रतन पार्कमा फेरिएको रत्नपार्क

मिडियाले अन्तर्वार्ता नलिने, ठूला मञ्चहरूमा आफ्नो कुरा राख्न नपाउने, कसैले कुनै सभा या कार्यक्रममा भाषण गर्न ननिम्त्याउने यी मानिस यो फोहोर रत्नपार्कमा उम्दा बहस गरिरहेका छन् । यिनीहरू न ‘उच्चस्तरीय राजनीतिक कार्यकर्ता’ हुन् न त ‘शक्तिका खेलाडी’ । यी त सडकछाप मान्छे हुन्, वास्तविक अर्थमा ‘जनता’ हुन् जो बोल्न जान्दछन् र जान्दछन् पाखुरी बजारेर खान । यी बिरक्तिएका छन्, निरास छन्, यिनका ओठमा केही गुलेली मार्का शब्दहरू या मट्यांग्राहरू छन् र दुईचारजना देख्नासाथ झरिहाल्छन्, जजमान देखेपछि जुत्ता फुकाल्ने बानी परेका पुरेतका खुट्टाझैँ ।
रत्नपार्कसँग के आकर्षण छ मलाई थाहा छैन । तर, मलाई चाहिँ अहिलेसम्म यसले मोहनी लगाउन सकेको छैन । खलाँसीहरू गाडी ठटाएर यसको विज्ञापन गर्दा छन् तर किन–किन यो पार्कलाई सम्झँदा मेरो मनमा हरियाली फक्रँदैन, शीतल हावाले हान्दैन । बरु बोटबिरुवासमेत धुलैधुलोले कुरूप पारेका, दुबोहरू सुकेर निर्जीव भइसकेका खग्रास अनि रुखो भूमिको प्रतिविम्बले हान्छ एक्कासि । अनि, यहाँ छिर्ने मान्छे पनि त्यस्तै लाग्छ मलाई, सिमेन्टीको खस्रो बोराले ढाड खस्य्राएका खस्रा मानिसहरू मात्र । बसपार्कबाट झरेपछि कामै नहुँदा बरालिन कहिलेकाहीँ नछिरेको भने हुइनँ तर काठमाडौं कञ्जन हुँदाबखतको, नजिकैको रानीपोखरी र यसबीच सडकले विभाजन नल्याइसक्दाको अवस्थाको ‘निर्मल’ विरासत अहिले रत्नपार्कसँग छैन । साँझ परेपछि वाक्क लाग्दो मेकअपमा सजिएर भरिया अनि मजदुरलाई सय रुपियाँमा रात बिताउन लोभ्याइरहेकी घीनलाग्दी सिँगाने केटी र रत्नपार्क उस्तै लाग्छ हिजोआज । त्यसैले हरेकपटक बिरक्तिएको छु म, यहाँभित्र छिर्दा । यसले एकचोटि पनि मेरो मन रिफ्रेस पार्न सकेको छैन ।
समयले जतिसुकै मैल्याए पनि रत्नपार्कले आफूलाई नामेट हुन भने दिएको छैन । काठमाडौंको मुख्य ट्रान्जिट प्वाइन्ट योभन्दा अर्को छैन राजधानीमा । नामै यति चल्तीको छ कि लोकतान्त्रिक आन्दोलनपछि सामन्ती राजसंस्थासँग सम्बन्धित नाम बदल्ने लहर चल्दा पनि ज्ञानेन्द्रकी कान्छी आमाको नामबाट राखिएको यसको नाममा कुनै बदलाव आएको छैन । नजिकैको रत्नराज्यलक्ष्मी क्याम्पस ‘नेपाल मानविकी’ बनेको त उहिल्यै हो ।
काठमाडौं आउनु र यो लोकेसन थाहा नपाउनु हुनै सक्तैन । त्यसो भएको हो भने केही गल्ती छ भन्ने बुझ्नैपर्छ । रत्नपार्क नआई कोही काठमाडौं कसरी आएको भन्न मिल्छ ? यसका वरिपरि देशकै सबभन्दा जेठा र जीर्ण रोगी शैक्षिक तथा स्वास्थ्यसंस्था छन् : वीर अस्पताल, त्रिचन्द्र कलेज, दरबार हाइस्कुल । मुलुककै सबभन्दा ठूला मस्जिद यससँगै टाँसिएका छन् । सँगै घोडेजात्रामा उधुम मच्चाउने विशाल टुँडिखेल छ, पोखरीमा आगो लागेर माछा उफ्रेर घन्टाघर चढ्ने भनिएको रानीपोखरी छ । पहिले खुलामञ्च भनिने अहिलेको सहिदमञ्च छ, जहाँ पहिले विपक्ष भेला हुन्थ्यो, अहिले सत्ताको भेला भएपछि विपक्ष वसन्तपुरतिर सरुवा भएको हुन्छ । लोकतन्त्रको सत्ता कति खतरनाक हुँदो रै’छ भन्ने थाहा पाउन पनि रत्नपार्क धाउनैपर्छ । एकप्रकारले काठमाडौं पुग्न रत्नपार्क पुग्नैपर्छ ।
रत्नपार्कको चलायमान गतिले बताउँछ– यसले सारा मुलुक जोडेको छ । फरक विचार बोकेका मानिसको जमघट, दैनिक गुजाराका लागि गरिएका अनेकखाले व्यवसाय र सस्तोमा आफ्नो भग्न जवानीलाई बेच्न बसेका युवतीहरू । यी हरेकका आफ्नै व्यथा छन् । यी सबैको भिजुअल एक्पेरियन्स देखाइरहेछ रत्नपार्क ।

एउटा बटुकोभरिको सङ्लो पानीमा दर्जन घडी डुबाएर आफूअघिको पेटीमा लम्किने हरेक बटुवाको आँखामा आशातीत दृष्टि फैलाउँदै चिसोमा बसेको ठिटो मस्त छ, आफ्नो भविष्यप्रति । लाग्छ– ऊ निश्चिन्त छ, अरू दौडने र घिस्रिने बटुवाहरूजस्तो कुनै चिन्ता उसमा छैन । ‘प्रचण्डले संविधानसभा पुन: ब्युँताउन गरेको हत्कण्डाको स्कुप’ बेच्न सन्ध्याकालीन पत्रिकाको खात बोकेर चिच्याइरहेका साइज–साइजका हकर पनि आफ्नै हतारोमा छन् । रोइरहेको आकाशमुनि पानीको कुनै परबाह नगरी प्याटप्याट हात्तीछाप चप्पल पड्काउँदै सुपर ग्लु, पर्स, मोजा आदि बिकाउन चर्को स्वरमा चिच्याउँदै हिँडेको सानो बालक, अलि साइडको फुटपाथमा चिरा पारेर थालमा राखिएको काँक्रो वा खरबुजा बेच्ने कुनै जवान युवतीका विवशता रत्नपार्क टुलुटुलु हेरिरहेछ । वेदनायुक्त समाचार बन्न लायक हकर आफैँचाहिँ कहिल्यै ‘स्कुप’ न्युज बन्न सक्दैन । बुझ्नै नसकिने यी परिदृश्य बोकिरहेको रत्नपार्क हिजोआज कुनै एब्स्ट्रयाक्ट आर्टजस्तो मात्र लाग्न सक्छ । दुनियाँका नजरमा ‘चरित्रहीन’ हरूलाई आश्रय दिने रत्नपार्कमै छ, विदेशी भूमिमा पसिना पोख्न जाने निमुखा ठिटाहरूको ‘चरित्र ठीक छ’ भनेर प्रमाण दिने महानगरीय प्रहरी कार्यालय ।

सिमसिमे झरीको कुनै असारे–साँझ म निर्धक्क उभिएको छु रत्नपार्कमा । ढुंगाको प्रतिमामा भिजिरहेका लौहपुरुष गणेशमान सिंह आफूअघि चना–चटपटे बेचिरहेका हुललाई हेरिरहेका छन् । चाउरी परेको छालामा डेट एक्सपाएर पाउडर घसेर एउटा मस्त पुरुष फेला पार्ने आशामा उभिएकी आइमाईको मनोदशा गणेशमानले बुझे/बुझेनन्, थाहा छैन । लाग्छ, गणेशमानलाई रत्नपार्क गजबको लोकेसन भएको छ । सबै परिवर्तन जो टुलुटुलु हेरिरहेछन् ।
सहरको कुनै ओसिलो गल्लीको कोठामा ग्यास सिद्धिएको झोँकमा दुई/चार ग्लास घुटुक्क पारेर रत्नपार्क पुगेको कुनै पुरुष देश सराप्दै हल्लिरहेको हुन्छ । रातो लिपिस्टिक लगाएकी कुनै ‘नानी’ पनि फुटपाथमा उभिएको कुनै पुरुषलाई सम्भावित ग्राहक ठानेर भनिरहेकी हुन्छे– जाने हो ? कुनैबेला ग्राहक उदार भए उसको कमिसनको रेट बढ्ने सम्भावना हुन्छ । दैनिकजसो ‘शरीर सुख’ का लागि बार्गेनिङ चलिरहेको हुन्छ ।
