लुटपाटको योजना बनाइरहेका चार पक्राउ


रौतहट, ४ साउन । स्थानीय व्यापारीको घर लुट्ने योजना बनाइरहेका चारजनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गरुडा बैरियाबाट मंगलबार राति गरुडा–४ का २३ वर्षीय राजीव पण्डित, गरुडा–८ का २९ वर्षीय राकेश साह, गरुडा–६ का १८ वर्षीय नन्दु दास तथा ३० वर्षीय बिन्दु साहलाई पक्राउ गरेको हो । उनीहरूबाट चार थान नलकटुवा पेस्तोल तथा दुई थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
गरुडा बैरिया–९ का व्यापारी रामचन्द्र सहनीको घर भाडामा लिएर बसेका एक समूहलाई लुटपाटको योजना बनाइरहेको अवस्थामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । उनीहरूलाई गरुडाका व्यापारी बिलट चौधरीको घर लुट्ने तथा सोही स्थानका बच्चुप्रसाद साहले छोरालाई बाहिर पठाउन घरमा राखेको ४० लाख रुपियाँ लुट्ने योजना बनाइरहेको सुराकीका आधारमा प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गरुडा तथा सशस्त्र प्रहरी दुधियाभार बेस क्याम्पका प्रहरीसहितको संयुक्त सुरक्षाकर्मीले घर घेरा हालेर पक्राउ गर्न खोज्दा उनीहरूले एक राउन्ड गोलीसमेत फायर गरेका थिए ।
‘अवैध हतियारसहित लुटपाटको योजना बनाइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेका हौँ,’ एसपी ठूले राईले भने, ‘सुरक्षाकर्मीलाई देखेपछि उनीहरूले घरपछाडि रहेको चर्पी छेउबाट फायर गरेका थिए ।’ एसपी राईले तीन थान नलकटुवा पेस्तोल पानीमा लुकाइराखेको अवस्थामा फेला पारेको बताए ।
पक्राउ परेकामध्ये राकेश साह यसअघि पनि राजमार्गमा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनी राजमार्गमा हतियार देखाएर मोटरसाइकल लुट्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारजनालाई नै हातहतियार तथा खरखजाना ऐनअन्तर्गत कारबाही चलाइने एसपी राईले बताए ।

प्रतिक्रिया