सिन्धुपाल्चोक, ४ साउन । जिल्ला अदालत सिन्धुपाल्चोकले ६ चेली बेच्ने अभियुक्त बजिर सिंहलाई एक सय ७० वर्ष जेल सजायको फैसला सुनाएपछि बेचिएर फर्किएका चेलीले मिठाई बाँडेर खुसीयाली मनाएका छन् ।
काठमाडौंको एक पुन:स्थापना केन्द्रमा रहेका चेलीहरूले बजिर जेल परेको खबर सुन्नेबित्तिकै मिठाई र फलफूल बाँडेर खुसी आदानप्रदान गरेका हुन् । ‘बजिर एक सय ७० वर्ष जेल परेको खबर सुनेपछि खुसीको सीमा नै रहेन,’ बेचिएर फर्किएकी चौतारा ‘इ’ ले भनिन्, ‘हामीले त चाडबाड आएजसरी खुसीयाली मनायौँ ।’ टेलिभिजनमा समाचार आएपछि आफूहरूलाई आमाले फोन गरेर बजिर जेल परेको खबर सुनाएको उनीहरूले बताए । ‘जिल्ला अदालतले बजिरलाई सजाय तोके पनि पुनरावेदन र सर्वोच्च अदालतले फैसला उल्ट्याउँछ कि भन्ने डर लागिरहेको पनि उनीहरूले बताए । चौतारा ‘एफ’ले भनिन्, ‘आफ्नै जिल्ला भएकाले जिल्ला अदालतले त न्याय दियो तर बजिरले जसरी पनि कानुनलाई आफ्नो पक्षमा ढाल्न सक्छ ।’
अदालतको फैसलाबाट खुसी भएका उनीहरूले भोलिपल्ट पत्रिकामा बजिर हाँसिरहेको तस्बिर देख्दा पनि रिस उठेको बताए । ‘मलाई त्यसको अनुहारमा पत्रिकामै भए पनि थुकिदिउँm जस्तो भयो,’ आक्रोशित ‘इ’ ले भनिन्, ‘जे भए पनि त्यसलाई जिन्दगीभरि हाम्रो आँसुले पोलिरहनेछ ।’
शिखरपुरका बजिर सिंहले तीन वर्षअघि जिल्लाका ६ चेलीलाई भारत लगेर बेचेका थिए । बेचिएका चेली दुई वर्षअघि भागेर नेपाल फर्कन सफल भएका थिए । १२ वर्षकी चौतारा ‘इ’ र १३ वर्षीया चौतारा ‘एफ’ लगायत ६ चेलीलाई बजिरले बेचेका थिए ।
चौतारा ‘इ’ र ‘एफ’ बालिका भएकै कारण बजिरले एक सय ७० वर्ष जेल सजाय भोग्न परेको हो । बालिका बिक्रीका कारण बजिरलाई ४०–४० वर्ष जेल सजाय तोकिएको अदालतले जनाएको छ । अन्य चार चेली बेचेको मुद्दामा ९० वर्ष गरी उनलाई एक सय ७० वर्ष जेल सजाय तोकिएको जिल्ला न्यायाधीश अनन्त डुम्रेले जानकारी दिए ।
बेचिएर स्वदेश फर्किएका चेलीहरू शक्ति समूहको सहयोगमा काठमाडौंमा अध्ययनरत छन् । चैतारा ‘एफ’ले समूहको बसाइले ‘घरको तिर्सना मेटिएको बताइन् । एसएलसी पास गरेर नर्सिङ पढ्ने सोच बनाएकी चौतारा ‘इ’ भने समाजसेवामा लाग्ने बताउँछिन् । ‘आफूले यस्तो भोग्न परिहाल्यो,’ उनले भनिन्, ‘अरू कुनै दिदीबहिनीले यस्तो भोग्न नपरोस् ।’ अहिले पनि गाउँ जाँदा समाजले नराम्रो दृष्टिकोणले हेर्दा भने उनीहरूलाई निक्कै नमज्जा लाग्छ । सानिआमा, ठूलीआमाका छोरीहरू ‘इ’ र ‘एफ’ भारतबाट फर्किएपछि दुईपटक गाउँ गएका छन् ।
बम्बईको एउटै कोठीमा बसेका ‘इ’ र ‘एफ’ले आफूहरूले त्यहाँ नारकीय जीवन भोग्न परेको पीडा सुनाए । ‘कोही ग्राहक आए खाँदाखाँदैको गाँस छोडेर जानुपथ्र्यो ।’ यौन व्यवसाय गर्न बाध्य भएको पीडा बताउँदै ‘इ’ले भनिन्, ‘दिनमा १५ जनाको चित्त बुझाउनुपरे पनि आइतबार पचासभन्दा बढीको चित्त बुझाउनु पथ्र्यो ।’ नौ महिनामा कोठीमा नारकीय जीवन बिताउन बाध्य उनीहरूले धेरैपटक भाग्ने कोसिस गरे पनि असफल भएको बताए । ‘त्यस दिन भाग्यले नै साथ दिएको रहेछ,’ ‘एफ’ले भनिन्, ‘भाग्न खोजेको दिन त मूलगेटको ढोका नै बन्द गरेको रहेनछ ।’ उनीहरूलाई अहिले पनि केटाहरू देख्दा कोठीकै झल्को आउँछ । ‘इ’ ले भनिन्, ‘जो केटा देखे पनि ‘त्यही गर्न’ आँटेको जस्तो लाग्छ ।’
प्रतिक्रिया