डिएसपीलाई कारबाहीको माग गर्दै अल्टिमेटम

काभ्रे, ४ साउन । कर्मचारीलाई दुव्र्यवहार र सर्वसाधारणलाई दमन गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सुरेन्द्रप्रसाद मैनालीलाई कारबाहीको माग गरिएको छ । काभ्रेमा विभिन्न पेसागत संघसंगठनले बुधबार उनलाई निलम्बनको माग गरेका छन् ।
संघसंगठनले डिएसपी मैनालीले आफ्नै कार्यालयमा वार्तामा बोलाएर पुगेका राष्ट्रिय स्तरका ट्रेड युनियनका पदाधिकारीमाथि दुव्र्यवहार गरेको जनाएका छन् । गत शनिबार बिहान काभ्रेको बनेपा–११ बुडोलमा बनेपा–नेपालथोक रुटमा चल्ने हिमाल–तराई यातायातको ना.२ख ५८९२ नम्बरको बसको ठक्करबाट निधन भएका स्रोतव्यक्ति डेगराज भट्टराईको मृत्युपछि पीडित परिवार, स्थानीयवासी र घाइतेमाथि दमन गरेको व्यवहारप्रति संघसंगठनले खेद प्रकट गरेका छन् ।
बुधबार दिउँसो सिडिओ रुद्रनाथ बस्यालललाई ज्ञापनपत्र बुझाउँदै संघसंगठनले कारबाहीको माग गरेका हुन् । दुर्घटनामा घाइते भएका अर्का स्रोतव्यक्ति नवराज तिमल्सिनाको पनि मंगलबार बिहान न्युरो अस्पतालमा निधन भएको छ ।
प्रशासनले दमन गरेपछि भट्टराईको शव सोमबार मात्रै दाहसंस्कार गरिएको थियो भने तिमल्सिनाको मंगलबार दाहसंस्कार गरिएको थियो । पेसागत संघसंगठनले ७ साउनमा प्रशासनले दुर्घटनामा दोषीमाथि कारबाही गर्नुपर्ने, उपचारका क्रममा भएको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति जीविकोपार्जनको उचित व्यवस्था गरिनुपर्ने अल्टिमेटम प्रशासनलाई दिएका छन् ।
यातायात व्यवसायीबाट बारम्बार भएको लापरबाहीपूर्ण कार्यबाट हुने धनजनको क्षतिप्रति प्रशासन मौन रहेको भन्दै संगठनले खेद प्रकट गरेका छन् । ज्ञापनपत्र बुझ्दै सिडिओ बस्यालले गृह मन्त्रालयसँग समन्वय गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
कर्मचारीले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउँदै पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल शिक्षक युनियन, राष्ट्रिय स्वास्थ्यकर्मी कर्मचारी संघ, नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन, गाविस हकहित संरक्षण केन्द्र, स्रोतव्यक्ति जिल्ला कार्यसमिति र अखिल नेपाल शिक्षक संगठनले संयुक्त रूपमा सिडिओ बस्याललाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया