मेची राजमार्ग अवरुद्ध

इलाम, ४ साउन । लगातारको वर्षाका कारण मेची राजमार्गको भदौरे भन्ने ठाउँमा पहिरो खसेपछि बिहानै देखि यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङ्गबाट झापातर्फ झर्ने र झापा, इलामबाट ती स्थानतर्फ हिँडेका दर्जनौ सवारी साधनहरु सडकमा नै रोकिएका छन् । गन्तव्यमा हिडेका सयौं यात्रीहरु अलपत्र भएका छन् ।
राजमार्ग अन्तर्गत रक्सेबाट करिब सात किलोमिटर टाढा पर्ने सो स्थानमा बिहान साढे ५ बजेदेखि सुरु भएको पहिरो अहिलेसम्म नरोकिएको स्थानीय वासिन्दाले जनाएका छन् ।
अवरुद्ध सडक सुचारु गराउन जिल्ला प्रहरीको टोलि बिहानै घटनास्थल पुगिसकेको जिप्रकाले जनाएको छ  । स्थानीय सर्वसाधरण सहित प्रहरीहरुले सडक सुचारु गराउने प्रयास गरिरहेका भएपनि पहिरो खस्ने क्रम जारी रहेकाले समस्या भईरहेको प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताए । ‘माथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम रोकिएको छैन’ निरीक्षक बाँस्तोलाले भने, ‘पानी समेत बगिरहेकाले यातायात सुचारु गराउन केही ढिलाई हुनसक्छ ।’
यता अवरुद्ध सडक सुचारु गराउन सडक विभागले पहिरो खसेको ठाउँमा स्काभेटर पठाईसकेको छ । तर, ढिला गरी मात्र सूचना प्राप्त भएकाले स्काभेटर अहिलेसम्म त्यस ठाउँमा पुग्न सकेको छैन ।
प्रहरी निरीक्षक बाँस्तोलाका अनुसार पहिरो खसेको स्थानबाट वारीका पारी जान र पारीका वारी आउन समेत नसकिने अवस्था रहेको छ । पैदल यात्रीलाई समेत पहिरोका कारण आवतजावतमा समस्या भएको बाँस्तोलाले बताए ।

प्रतिक्रिया