युमा बनिन् पहिलो मिस राई


काठमाडौं, ५  साउन । विगतदेखि वर्तमानसम्म समग्र राई जातिलाई कुनकुन कुराले बाूधेर सामूहिक एकता गराएको छ ?
प्रमुख निर्णायक सुमाया राईले सोधेको यो प्रश्नको सटिक जवाफ दिएर ओखलढुंगाकी २० वर्षीया युमा राई मिस राई सभ्यता प्रतियोगिताको पहिलो विजेता घोषित भएकी छन् । किरात राई मौलिक संस्कृति केन्द्रद्वारा बिहीबार राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अन्य सोह्र प्रतियोगीलाई उछिन्दै उनी मिस राईको ताज पहिरिन सफल बनेकी हुन् । ताजसँगै उनले नगद ५० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । राई जातिको सामूहिक एकता झल्कने तीन चुलाको प्रतीकमा क्रमश: धनकुटाकी सेली राई (वंशज चुला) फस्र्ट रनरअप, भोजपुरकी सृजा राई (कुटुम्ब चुला) सेकेन्ड रनरअप तथा सुनसरी, चतराकी बिडी योक्की राई (समाज चुला) थर्ड रनरअप घोषित भए । उनीहरू तीनै जनाले नगद २० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । अन्य सहायक टाइटल अवार्ड पनि किराती मिथकअनुसार वितरण गरिएको थियो ।
यसअनुसार मिस ट्यालेन्ट
(सुम्निमा–सृष्टिकर्ता) सेली राई, फ्रेन्डसिप (बाखम्मा–कलासंस्कृति) इलामकी गोमा राई, मिस फोटोजेनिक (निनाम्मा–आकाश) धरानकी एल्जिना राई, डिसिप्लिन
(हेन्खामा–पृथ्वी) काठमाडौंकी अरुणा राई, मिस पर्सनालिटी (खिल्यामा–हक्की स्वभाव) को अवार्ड काठमाडौंकी शारदा राईले हात पार्दा शीर्ष उपाधिविजेता युमाले भ्युअर च्वाइस (जाउमा) को अवार्ड पनि पोल्टामा पारिन् । किरात राई यायोक्खाको अभिभावकत्वमा सम्पन्न प्रतियोगिताको निर्णायक मण्डलमा लेखक राजन मुकारुङ, अभिनेता दयाहाङ राई, कृषिविज्ञ मदन राई, साहित्यकार मदन लामा खुले र गायक शिव लामिछाने थिए  । कार्यक्रममा हास्य अभिनेता विल्समविक्रम राईले प्रहसन गरेका थिए भने खोजी प्रतिभाको सिजन २ मा तेस्रो हुन सफल सचिन राईले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया