तेल उत्खनन् गरिछाड्ने भारतको अडान

नयाँदिल्ली, ५ साउन । भियतनामसँग मिलेर ‘साउथ चाइना सी’ मा तेल तथा ग्यास उत्खनन् परियोजना सञ्चालन गरिछाड्ने अडान भारतले लिएको छ । चीन र भियतनाम दुवैले स्वामित्व दाबी गरेको क्षेत्रमा भारतले प्रवेश गर्न चेष्टा गरेपछि चीनले यसप्रति कडा आपत्ति जनाउँदै आएको छ । तर, चिनियाँ चेतावनीको बेवास्ता गर्दै भारतले भियतनामसँग मिलेर ‘साउथ चाइना सी’ को ब्लक नम्बर १२८ मा परियोजना सञ्चालन गर्ने निर्णय गरेको छ ।
फक्स बिजनेसको अनलाइन संस्करणमा बिहीबार जनाइएअनुसार भारतको राज्यसञ्चालित आयल एन्ड नेचुरल ग्यास कर्पोरेसन (ओभिएल) ले परियोजना सञ्चालन गर्ने निधो गरेको हो । ब्लक नम्बर १२८ बाट नफर्किन आग्रह गर्दै भियतनाम सरकारले उत्खनन् परियोजनालाई सघाउ पुर्‍याउनेखालका थप सूचना उपलब्ध गराएपछि ओभिएलले यस्तो निर्णय गरेको हो । भियतनामले उपलब्ध गराएको सूचनामा परियोजना सञ्चालनको लागत सस्तो हुने र उत्पादित हाइड्रोकार्बोन आर्थिक दृष्टिकोणले उपयुक्त हुने देखिएपछि ओभिएलले ब्लक नम्बर १२८ बाट नफर्किने निर्णय गरेको हो ।
यसअघि भारतका कनिस्ट तेलमन्त्री आरपिएन सिंहले गत मेमा भारतीय संसद्लाई सम्बोधन गर्दै ओभिएलले ब्लक नम्बर १२८ बाट फर्किने निश्चय गरिएको जानकारी गराएका थिए । परियोजना सञ्चालन गर्नु आर्थिक दृष्टिकोणले उपयुक्त नहुने नदेखेपछि फर्किने निर्णयमा आफूहरू पुगेको उनले बताएका थिए । उक्त ब्लक छोड्ने निर्णय भारतले उल्टाएपछि यसले चीनलाई रुष्ट बनाउने निश्चित छ । चीनले ‘साउथ चाइना सी’ मा बाह्य मुलुकको प्रवेशको विरोध गर्दै आएको छ ।
भियतनामका राष्ट्रपतिको पछिल्लो भारत भ्रमणका क्रममा दुई देशबीच ‘साउथ चाइना सी’ मा संयुक्त रूपमा तेल उत्खनन् परियोजना सञ्चालन गर्ने सहमति बनेको थियो । तर, यसबाट चिनियाँ सार्वभौमिकता उल्लंघन भएको चेतावनी चीनले दिएको थियो ।
चीनको आपत्तिपछि ब्लक नम्बर १२८ मा समुद्री पिँध अत्यन्त कडा भएकाले उत्खनन् कार्य गाह्रो भएको भन्दै भारतीय विदेश मन्त्रालयले पेट्रोलियम मन्त्रालयलाई पत्र लेखी प्राविधिक एवं व्यापारिक लाभहानिको गणना गरी तेल उत्खनन् गर्ने/नगर्ने निर्णय गर्न निर्देशन दिएको थियो । यद्यपि, चीनले आºनो सार्वभौमिकता दाबी गरेको जलक्षेत्रमा भारतको प्रवेशलाई नरुचाइरहेका बेला लचिलो हुने भारतको कदमलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा  हेरिएको थियो ।
‘साउथ चाइना सी’ मा आºनो संलग्नता विशुद्ध आर्थिक उद्देश्यबाट प्रेरित रहेको भारतले जनाउँदै आएको छ । तर, चीनले भने आफूलाई घेराबन्दीमा पार्ने बृहत् रणनीतिअन्तर्गत भारतले ‘साउथ चाइना सी’ मा परियोजना सञ्चालन गर्न खोजेको आशंका गर्दै आएको छ ।
भारतले ब्लक नम्बर १२८ बाट फर्किने जनाएपछि ‘इन्डिया टुडे’ले यसबाट रणनीतिक महत्त्वको ‘साउथ चाइना सी’मा भारतको उपस्थिति कम हुने भन्दै दु:खेसो पोखेको थियो । भारतको यस्तो ‘नरमपना’को भारतीय सञ्चारमाध्यममा चर्को आलोचना हुँदै आएको थियो । (एजेन्सी)

प्रतिक्रिया