अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौं, ५  साउन । बुधबार रातिदेखि भएको अविरल वर्षाले देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । इलाम, रौतहट, नवलपरासी, दाङ, दैलेखलागयतका जिल्लामा बाढीको असर परेको छ ।
दाङको सिसहनिया, लालमटिया र सोनपुरका बस्ती डुबानमा परेका छन् । स्थानीय दोलई खोलामा आएको बाढीले सिसहनिया–५ कालापानीमा बाढीले बढी क्षति पुर्‍याएको छ । बाढीले कालापानीका ६० वटा कच्ची घर भत्किएका छन् । बाढीमा परेका कालीपानीका सन्तोष यादवका चारमहिने छोरासहित ११ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका थिए ।
बाढी आएपछि सिसहनिया–४, ५, ६, ७ र ८ का दुई हजारभन्दा बढी घर डुबानमा परेका छन् । लालमटिया– ३, ४, ७, ८ र ९ तथा सोनपुर–१, २, ३ र ४ का बस्ती पनि डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी लालमटियाका सभापति गंगाराम भट्टराईले जानकारी दिए ।
भालुवाङ पुलचोकमा रहेको राजकुमार खड्काको घर भत्कँदा १० दिनकी सुत्केरी घाइते भएकी छिन् ।
बाढीले नवलपरासीमा पनि असर पुर्‍याएको छ । परासी नगरपालिका, रजहर, कावासोतीलगायतका दुईदर्जन गाविस डुबानमा परेपछि रोपाइँ रोकिएको छ भने बिहीबारदेखि गरिने भनिएको विद्यालयको त्रैमासिक परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
यस्तै, बाढीका कारण पूर्वपश्चिम महेन्द्र राजमार्गको रौतहट सडकखण्डमा अवरोध भएको छ । चाँदी लच्कामा सडक बिग्रिएर खाल्डो परेपछि पूर्वपश्चिमका यातायात अवरुद्ध भएका हुन् । सडकखण्डमा दुई फिटसम्म पानीको भेल बग्न थालेपछि यातायातका साधन रोकिएका हुन् ।
यस्तै, वर्षाले मेची राजमार्गको भदौरेमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङबाट झापा आउने जाने सवारी साधन रोकिएका छन् । राजमार्गअन्तर्गत रक्सेबाट सात किलोमिटर टाढा सो स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
यस्तै वर्षाका कारण दैलेखको चामुण्डा–१ बख्रेनीगाउँमा गएको पहिरोका कारण १८ घरपरिवार जोखिममा परेका छन् । पहिरो गएपछि एक घरका तीन सदस्य विस्थापित भएका छन् । पहिरोले ५० लाख रुपियाँ बराबरको नोक्सानी भएको छ ।
पहिरोले कलाधर कँडेलका परिवार विस्थापित भएका छन् । उनको परिवार भाइ तुलारामको आश्रय लिएर बसेको छ । चामुण्डा–१ कै गोविन्द कँडेल र कृष्ण पौडेललगायतका १८ घरपरिवार जोखिममा परेका हुन् ।

प्रतिक्रिया