जसलाई महत्त्वाकांक्षाले डुबायो

नको बदला खुन † भारतीय मुम्बई अन्डरवल्र्ड डन छोटा राजन र खुङ्खार डन दाउद इब्राहिमको डी कम्पनीबीच यही आधारमा दुश्मनीको लेनदेन चलिरहेको थियो । बझाङका कमल सिंह नेपाली पनि यही लेनदेनको सिकार बने । कामको खोजीमा मलेसिया पुगेका उनी बिस्तारै भारतीय अन्डरवल्र्डका सदस्यको सम्पर्कमा पुगे । सुरुमा रमाइलोका लागि प्रवेश गरेका उनी पछि उम्कनै नसक्ने गरी त्यही जालोमा जाकिए र मारिए, २४ भदौ २०६३ मा ।
बझाङका कमल २०५२ सालमा वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका थिए । गठिलो ज्यानका उनले त्यहाँ सुरक्षागार्डको काम पाए । काम राम्रै थियो, दाम कामअनुसारको थिएन । दामका लागि जागिर गर्दागर्दै गेस्टहाउस चलाउने योजना बुने उनले । जागिरबाट केही रकम जोहो गरेका थिए । त्यही    रकमको भरमा मलेसियामा रहेका नेपालीलाई लक्षित गरेर उनले गेस्टहाउस खोले । बिस्तारै गार्डको काम छाडिदिए । प्राय: एसियालीमूलका ग्राहक थिए कमलका । बढीजसो नेपाली, अनि भारतीय । तीमध्येकै नियमित ग्राहक थिए, भारतीय नागरिक बाल ढोप्रे ।
ढोप्रे कमलको गेस्टहाउस नियमित आउँथे, बस्थे, रमाइलो गर्थे । आउजाउ बाक्लिँदै गयो । बिस्तारै दुईबीच घनिष्ठता बढ्यो । ग्राहक र मालिक अब घनिष्ठ मित्र भए । ढोप्रेले कमलकै गेस्टहाउसलाई स्थायी आवास बनाए । मलेसियामा ढोप्रे विशेष कुनै काम गर्दैनथे । प्राय: हल्लिएरै दिन कटाउँथे । केही दिन हराए पनि उनको बास सधैँ कमलकै गेस्टहाउसमा हुन्थ्यो । आम्दानीको स्रोत नदेखिए पनि खर्च दिल खोलेर गर्थे ।
मलेसियाका डिस्कोथेग, रेस्टुरेन्ट र रेडलाइट एरियाका ढोप्रे नियमित ग्राहक थिए । मित्र कमललाई पनि लैजान्थे र आºनै खर्चमा मस्ती गराउँथे । ढोप्रेसँग कमल आकर्षित हुनुको एउटा कारण बेमतलब खर्च गर्ने बानी पनि थियो । ढोप्रे थिए भारतीय अन्डरवल्र्ड ग्याङस्टार छोटा राजन समूहका मलेसिया एजेन्ट । उनको मलेसिया बसाइको उद्देश्य थियो– छोटा राजनको निर्देशन तामेल गर्ने, आदेशअनुसार सेटिङ मिलाउने । कमल यसबारे जानकार थिएनन् । अन्डरवल्र्डमा अपरिचितसँगको सम्बन्ध दिगो र स्थायी हुन सक्दैन । कमल र ढोप्रेबीचको सम्बन्धका हकमा पनि यो लागू भयो । त्यसैले दुवैको मित्रता प्रगाढ रहिरहन अब कमल छोटा राजन समूहको सदस्य हुनु अनिवार्य थियो । ढोप्रेले मौका पारेर आºनो परिचय दिए र कमललाई पनि छोटा राजन समूहमा काम गर्न प्रस्ताव गरे । अति महत्त्वाकांक्षी थिए कमल । सहजै सम्पन्न बन्ने ध्याउन्नमा धेरै रात अनिँदो कटाएका थिए उनले । बाटो जस्तोसुकै होस्, सम्पन्नशाली जीवनशैलीका लागि उनी जस्तोसुकै चुनौती पनि स्विकार्न तयार थिए । यस्तो बेला ढोप्रेबाट आएको प्रस्ताव उनले अस्वीकार गर्ने कुरै थिएन । किनकि छोटा राजन समूहको सदस्य बन्नु उनको महत्त्वाकांक्षा साकार बनाउने ढोका खुल्नुसमान थियो । उनले ढोप्रेको प्रस्ताव बिनाहिच्किचाहट स्वीकार गरे । मलेसियामा छोटा राजनको एकल राज थिएन । मुम्बईमा झैँ मलेसियामा पनि दाउदकै प्रभाव बढी थियो । दाउद सदस्य पनि बढी नै थिए ।