‘एक घन्टाका लागि हो भने पाँच सय, पूरै रातका लागि हो भने एक हजारभन्दा कममा चैँ हँुदैन, नो बार्गेनिङ !’ साँझ ढल्दै गर्दा मैले धेरैपटक रत्नपार्कमा यही वाक्य सुनेको छु । करिब १४ वर्षका किशोरीदेखि ४० वर्ष हाराहारीका महिलाहरू खुलेर मोलमोलाइ गरिरहेका हुन्छन् । केटाहरू सिधै ‘पैसा कति लिने गरेको छ ?’ भनेर सोध्छन् । कुरा मिल्यो भने एकछिनलाई कोठामै पनि लैजान सक्छे–‘मायालु †’ । दाम मिलेन भने केटाहरू भनिरहेका हुन्छन्– ‘भालु…†’
यी बेचिन विवश जवानीहरूलाई देखेर दु:खी बने पनि उनीहरूको अश्लील बार्गेनिङ सुनेर खुसी पनि हुन नसक्ला रत्नपार्क । मनमनै मुर्मुरिँदो हो– खुब नाप्यौ नेताहरू, यी नानीहरूलाई एउटा राम्रो रोजगारीसमेत दिलाउन सकेनौ †
रत्नपार्क बर्सांैदेखि राहतको आसमा आफ्नो दुर्गन्धित काया र घाइते मन लिएर कसैलाई पर्खिरहेको छ । धरहरा र घन्टाघरका मौन आँखा रत्नपार्कका छातीमा टेकेरै उक्लिनेहरूलाई वर्षौंदेखि हेरिरहेछन् मात्र । जनआन्दोलनको घाइते यो भूमि आफ्नो अस्तित्व जोगाउन राहतको भिख मागिरहेभैँm लाग्छ ।

पार्कको अघिल्लो भागमा ठडिएका दुई रूखमुनि उभिएर या बारमा बसेर गफिने व्यक्तिहरूको समूह देख्दा लाग्छ– त्यहाँ कुनै क्लब या समूहको बैठक भइरहेको छ । ‘यस्तै हुनुपर्छ’ भनेर कसैले ठोकुवा गरिरहेका बेला म त्यो हुलमा पसेको थिएँ । कुरा राजनीतिक थिए, सहभागीले जमेर अनुमान अनि तर्क गरिरहेका थिए । केही छिनमै थाहा भयो– आपसमा गफिएका उनीहरूले एकले अर्कालाई चिनेकै रै’नछन् ।
यो पार्क सफा, सुन्दर र भव्य छैन तर ‘स्पिकर्स कर्नर’ को झल्को दिन्छ । सहरमा हिलोमैलो छल्दै यताउता दौडिरहनेहरूलाई टुसुक्क बस्ने या ढल्किएरै आराम गर्ने चौतारो पनि दिएकै छ । राजनीतिक बहस र त्यसमा देखिने मान्छेको झुन्डले रत्नपाकले हरेक दिन कुनै नयाँ विचारको आविष्कार गरिरहेझैँ लाग्छ । तर, पावरफुल सिंहदरबार मात्र छ, जसले यहाँ उत्पादित विचारलाई बाल दिँदैन । यहाँ चनाकेराउ खानेहरूलाई भोट बैंक मात्र मान्छ, यिनीहरूको विचारको कदर गर्दैन । रत्नपार्कमा सबै बेरोजगार मात्र छन् तर यी उत्पादन हुनुको मुख्य जडचाहिँ उही सिंहदरबार नै हो । रत्नपार्क मैलिनुको कारण पनि उही हो । युगौँदेखिको यही राजनीतिक प्रवृत्तिका कारण माओवादीको सातौँ विस्तारित बैठकमा प्रचण्डमाथि कुर्सी प्रहार हुँदा खुच्चिङ बजायो होला रत्नपार्कले । रत्नपार्कलाई आक्रोशित जनता जन्माउन बाध्य पार्ने प्रचण्ड–बाबुरामको ‘जनयुद्ध’ नै हो ।
