लन्डन, ५ साउन । जतिबेला सन् २००३ मा ग्राहम स्मिथ दक्षिण अफ्रिकाको टेस्ट क्रिकेट कप्तान चुनिए, त्यतिबेलासम्म निकै कम मात्र चिनिएका र क्रिकेटजगत्मा पनि कमै मात्र प्रभाव छाडेका २२ वर्षीय ‘ठिटा’ स्मिथलाई राष्ट्रिय टोलीको कप्तान बनाउने निणर्य आश्चर्यजनक रूपमा लिइएको थियो । तर, जिम्मेवारीप्रति सानैदेखि उनले न्याय गरे र करिब एक दशकपछि उनी अहिले दक्षिण अफ्रिका क्रिकेटकै एउटा इतिहास बनेका छन्, कप्तान र ब्याट्सम्यान दुवै रूपमा ।
जोहानसबर्गमा आफ्नो पहिलो टेस्ट खेलेका स्मिथका लागि बिहीबारदेखि इंग्ल्यान्डविरुद्ध ओभलमा सुरु भएको टेस्ट शृंखलाको पहिलो म्याच उनको सयौँ टेस्टका रूपमा रहेको छ । ओभलमै हुने तेस्रो टेस्टमा कप्तानी गरेपछि स्मिथ सबैभन्दा धेरै टेस्ट म्याचमा कप्तानी गर्ने पहिलो खेलाडी बन्ने छन् । त्यो टेस्टमा स्मिथले अस्ट्रेलियाका पूर्वकप्तान एलन बोर्डरको नाममा रहेको ९३ टेस्टको कीर्तिमान तोड्नेक्रममा आफ्नो कप्तानीमा ९४औँ टेस्ट खेलाइरहेका हुनेछन् ।
‘इंग्ल्यान्डमा म धेरै गर्व महसुस गर्छु किनकि मैले आफ्नो करियरका केही कोसेढुंगा यहीँ नै हासिल गरेको छु,’ स्मिथले भने । हुन पनि पहिलोपटक इंग्ल्यान्ड भ्रमण गर्नेक्रममा स्मिथले लगातार दुई टेस्ट म्याचमा दोहोरो सतक बनाएका थिए । एजबेस्टनमा भएको पहिलो टेस्टमा उनले दोहोरो सतक बनाएपछि तत्कालीन इंग्ल्यान्ड कप्तान नासिर हुसेनले पदवाट राजीनामा दिनु परेको थियो भने त्यसपछि इंग्ल्यान्ड टोलीका कप्तानमा चुनिएका माइकल भानको सुरुवात पनि स्मिथकै कारण राम्रो हुन सकेन । त्यसको पाँच वर्षपछि यी बाया हाते ब्याट्सम्यानले अविजित एक सय ५४ रन बनाएपछि इंग्ल्यान्डमा दक्षिण अफ्रिकाले सन १९६५ पछि पहिलोपटक टेस्ट शृंखला जित्न सफल भएको थियो । यस शृंखला जितले इंग्ल्यान्डका कप्तान माइकल भानले पनि पदबाट हट्नु परेको थियो ।
‘स्मिथ प्रभावशाली कप्तान हुन् । सानो उमेरमा कप्तान भएर लामो समयसम्म रहनु चानचुने कुरा होइन ।’ भान स्मरण गर्छन, ‘दक्षिण अफ्रिकाको कप्तान हुनुमा मात्र यो सीमित छैन । उनी राजनीतिक नेता पनि हुन् । मैदानबाहिरको दबाबलाई पनि सामना गरेर उनी यहाँसम्म आइपुगेका छन् ।’
भनिन्छ, बलरहरूले कप्तान बनाउँछन् । यसअर्थमा सउन पोलक, मखाया एन्टिनी, डेल स्टेन र भर्नान फिलान्डर आदि स्मिथका धन्यवादका पात्र हुन् । मार्क बाउचर र ज्याक कालिसजस्ता महान् खेलाडीको टिमको उपस्थिति पनि स्मिथलाई यहाँसम्म ल्याउन कम महत्त्वपूर्ण रहेन । करिब ५० को औसतमा आठ हजार ४२ टेस्ट रन बनाएका उनी दक्षिण अफ्रिकाका लागि ज्याक कालिसपछि सबैभन्दा बढी टेस्ट रन बनाउने खेलाडी हुन् । उनी अहिलेका सक्रिय टेस्ट खेलाडीमध्ये भारतका वीरेन्द्र सहवागपछि सबैभन्दा लामो समयसम्म प्रारम्भिक ब्याट्सम्यानका रूपमा खेल्ने खेलाडी हुन् । एकदिवशीय विश्वकपको समूह चरणबाटै बाहिरिएपछि र हेन्सी क्रोनिये म्याच फिक्सिङ प्रकरणमा फसेपछि कमजोर बनेको दक्षिण अफ्रिकालाई कप्तानी गर्दै स्मिथले नै सम्हालेका थिए ।
सन २००५ मा उनले वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखलामा लगातार तीनपटक प्रहार गरेका थिए भने त्यसको एक वर्षपछि लगातार सात टेस्ट शृंखला जितको यात्रा दक्षिण अफ्रिकाले तय गरेको थियो । सन् २००९ मा अस्ट्रेलियाविरुद्ध उसकै मैदानमा दक्षिण अफ्रिका शृंखला जित्न सफल भयो र त्यस वर्षको अन्त्यतिर करिब चार महिना टेस्ट वरियताक्रमको शीर्षस्थानमा रह्यो ।
‘स्मिथ टिमकै प्रेरणा हुन् ।’ दक्षिण अफ्रिकी टोलीका अर्का होनहार खेलाडी हासिम अमला भन्छन् । एक वर्षअघि टि–ट्वान्टीको कप्तानीबाट हटेका स्मिथले गत एकदिवशीय विश्वकपमा आफ्नो टोली क्वार्टरफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि राजीनामा दिएका थिए । टेस्ट कप्तानको हकमा उनले प्रशिक्षक ग्यारी कर्सटनसँग कुरा गरेर नहट्ने निर्णय लिएका थिए ।
‘लामो समयसम्म कप्तान हुन पाउँदा खुसी छु । हरेकपटक चुनौती पार गर्दै आएको छु,’ ३१ वर्षीय स्मिथ भन्छन्, ‘म अझै केही समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्न चाहन्छु ।’ यसपटक जारी शृंखलामा इंग्ल्यान्डलाई पराजित गरे दक्षिण अफ्रिका पुन टेस्ट वरियताक्रममा शीर्षस्थानमा उक्लने छ ।
प्रतिक्रिया