काठमाडौं,५ साउन । झाडापखाला, टाइफाइड, भाइरललगायत रोगका बिरामीको संख्यामा वृद्धि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयअन्तर्गतका स्वास्थ्य निकायका सम्पूर्ण कर्मचारीलाई बिदा नबस्न निर्देशन दिएको छ ।
मन्त्रालयले गर्मी मौसम तथा वर्षासँगै देशका विभिन्न स्थानमा विभिन्न सरुवा रोग देखिन थालेको र जुनसुकै बेला पनि त्यस्ता रोगको महामारी फैलन सक्ने भन्दै कर्मचारीलाई बिदा नबस्न सर्कुलर गरेको हो । दुर्गम जिल्लादेखि सुगम सहरमा समेत हैजा, झाडापखला, डेंगु, टाइफाइड, भाइरल, निमोनियाजस्ता रोगीको संख्या बढ्दै गएकाले रोगले महामारीको रूप नलियोस् भनेर मन्त्रालयले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदा नबस्न भनेर निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. पदमबहादुर चन्दले बताए ।
बिरामी देखिसकेका जिल्लामा र्यापिड रेस्पोन्स टिमलाई सतर्क अवस्थामा राखिएको प्रवक्ता डा. चन्दले जानकारी दिए । ‘सम्पूर्ण क्षेत्रीय तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा कर्मचारीलाई बिदा बस्न नदिन निर्देशन पठाइसकिएको छ,’ उनले भने, ‘यसका साथै महामारी फैलिएका बेला तथा रोग बढ्ने खतरा देखिएका बेला सक्रिय हुने र्यापिड रेस्पोन्स टिमलाई पनि अलर्टमा राखेका छाँै ।’
रोग देखा पर्न थालेकाले सम्भावित महामारीको खतरा रोक्न मन्त्रालयले बिदामा बसेका कर्मचारीलाई पनि तत्काल कार्यालयमा हाजिर हुन तथा अति महत्त्वपूर्ण काम भए मात्र बिदामा बस्न निर्देशन दिएको उनले बताए । उनका अनुसार मन्त्रालयले कर्मचारी नभएका स्वास्थ्य संस्थाको तथ्यांकसमेत तयार गरी नभएका स्थानमा तुरुन्त कर्मचारी तथा अन्य टोली पठाउने तयारी गरेको जानकारी दिए ।
‘देशका दुर्गम क्षेत्रका स्वास्थ्य संस्था विशेष गरी स्वास्थ्यचौकी तथा उपस्वास्थ्यचौकीमा कर्मचारी छैनन् भने त्यस्ता संस्थामा तुरुन्तै कर्मचारी पठाउने र बिदामा बसेकालाई पनि फोन गरेर हुन्छ वा अन्य कुनै माध्यमबाट तत्काल कार्यक्षेत्रमा आउन निर्देशन दिइएको छ,’ उनले भने, ‘बिदामा बसिरहेका कर्मचारीलाई पनि बिदा छाडेर कार्यालयमा हाजिर हुन भनेका छौँ ।’
महामारीको जोखिम समाधान गर्न सम्पूर्ण स्वास्थ्य संस्थामा आवश्यक तयारी गर्न निर्देशनसमेत मन्त्रालयले दिएको छ । ‘कर्मचारीका साथै स्वास्थ्य संस्थामा आवश्यक रहने पूर्वाधारदेखि औषधिलगायत सामग्री पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ,’ उनले भने, ‘जिल्लामा हुन सक्ने सम्भावित महामारीको अवस्था हेरेर स्वास्थ्य संस्थामा आवश्यक सामग्री राख्न भनिएको छ ।’
प्रतिक्रिया