छोटा राजनको सञ्जाल मलेसियामा दाउदको भन्दा कमजोर थियो । बढ्दो नेपालीको संख्यासँगै कमल पनि शक्तिशाली बन्दै थिए । कमलको साथले ढोप्रेलाई समेत बलियो बनाउँथ्यो । त्यसैले उनले कमलको साथ खोजेका थिए । मलेसियामा दाउदका प्रमुख व्यक्ति थिए शरद सेठ्ठी । सेठ्ठी रहेसम्म त्यहाँ राजनको प्रभाव बढ्नु असम्भव थियो । सेठ्ठीका अगाडि ढोप्रे प्रभावहीनझैँ थिए । सेठ्ठी मलेसिया रहेसम्म छोटा राजनका सदस्यको शिरमाथि मृत्यु नाचिरहने पनि निश्चित थियो । सुरक्षित रहन होस् या प्रभाव बढाउन, सेठ्ठीलाई तह लगाउनुको विकल्प थिएन । साँप पनि मर्ने, लाठी पनि नभाँचिने । आफू सुरक्षित पनि भइने, छोटा राजनको दाउदसँग बदला पनि पूरा हुने । छोटा राजन समूहले मलेसियामा सेठ्ठीको हत्या योजना बनायो । सेठ्ठी हत्याको जिम्मा ढोप्रेको काँधमा आयो । उनले सहयोगीका रूपमा कमललाई छाने । दुवै सेठ्ठी हत्याको योजनामा जुटे, काम फत्ते गरे ।
छोटा राजनले दाउदका मलेसिया कमान्डर सेठ्ठीको हत्या गराएको समाचार केही दिनसम्म सञ्चारमाध्यमका हेडलाइन बनिरहे । त्यसको प्रतिक्रियामा मुम्बईमा के होला, दुई समूहबीच ग्याङ वार बढ्ने आशंका, मुम्बई पुलिस सतर्कजस्ता शीर्षकले भारतीय अखबार रंगिए । टिभी च्यानल पनि यही खुराक पस्कँदै थिए । भारतीय मिडियाको अनुमान सत्यजनिक थियो । किनभने, त्यस्तो कुनै घटना थिएन, जसको बदला दाउदले नलिएका हुन् । त्यसैले सेठ्ठी हत्याको बदलामा छोटा राजनले केही न केही पक्कै चुकाउनुपथ्र्यो । सेठ्ठीको सफाया गर्न सफल भएकामा छोटा राजन ढोप्रे र कमलसँग निकै खुसी थिए । त्यही घटनाबाट अन्डरवल्र्डभित्र दाउदभन्दा आफू बलियो भएको सन्देश दिन सफल भएका थिए उनी ।
मलेसिया छोटा राजनका लागि सुरक्षित, दाउदका लागि असुरक्षित भूमि बन्यो । मलेसियामा सेठ्ठीसँगै दाउद राज अन्त्य भएर छोटा राजन राज सुरु भयो । राजन राजको प्रारम्भ हुनु अर्बौं अम्दानीको बढोत्तरी मात्र थिएन, सँगसँगै प्रभाव विस्तार पनि थियो । सेठ्ठीको अन्त्यलगत्तै छोटा राजनकी श्रीमती सुजाता मलेसिया घुम्न आइन् । सुजाताको सुरक्षा, घुमघाम, बसोबास सबै प्रबन्ध मिलाउने जिम्मा ढोप्रे र कमलकै थियो ।
सेठ्ठी हत्याको बदलाका लागि तड्पिरहेको दाउद समूहले कुनै पनि बेला निशाना बनाउन सक्थ्यो सुजातालाई । चुनौतीपूर्ण थियो उनको सुरक्षा । सुजाताको सुरक्षाको जिम्मेवारी सुरक्षागार्डको काम गरिसकेको, हट्टाकट्टा जवान कमलकै काँधमा आयो । जता सुजाता, त्यतै कमल । मलेसिया भ्रमणताका सुजाता र कमल निकै नजिकिए । मलेसिया भ्रमणबाट खुसी भएर उनले कमललाई मलेसियामा दुइटा ºल्याट उपहारै दिइन् ।
(अपराधसम्बन्धमा लेखिएको पत्रकार ढुंगानाको पहिलो किताब ‘ओपन सेक्रेट’को एक अंश । फाइन प्रिन्टले प्रकाशन गरेको यो किताब साउन ११ गते बजारमा आउँदैछ ।)

प्रतिक्रिया