विद्यालयलाई कारबाही सुरु

राजविराज, ५ साउन । गैरकानुनी रूपमा सञ्चालनमा रहेका सप्तरीका निजी विद्यालयलाई कानुनी दायरामा ल्याउन शिक्षा कार्यालयले आवश्यक पक्रिया अगाडि बढाएको छ ।
जिल्ला शिक्षा कार्यालयको बेवास्ताका कारण यस्ता विद्यालयको संख्या बढ्दै गएको गुनासोपछि कार्यालयले प्रक्रिया अगाडि बढाएको हो । कार्यालयले विद्यालय निरीक्षकलाई कार्यालयमा दर्ता रहेका विद्यालयको नामावलीसहित अनुगमनमा खटाएको छ । सञ्चालनमा रहेका विद्यालयको तत्काल अनुगमन गरिने र बिदा भएका विद्यालयमा भदौको पहिलो साताबाट अनुगमन गरिने शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । ‘कार्यालयले प्रक्रिया अगाडि बढाएको छ,’ भण्डारीले भने, ‘जुन विद्यालय प्रक्रियाअनुसार कानुनको परिधिमा आउँदैन, त्यस्तालाई कारबाही हुन्छ ।’
राजविराजमा एसियन एजुकेसन एकेडेमी, कुसाहामा सुदीक्षा एजुकेसनल एकेडेमी, एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल, रमेश मेमोरियल एकेडेमी कडोरवोनामा ब्रडहार्ड एजुकेसन एकेडेमी र गुराँस इंग्लिस बोर्डिङ स्कुल नियमविपरीत चलेका छन् । यस्तै, ओद्राहा, कमलपुर, घोघनपुर, रुपनीलगायत स्थानमा २५ विद्यालय विनाअनुमति सञ्चालित छन् ।

प्रतिक्रिया