बेरोजगारको आवाज बाक्लिँदै जाँदा अगाडिबाट दौडिरहेका गाडीको आवाज मधुरो हुँदै जाँदो छ । केही छिनपछि थाहा लाग्यो– यी मान्छे यहाँ दिनहुँ आउँदैनन् तर बेलामौकामा आइरहन्छन् । सुन्दै जाँदा लाग्छ, यो लोकेसनका छलफलकर्ता निरीह र शक्तिहीन होइनन् । ‘कसैले नसुन्ने’ ठाउँमा आएर पनि आफ्ना कुरा बुलन्द गरिरहेका छन् । कुनै बेला यहाँ मध्यदिउँसो ‘मुकुन्दे’को भाषण सुनिन्थ्यो तर हिजोआज देखिँदैन । सायद ऊ फेसबुकतिरै व्यस्त भयो होला ।
मुकुन्दे देशको कुनै ठूलो नेता है’न । आफ्नो ओजनदार भाषणले सबैलाई प्रभावित पार्ने राष्ट्रिय व्यक्तित्व पनि है’न । तर, दुई–चार फ्यान कमाइसकेकै थियो । ऊ रूखमा उक्लिएको हुन्थ्यो, भुइँबाट पाँच मिटरजति माथि । भाषण सुन्ने पुरुष मात्रै हुन्थे । मुकुन्देको हातमा माइक हँुदैनथ्यो, ब्याकग्राउन्डमा कुनै रातो ब्यानर हुन्थ्यो–संविधानसभा धोका रहेछ, ६०१ थान बोका रहेछन् आदि । बेलाबेला उसले आफैँलाई भगवान्, राष्ट्रपति वा प्रधानमन्त्री घोषणा गरिरहेको हुन्थ्यो । तीनचोटि उसको भाषण सुनिसकेकाहरू प्रतिक्रिया जनाउँथे– बौलाहा † तैपनि, रत्नपार्कलाई ‘विशेष’ ठान्ने हैसियतका लागि चाहिँ ऊ विद्वान् हो । इतिहास, राजनीति–कूटनीति, अर्थ, सिनेमा, स्पोर्टस्, पुस्तक, टेक्नोलोजीमा थोरबहुत अपडेट भएकै हुन्थ्यो । आफूजस्तै बेरोजगारहरूलाई केही बेर मनोरञ्जन गराएर अभावको पीडा बिर्साइदिन्थ्यो मुकुन्दे, रत्नपार्कमा आसन जमाएर ।
कोही चरेस खाएर पल्टिरहेका हुन्छन्, कोहीचाहिँ हरेस खाएर ढलिरहेका हुन्छन्, रत्पार्कको सिरानीमा । महिनौँदेखि ननुहाएर मयलका टाटा बोकिरहेका रोमियो–जुलियट पनि यहीँ हुन्छन् ।
बाटोमा माइक्रो, टेम्पुको भिड छ । लगनखेल…, कलंकी…, मैतिदेवी…, आफूले लाने कता हो, चिच्याउँदै छन् खलाँसी । रत्नपार्कको व्यस्तता उकालिँदै छ । यतिखेरचाहिँ ऊ हिले सुपरमार्केटझैँ देखिँदै छ । फुटपाथे सुपरमार्केट, जसले उपल्ला वर्गको आस कहिल्यै गर्दैन ।

नियालेर हेर्ने हो भने यस पार्कले दशकौँदेखि राज्य र राजधानीको भार बोक्दै आइरहेको छ । पहँुच नहुने सर्वसाधारणलाई पनि चस्मा, घडी, कपडा, नक्कली सिडी–डिभिडी, शृंगारयुक्त विलासिताका उपभोग्य सामानहरू यो पार्कले सुपथ मूल्यमै उपलब्ध गराएकै छ । रक्सीको मातमा दिउँसै लड्ने, दिनभर हात हेरेर भविष्य बताएर गुजारा गर्ने बाबाहरू पनि यहीँ भेटिन्छन् । यसले हाम्रो राज्य र हामी नागरिकको असली अनुहार देखाउँछ ।
रत्नपार्कलाई अँध्यारोले बिस्तारै छोप्दै छ । सुनसान भने छैन । फुटपाथमा पसल थाप्नेलाई आफ्नै रन्को, खलासीलाई अन्तिम ट्रिप हान्ने बेग्लै रन्को । ग्राहक नभेटेर छटपटाइरहेकी बैँसालु छाक टार्ने रन्कोमा छे । रत्नपार्कले रिफ्रेस पार्न नसकेको दिमाग बोकेर म पनि घर जाने रन्कोमा पुरानो बसपार्कतिर दौडँदै छु । मलाई थाहा छ– भोलि फर्किंदा पनि रत्नपार्कले आफ्नो रंंग बदलेको हुनेछैन ।

प्रतिक्रिया