कैलाली, ५ साउन । कैलाली जिल्लामा बाढीको जो्खिममा दुईलाख भन्दाबढी जनसंख्या रहेको छ ।
कैलाली बाढीको उच्च जोखिममा रहेको भएपनि बाढी प्रभावित क्षेत्र मध्ये १५ हजार जनसंख्या मात्र बाढीबाट बच्न सक्ने बताइएको छ ।
बाढीबाट बच्न समयमा नै सम्बन्धित निकायसम्म सूचना पुर्याउन र प्रकोप जोखिम न्युनिकरणका पहलहरु भएपनि सूचना प्रणाली व्यवस्थित बनाउन प्रयाप्त उपकरण र आवश्यक तालिमको अभावमा संकटाभिमुख समुदायमा सूचना पुर्याउन र बाढी जोखिम न्यूनिकरण गर्नमा कठिनाई भइरहेको बाढी पूर्व सुचना प्रणाली कार्यक्रमका संयोजक प्रेमदत्त भट्टले बताए ।
कैलालीका नारायणपुर, धनसिंहपुर र टीकापुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको छ भने कन्हैया, आम्बारी, कुसुमघाट, पहलमानपुर, खैलाड, पवेरा, हसुलिया, गेटा, दरख, लालबोझी लगायतका क्षेत्रहरु संकटाभिमुख क्षेत्र अन्तरगत रहेको संयोजक भट्टले बताए ।
वर्षायाममा बाढीबाट हुने क्षति कम गर्नका लागि कैलालीमा २०६६ सालमा इसिएचओ आर्थिक सहयोग मर्सिकोको प्राविधिक सहयोगमा नेपाल रेडक्रस कैलाली शाखाले बाढी पूर्व सुचना प्रणाली कोषको स्थापना गरेर काम गर्दै आएको छ ।
जिल्लाका १३ स्थानमा वर्षामापन केन्द्र र ११ स्थानमा जलमापन केन्द्र स्थापना गरेर बाढीबाट बचाउन विभिन्न क्रियाकलाप गर्दै आइरहेको रेडक्रस कैलाली शाखाका कार्यवाहक सभापति सीताराम जोशीले बताए ।
यसैबीच बाढी आउने मौसम सुरु भएकोले जिल्लामा विभिन्न संघसंस्थाहरुले राहत सामग्री दिन थालेका छन् । यस क्रममा हालै लुथरन विश्व फेडरेसन नेपालले १० लाख मुल्य बराबरको राहत कैलालीका सिडीओ तथा जिल्ला दैबी प्रकोप ब्यवस्थापन समितिका अध्यक्ष कैलाशकुमार बजिमयलाई दिएको छ ।
त्यस्तै रेडक्रसले पनि बाढी प्रभावितहरुको लागि भनेर विभिन्न राहत सामग्री संकलन गरिरहेको जनाएको छ ।
प्रतिक्रिया