युवा पुस्ताको आगामी दायित्व

मुलुकको सर्वाधिक ठूलो पार्टी एनेकपा (माओवादी) विचारको पनि केन्द्रीकरण थियो । तर, पञ्च, कांग्रेस, एमालेजस्तै यो द्रुत गतिले पतनको मार्गमा गइरहेको छ । जनताको द:ुख र पसिना अनि पन्ध्र हजारभन्दामाथिको बलिदानबाट बनेको पार्टीको नेता साम्राज्यवादी, दलालवादी प्रवृत्तिबाट माथि उठ्न सकेको देखिएन । यो सरासर नेपाली जनता र क्रान्तिमाथि धोका हो । युवाहरूको भविष्यमाथि कुठराघात हो । पुरानो धोकेबाज इतिहासमा अर्को धोकेबाज इतिहास थप्नु पनि हो ।
मुलुकको राजनीतिक अवस्था पुरानो भन्दा फेरिएको छैन । बरु दिनप्रतिदिन जटिल बन्दै गएको छ । फरक भनेको माओवादी नेता सत्तामा छन् । सहिदको बलिदानीमा साम्राज्यवाद र विस्तारवादको दलाल बनेका छन् । यो प्रवृत्ति जनताले नेता बनाउने, नेता बनाएको व्यक्ति जनताको भक्षक बन्ने संस्कृतिको निरन्तरता हो । भक्षक बन्ने पुरानो संस्कृतिलाई नेताले पछ्याए पनि माओवादी कायकर्ता नयाँ विचार र चिन्तनबाट माथि उठ्नुपर्छ । आफूलाई वर्तमान पस्थितिअनुरूप नयाँ विचार र ठाउँमा उभ्याउन सक्नुपर्छ । यस पार्टीका कार्यकर्ताले सोच्ने र बुझ्ने तरिकामा परिवर्तन ल्याउँदै आफूलाई समयअनुसार गतिशील बनाउनुपर्छ । क्रान्तिको यात्रामा कयौँ खलनायक आउने र जाने क्रम जारी रहन्छ । त्यही नियमअनुसार जनयुद्धका क्रममा केही व्यक्ति आए । दुइ सय ४० वर्ष पुरानो राजतन्त्र फ्याँक्ने काम भयो । यसका लागि उनीहरू धन्यवादका पात्र छन् । विडम्बना, उनीहरू फेरि दलाल बनेर गए । त्यसमा विस्मात् मान्नुपर्ने जरुरी छैन । दलाल भनेको दलाल हो । दलालले राजनीति गर्दैन । केही व्यक्ति दलाल बन्दैमा संसार उल्टिँदैन । तर, नेपाली कांग्रेस र एमालेपछि माओवादी नेताहरू दलाल बन्न पुग्नु मुलुक असफल हँुदै जानु हो ।
अघिल्लो पुस्ताको चिन्तन, विचार, प्रवृत्ति, सोच्ने तरिकाको असफलता हो । अर्कातिर यस्ता नेतालाई जतिसक्दो चाँडो चिन्न पाउनु युवा पुस्ताका लागि अवसर पनि हो । जनताको सम्पत्ति भनेको इमानदारिता हो । राष्ट्रको साझा शत्रु भनेका दलाल, साम्राज्यवादी, विस्तारवादी हुन् । यसका प्रत्यक्ष सहयोगी विभिन्न वर्गका बौद्धिक चाटुककार र अवसरवादीहरू हुन् । उनीहरूको काम एनजिओ, आइएनजिओ आदि निकायमार्फत राज्यलाई बेचेर खानु हो । यिनै दलाल तत्त्वका कारण आज देश इतिहासमै अस्तित्व रक्षा र विनाशको संकटमा उभिएको छ । यसबेला पुरानो विचार र चिन्तनबाट माथि उठ्न सक्नुपर्छ । सन् १९५० को सन्धिदेखि बिप्पा सन्धि हुँदै एयरपोर्ट मर्मतको नाममा भारतीय सेना नेपालमा भित्र्याउने (मातृभूमि बेचेर खाने) संस्कृतिको विरुद्धमा माओवादी कायकर्ता उठ्नुपर्ने बेला भएको छ । हुन त यो चुनौतीपूर्ण कार्य हुनेछ । तर, यो उदारहणीय कार्य पनि हुनेछ र इतिहासको पानामा सुनौलो अक्षरले लेखिनेछ । त्यसकारण साम्राज्यवाद, विस्तारवाद र दलालका विरुद्धमा एकजुट भई उठ्न अब ढिला गर्नु हुँदैन ।
