अनिता आएपछि घरै उज्यालो

केही वर्षअघि गायक उदय सोताङ र म जावलाखेलको थकाली रेस्टुरेन्टमा खाना खान गएका थियौँ । त्यहीँ एउटी भेटिइन् । उनले मतिर हेरिन् र सोधिन्– ‘मलाई चिन्नुभो ? के छ तपाईंको हालखबर ?’ म अक्क न बक्क परेँ । चिनेको छैन भनुँ आफूले बिर्सिएको हुन सक्छु । चिनेको छु भनुँ त केही छेकछन्दै आउँदैन दिमागमा । तैपनि अकमकिएकै बोलीमा भनेँ– ‘अँ..चिनेँ ।’ यसो भने पनि मैले यकिन ठम्याउन नसकेको उनले बुझिछन् । प्रस्ट्याउन थालिन्– ‘पाँच वर्षअगाडि हाम्रो स्कुलमा जज भएर आउनुभएको थियो नि †’ उनले यति भन्नासाथ बिजुली चम्केझैँ भयो मेरो दिमागमा । प्रस्टैसँग चिनेँ उनलाई अबचाहिँ ।
मैले सम्झेँ, त्यसको पाँच वर्षअगाडि ºयुचर स्टार्स स्कुलमा अनिता थापासँग भेट भएको थियो । त्यति बेला भाइ स्वरूप र म एउटा कार्यक्रमको जज बनेर त्यो स्कुलमा पुगेका थियौँ । अनिता त्यहाँ १० कक्षामा पढ्थिन्, १६ वर्षजतिकी देखिन्थिन् । मचाहिँ २६ वर्ष पुगिसकेको थिएँ ।  कार्यक्रममा उनले नृत्य गरिन्, मलाई साह्रै राम्रो लाग्यो । अहिले भेट्दा उनी निकै परिवर्तित देखिन्छिन् । झन् ठूली, राम्री अनि एजुकेटेड भइसकेकी रहिछन् । जागिर पनि खान थालिछन् । मलाई आफ्नो अफिसको कार्ड दिइन्, अनि त्यहाँबाट हिँडिन् । यति बेलासम्म मैले उनलाई एउटा फ्यानको नजरले हेरिरहेको थिएँ ।
उनले कार्ड दिएको पनि दुई वर्ष बितिसकेको थियो । आफ्नै काममा व्यस्त भइयो । एक दिन पर्स सफा गर्दा त्यो कार्ड देखेँ, आफूलाई याद गर्ने फ्यानलाई सम्झिएँ । अनि फोन गरेँ, उनले रिसिभ पनि गरिन् । हामीबीच त्यस्तो गहिरो सम्बन्ध नभएकाले कुराकानी पनि त्यस्तै भएको थियो, सामान्य हाइहेलो मात्रै । मैले उनलाई आफ्नो नम्बर दिएँ । त्यसपछि चाहिँ हामीबीच सम्पर्क केही बढ्यो । कुराकानीभन्दा पनि एसएमएस बढी हुन्थ्यो ।
सोही क्रममा उनलाई एक दिन जावलाखेलको एलिनाज बेकरी क्याफेमा बोलाएँ । म उनलाई आफ्नो नयाँ म्युजिक एल्बम दिन चाहन्थेँ । त्यो भेटमा एक घन्टाजति कुराकानी भयो । उनले बाबा (भक्तराज आचार्य) का गीत मन पर्ने सुनाइन् । अनि मन पर्ने गायकमा उदय सोताङको नाम लिइन् । उहाँलाई म काका भन्छु, निकै आत्मीयता छ हामीबीच । मैले उनलाई सोधेँ– भेट्ने त उदय सोताङसँग ?
