जसरी उनले सहज र गरिमामय ढंगले व्यक्त गरिन् त्यसले मलाई साँच्चै अवाक् बनाएको थियो । उनले दिएको जवाफले मेरो मथिंगल त खचमचियो तर कथा लेख्न सहज भने बनाएन । कहिलेकाहीँ एक बसाइमा पनि कथा लेखिन्छ तर यो कथा लेख्न मलाई झन्डै १८ महिना लाग्यो । कथा सुरु गर्दा मलाई सरररर लेख्न सक्छुजस्तो लागेको थियो तर त्यस्तो भएन । कुनै बेला त मलाई मैले यो कथा नै पूरा गर्न सक्दिनँ जस्तो पनि नलागेको होइन ।
माओवादीको प्रेमको कथा भएकाले म अलि बढी नै सचेत थिएँ । हरेक संवाद चुस्त तर यान्त्रिक नसुनियोस् भन्नका खातिर म सतर्क थिएँ । संवाद आफँैले बोलेर लेख्ने बानी परेको म, बाटोमा कुनै संवाद मनमा फुर्‍यो भने यसै बोलिदिन्छु । एकपटक बोलेपछि पछि लेख्नका लागि मलाई सम्झिन सजिलो हुन्छ । म अहिले पनि सम्झन्छु, यात्रुहरूले खचाखच नेपाल यातायातमा म उभिएर महाराजगन्जबाट अनामनगर गइरहेको थिएँ । अचानक मलाई कथाकी नायिकाले आफ्नो आँखामा भएको चमकको कारण ‘म’ पात्रलाई सम्झाउँदा के भन्नुपर्छ होला भन्ने आयो । मलाई एकदमै उकुसमुकस भयो । त्यस्तो भिडमा कसरी बोल्नु ? फेरि यस्तैबेला यस्तो लाग्छ कि मेरो वरिपरि उभिएका सबैले मलाई नै ध्यान दिइरहेका छन् । तर, मसँग अर्को उपाय थिएन । झट्ट मनमा आएका बेला नबोल्ने हो भने त्यो संवाद फेरि सम्झिएर लेख्न मलाई सम्भव थिएन । लेख्नका लागि पनि म सिटमा बसेको थिइनँ । कथाले अड्काइरहेका बेलामा यस्तो मौका गुमाउनु फेरि लेखनको समय लम्ब्याउनु थियो । लामो समय कथाले अड्काइरहँदा लेखन झन् बोझिलो बन्दै जान्छ । मलाई त्यो थाहा थियो ।
एकछिन त सोचँे, बसबाट ओर्लिएर बोल्छु । कसैले वास्ता गर्दैन । तर, ट्राफिकले गलत ठाउँमा प्यासेन्जर चढाएको भनेर बसलाई पुतलीसडकमा निकैबेर रोक्यो । अनि मैले नबोली धर पाइनँ । पहिले मैले मुन्टो तल गरेर फुस्फुसाएँ, ‘मेरो आँखामा अरूका सपना छन् । हजारौँका सपना मेरो आँखामा व्यवस्थित रूपमा अटाएका छन् । ती सबै सपना राष्ट्र निर्माणका सपना हुन्, त्यसैले तिनमा प्रकाश छ ।’ तर, चित्त बुझेन । आफ्नो फुस्फुसाहट आफैँले बुझिनँ । मज्जा आएन । एकदमै सकस भो । अनि टाउको उठाएर मैले कमसेकम आफूलेचाहिँ मज्जाले सुन्ने गरेर संवाद बोलेँ । ठ्याक्कै त्यही लवजमा जस्तो म मेरी कथाकी नायिकाले बोल्नुपर्छ भनेर कल्पना गरिरहेको थिएँ । त्यसपछि मैले आनन्दले फेरेको लामो सास म अहिले पनि महसुस गर्न सक्छु । एकछिन अघिसम्म मलाई सास फेर्न पनि गार्‍होजस्तो भइसकेको थियो । अनि लाजले वरिपरि हेर्न नसकेको सम्झँदा आज पनि मलाई लाज लाग्छ । तर, यसपछि मलाई मेरो कथाको, उपन्यासको कुनै संवाद झ्वाट्ट आयो भने जहाँ पनि बोल्ने बानी नै लागेको छ । भिडमा छु भने एकछिन लजाइदिन्छु, तर मनमा दबाएर बस्न सक्दिनँ ।
यसैबीच म रोल्पा पनि गएर आएँ । ‘गोल्डस्टार’को प्रसंगचाहिँ मैले आफ्नो रोल्पा भ्रमणबाट लिएकी हुँ । जब रोल्पामा मैले काठमाडौंदेखि लगाएर गएको स्पोर्टस् सुज खोलेर ‘गोल्डस्टार’ जुत्ता लगाएर गाउँ–गाउँ गएँ, त्यसको रोमाञ्चकता अर्कै थियो । कथामा मैले त्यसलाई जोड्ने कोसिस गरेको छु ।
मानिसहरू फुर्सद नभएर लेख्न नसकेको कुरा सुनाउँदा मलाई अचम्म लाग्छ । म पनि कहिलेकाहीँ आफ्नो बेफुर्सदीलाई बहाना बनाउँछु । तर, त्यस्तो होइन, म फुर्सदमा कहिल्यै लेख्न सक्दिनँ । जति धेरै व्यस्त त्यति धेरै मलाई लेख्ने जाँगर चल्छ । कामको चापाचापमा मलाई लेख्ने अनेक विषय फुर्छन् अनि सुत्न भनेपछि भुतुक्क हुने म निद्रा त्यागेर लेख्छु । मानिस लेख्नलाई समय निकाल्छन्, मलाई भने लेख्नका लागि चाहिने नचाहिने काम निकालेर आफूलाई व्यस्त पार्नुपर्छ । अनि बल्ल म लेख्न सक्छु । जब मैले ‘कम्युनिस्ट’ कथा लेख्न सुरु गरेँ, त्यसबेला म एउटा वेब–पोर्टलका लागि काम गर्दै थिएँ । कथा टुंग्याउँदासम्म म एउटा दैनिक पत्रिकाको जागिरे भइसकेकी थिएँ । कुनै समय म साँच्चिकै व्यस्त हुँदा कथा अघि बढ्थ्यो तर दिमाग तनाबरहित र काम अलिकति होलो हुनेबित्तिकै फेरि कथा बन्द हुन्थ्यो । कैयौँपटक ‘कम्युनिस्ट’ लेख्न मैले
आफूलाई माइक्रोमा चक्रपथको चक्कर लगाएर गलाएको पनि छु ।
कथा लेखेर शीर्षकचाहिँ राख्न नसक्ने लेखकहरूको कोटीमा मेरो नाम अग्रपंक्तिमा आउनुपर्छ भन्ने मलाई लाग्छ । अरू धेरै, लगभग सबैजसो कथाजस्तै यो पनि मैले शीर्षक नराखी हिमाल खबरपत्रिकाको दसैं अंक (२०६७) का लागि पठाएको थिएँ । छापिएर आउँदा कथा ‘कम्युनिस्ट’ शीर्षकमा आयो । यो कथाका लागि यसभन्दा उपयुक्त शीर्षक अर्को हुन सक्दैनथ्यो । पछि कथासंग्रह छाप्दा पनि शीर्षकमा निकै छलफल भयो । एक त धेरै रुचाइएको र अर्को एक शब्दले सबैलाई तुरुन्तै आकर्षित गर्ने भएकाले प्रकाशक र म संग्रहको शीर्षक नै ‘कम्युनिस्ट’ राख्ने निर्णयमा पुग्यौँ ।

प्रतिक्रिया