विस्तारवाद र साम्राज्यवादी रणनीतिअन्तर्गत विश्वमा कम्युनिस्ट आन्दोलनलाई बेठीक बनाउन खोजिँदैछ । नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि कम्युनिस्ट नामको दलाल पात्रबाटै असफल बनाउने योजना नेपालमा भित्र्याइएको छ । कम्युनिस्ट भनेको हत्यारा, दलाल, भ्रष्ट हुन् भन्ने देखाउँदै नेपाललाई भुटानीकरण गर्ने र अमेरिकी सहयोगमा फ्रि–तिब्बतको नाममा चीनमाथि हमला गर्ने रणनीतिक चाल चालिएको छ । कम्युनिस्टको नाममा दलालमार्फत विश्वमा कम्युनिस्ट आन्दोलन असफल पारेजस्तै यहाँ पनि गरिँदैछ । नेपाली जनतालाई एनजिओ र आइएनजिओको नाममा डलर दिएजस्तो गरेर छिमेकीविरुद्ध उकास्ने र नेपाली जनतालाई मराएर सामरिक महत्त्वको भू–भागमा आफ्नो वर्चस्व कायम गर्ने विदेशीको रणनीति हो । त्यो काम एनजिओ, आइएनजिओ र मानवअधिकारवादी बौद्धिक संगठनबाट डलर लिएर गरिबी, अभाव, आदिवासी जनजाति, दलितद्वारा गराउन खोजिँदैछ । संक्रमणकालीन राज्यको अवस्थाबाट फाइदा उठाउँदै बौद्ध, हिन्दू, किरात आदि समुदायलाई क्रिस्चियनीकरण गर्ने र क्रिस्चियन दलालमार्फत नेपालमा राजनीति गर्ने उसको उद्देश्य रहेको पाइन्छ । यो कुरा भारतीय शासक वर्गका लागि मजाक बन्न सक्ला तर क्रिस्चियन रणनीति नेपाली जनताका लागि मात्र होइन, छिमेकी मित्र राष्ट्र भारत र चीनका लागि पनि निको नहुने क्यानसर घाउसरह हुनेछ । यसप्रति हामी युवा बेलैमा सचेत बन्नुपर्छ । यो भनेको नेपाली पहिचान, संस्कृति र सभ्यताको अन्त्य गरी दासमाथि दास बनाउने अर्को रणनीति हो । यसको विरोध दलाल बनिसकेको अघिल्लो पुस्ताबाट असम्भव छ । यसका लागि नेपाली युवा नै जाग्नुपर्छ ।
नयाँ र खराब विचारद्वारा प्रशिक्षित भएर युवाहरू संगठित हुने बेला भइसकेको छ । दिनप्रतिदिन व्यवहारमा उत्पीडन, दमन र शोषणका विरुद्ध उठ्ने आवाज नै विचार हो भनेर युवाले बुझ्नुपर्छ । विचारहरूको संश्लेषण नै सिद्धान्त हो । सधैँ दमन, उत्पीडन, शोषणका विरुद्धमा बोल्नु नै माक्र्सवाद हो । आज इतिहासमै  राष्ट्र रहने कि नरहने भन्ने संकट आएको छ । अहिले साम्राज्यवादी, विस्तारवादी, दलालहरूको पञ्जाबाट मुलुक जोगाउनु सबैभन्दा उत्तम क्रान्तिकारी कदम हुनेछ । यही नै नेपाली जनताको राष्ट्रवाद हुनेछ ।
मुलुकमा बेलाबेला राष्ट्रघातीहरू जन्मिने गरेका छन् । युवाले त्यस्तालाई चिन्नुपर्छ । युवा पुस्ता केही जासुुस, इन्स्पेक्टर, डिएसपी, डिएमआइमा लेफ्टिनेन्ट, कर्नेल, र विदेशी दूतावासमा भर्ती भए पनि अधिकांश दलाल बन्ने हैसियत राख्न सक्दैनन् । यो पुस्ता नयाँ इतिहास निर्माण गर्ने पुस्ता पनि हो । ‘जानेर बुझ पचाउनुभन्दा नजान्ने राम्रो’ भने जस्तै नवयुवाहरूलाई देश बचाउने अभियानमा समावेश गर्न सकिन्छ । आउँदा दिनमा युवाहरू स्वस्फुर्त रूपमा समावेश हुँदै जानेछन् । हाम्रो राष्ट्रवाद भनेको मजदुर, किसान, उत्पीडित जनताको हित रक्षा गर्ने, नेपाली संस्कृति, सभ्यता र पहिचानको रक्षा गर्ने र आत्मनिर्भर समाजवादी अर्थतन्त्र र सर्वभौम सम्पन्न राष्ट्र बनाउनु हो । यसकै लागि विस्तारवाद र साम्राज्यवादी दलालहरूका विरुद्ध युवाहरू उठ्नुपर्छ । दलाल संस्कृतिको अन्त्य गर्नुपर्छ । दलाल संस्कृतिको अन्त्य भए राष्ट्र रहनेछ ।
राष्ट्र रहे हामी नेपाली भएर बाँच्न पाउने छौँ । नेपाल रहे जनवादी, समाजवादी, साम्यवादी, क्रान्ति हुनेछ । त्यसकारण क्रान्तिको अगुवा आजको युवा पुस्ता हो । सम्पूर्ण युवाले पुरानो पुस्ताबाट जबरजस्त राजनीतिक जिम्मेवारका साथ अगाडि बढ्नुपर्छ । यसको संरक्षकत्व दलालभित्रका असल अग्रज पुस्ताले गर्न सक्छन् । सम्पूर्ण युवा आ–आफ्नो ठाउँबाट आ–आफ्नै पहुँच र ढंगले साम्राज्यवादी, विस्तारवादी दलालहरूका विरुद्ध वैचारिक रूपमा प्रतिवाद गर्दै उठ्नुपर्छ । आफूलाई पछिल्लो पुस्ताले धिक्कार्ने अवस्थाबाट उठाउँदै मातृभूमिको रक्षामा जुट्नुपर्छ । नयाँ इतिहास निर्माण गर्नका निम्ति नयाँ ठाउँमा उभिन युवाहरू नै तम्तयार रहनुपर्छ ।

प्रतिक्रिया