उनी उत्साहित भइिन्– साँच्चै हो ? मैले भेट्ने व्यवस्था मिलाउने बताएपछि हामी त्यहाँबाट छुट्टियौँ । तर, त्यसदिन मलाई उनी एउटा सामान्य फ्यानभन्दा बढी लागिरहेकी थिइन् । उनको बोलीचाली, शीलस्वभाव एकदमै मन पर्न थाल्यो । सम्झिएँ– कति ख्याल गर्छिन् मेरो, समाचार पढेर पत्ता लगाएको भरमा बर्थ डे विस गर्न पनि छुटाउँदिनन् ।
उनलाई डिनरका लागि अफर गरेँ । तर, उनको समय एक महिनापछि मात्र मिल्यो । दरबारमार्गको टुकुचे रेस्टुरेन्टमा खाना खान गयौँ । यति बेला हामी स्वाभाविक रूपमै निकै नजिक भइसकेछौँ । किनकि म उनलाई जोक्स गरेर हँसाउन थालिसकेको रहेछु । वेटर भाइलाई भनेजस्तो गरेर उनलाई छेड हान्थेँ– ‘भाइ उनलाई खाना थपिदेऊ, यहाँ मात्र लजाएकी हुन्, घरमा कत्ति खान्छिन् †’
कलाकार र पत्रकारबीच फुटबल म्याच थियो,  दशरथ रंगशालामा । उनलाई पनि बोलाएँ । आइन्, हौसला दिइन् । अब त उनीसँग पहिलोचोटि भेटेकै आठ वर्ष बितिसकेछ । मैले उदय काकासँग उनलाई भेट्टाउन वाचा पूरा गरेकै थिइनँ । त्यही मेसोमा काका, उहाँको साथी र हामी दुई ट्राउट माछा खान रानीपौवा गयौँ । हल्का ड्रिङ्स पनि गर्‍यौँ । काका अनिता र मलाई जोडेर खुब जिस्क्याइरहनुभएको थियो । उनी नभएको बेलामा काकाले सुटुक्क भन्नुभो– ‘अनितालाई विवाह गर ।’ उनको बोलीचाली र शिलस्वभावले उहाँलाई पनि तानेछ ।
तर, विवाहको कुरा सुन्नासाथ मलाई गीताको याद आउँथ्यो । अनि केही बिरानो अनुभूतिमा रुमल्लिन थाल्थ्यो मन । गीता, मेरी श्रीमती । जो केही वर्षअगाडि मलाई एक्लै छाडेर परलोक गइसकेकी थिइन् । जे नहुनु भइसक्यो, अब फेरि जीवन सुरु गर्न सुझाउँथे आफन्तहरू । काका पनि त्यसै भन्नुहुन्थ्यो । एक मनले ठीकै पनि लाग्थ्यो । सोच्थेँ– गीताको स्थान लिन अनिता उपयुक्त होलिन् कि नहोलिन् † फर्कंदा कफी खान ओशो तपोवन छिर्‍यौँ । म रेस्टरुम गएको मौका छोपेर काकाले अनिताको नालीबेली सोध्नुभएछ । फर्किएपछि मसँग सुटुक्क जोक्स गर्नुभो– ‘लौ कुरो मिल्यो भने तिमी पनि मतवालीको ज्वाइँ हुने रहेछौ ।’ मैले अहिलेसम्म उनको थरबारे गहिरिएर सोधेको थिइनँ । मोहडा र बान्की हेर्दा क्षत्री थापा होलिन् भन्ने सोचिरहेको थिएँ । तर, मन मिलिसकेपछि यस्ता कुराले के अप्ठ्यारो पार्छन् र अहिलेको जमानामा ।
पहिलो गिफ्ट उनलाई चकलेट दिएको थिएँ । यसै पनि चकलेट मन पराउने उनी ७० भन्दा बढी विदेशी चकलेट पाउँदा निकै खुसी भइन् । अब उनी मेरो केयर गर्न थालेकी थिइन् । म अबेरसम्म बाहिरै हुन्थेँ । उनी फोन गरेर छिटो घर जान भन्थिन् । मलाई उनको माया लाग्न थालेछ । काकासँग यो भावना सेयर गरेँ– ‘काका † मलाई उनी मन परिन् ।’  काकाले भन्नुभयो– ‘तिमीले साँचो माया गरेका हौ भने तिमीलाई सहयोग गर्छु । तर पछि धोका दिनचाहिँ पाउँदैनौ ।’ विभिन्न तनाबका कारण म बढीजसो बाहिरै रहने गरेको कुराले काकालाई  पनि पीर लाग्दो रहेछ । भन्नुहुन्थ्यो– ‘तिमीलाई यही केटीले ठीक लगाउन सक्छे ।’
घरमा पनि विवाह गर भनेर साह्रै कचकच सुरु भएको थियो । अनितालाई एउटा रेस्टुरेन्टमा बोलाएर सिधै भनेँ– ‘मसँग बिहे गछ्र्यौ ?’  सोच्दै नसोचेको प्रश्न आउँदा उनी नर्भस भइछन् । भन्न थालिन्– ‘यो त मैले अपेक्षा गरेभन्दा धेरै माथिको प्रस्ताव गर्नुभयो, यसबारे मैले धेरै सोच्नुपर्छ ।’ उनले केही दिनको समय मागिन् । मैले भनेँ– ‘मलाई स्विकार्ने निर्णय गर्‍यौ भने एक महिनाभित्र फोन गर्नु, फोन आएन भने तिमीले मन पराइनौ भन्ने बुझ्नेछु ।’
त्यसपछि म उपत्यका बाहिर गएँ । एक महिना कहिले जालाजस्तो भइरहेको थियो । तोकेको मिति आइपुग्यो । म बिहानैदेखि उनको फोनको प्रतीक्षामा तड्पिएँ । धेरैबेर मोबाइलतिर हेरेँ, अहँ फोन गरिनन् । दिक्क लाग्यो । सोचेँ– ‘मलाई मन पराउँदी रहिनछिन् ।’ बेलुकीको सात बज्यो तर एक्कासि मेरो मोबाइल बज्यो, उनैको नम्बर थियो । हत्तपत्त उठाएँ र सोधिहालेँ– ‘के डिसजन लियौ त ?’ उनले भनिन्– पहिला काठमाडौं आउनु अनि भन्छु ।
म काठमाडौँ आइपुगेँ । तर, उनले अझै केही समय बिहे नगर्ने निर्णय लिएको सुनाइन् । मैले उदय काकासँग हेल्प मागेँ । काकाले उनलाई धेरै सम्झाउनुभयो । मेरो पारिवारिक अवस्था, भोगाइ अनि पीडाहरूबारे बताउनुभएपछि उनी विवाहका लािग राजी भइन् । तर, एउटा सर्त पनि राखिछन् काकासँग– ‘त्यसो हो भने उहाँ बेलैमा घरचाहिँ आउनुपर्छ ।’ यो त कुनै समस्या नै थिएन । मैले उनलाई घर लिएर गएँ र आमालाई सुनाएँ– ‘आमा ऊ नै हो, तपाईंको हुनेवाला बुहारी ।’  आमा निकै खुसी हुनुभयो । विवाह गर्नुपर्छ भनेर आमा निकै कराइरहनुहुन्थ्यो । यो खबरले आमा मात्र होइन, हाम्रा शाखासन्तान नै सबै खुसी भए ।
अब उनको परिवारसँग म घुलमिल हुनु थियो । चिनजान पनि भई नै हाल्यो । उहाँहरूले खाना खान बोलाउनुभयो । एकअर्काको परिवारमा आउजाउ हुन थाल्यो । दुवै परिवारको सहमतिमा बिहेको मिति तय गरियो । गत वैशाख १३ गते बुधबार सूर्यविनायकमा साधारण किसिमले विवाहबन्धनमा बाँधियौँ हामी, पहिलोचोटि भेटेको दस वर्षमा ।
म एकचोटि पहिले पनि बिहे भइसकेको मान्छे । अनिता त कुमारी केटी । र पनि मेरा लागि त्यत्रो बलिदान गरिन् । समाजले धेरै कुरा काटे । त्यसलाई नकारात्मक नमानीकन मलाई साथ दिइराखेकी छन् । आफैँभित्रको शून्यतामा बाँचिरहेको मेरो अवस्थालाई फिल गरिन् र पूरै घरमा एक किसिमएको उज्यालो ल्याइदिएकी छन् । नत्र गीता बितेपछि मेरो व्यक्तिगत जीवन अन्धकारजस्तो थियो । खाने बस्ने ठेगान थिएन । यस्तो बेलामा साथ दिएर उनले मलाई ठूलो गुन लगाएकी छन् । अनिताको यो समर्पण सम्झँदा आँखाबाट आँसु रसाउँछ कहिलेकाहीँ । गीताको ठाउँमा आएकी छन्, उनको कमी मेटाएकी छन् । गीताको माइतीमा पनि हामी विवाहपछि पाँचपटकभन्दा पुगिसक्यौँ । गीताका बाआमाले हामीलाई छोरीज्वाइँ नै स्विकार्नुभएको छ । माया दिनुभएको छ ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया