चौधसय मुक्त कमैयाको पुन:स्थापना अलपत्र

कैलाली, ३ साउन । कमैया प्रथा अन्त्य भएको १२ वर्ष वितिसक्दा पनि कैलालीमा अझैं एक हजार ४ सय परिवारको पुर्नस्थापना हुन नसकेको मुक्त कमैयाहरुले जानकारी दिएका छन् ।
मुक्त कमैयाको पुर्नस्थापनका लागि सहज रुपमा जग्गा उपलब्ध हुन नसक्नु, उपलब्ध भएको जग्गामा पनि स्थानीय सामुदायिक वन उपभोक्त समितिबाट विरोध भइरहनु, ऐलानी जग्गा गैर मुक्त कमैयाको अतिक्रमणमा रहनु र कमैयाहरुसँग गैर कमैया मिसिएर बस्नु लगायतका कारणले मुक्तकमैयाहरुको पुर्नस्थापना कार्यमा कठिनाई भएको मुक्त कमैया पु:स्थापना जिल्ला समितिका पदाधिकारी बताउँछन् ।
लामो अवधी सम्म व्यवस्थित पुर्नस्थापना नहुँदा पूर्वकमैया कतिपयले विभिन्न तनाब र समस्या झेल्नु परेको मुक्तकमैयाका अगुवा प्रेम चौधरीले बताए । पर्नस्थापनाको पर्खाइमा बसेका पूर्व कमैयाहरुले बारम्बार आवाज उठाउँदा पनि कुनै सुनुवाई नभएको गुनासो गर्दै आएका छन् ।
पुर्नस्थापनमा देखिएका समस्याका बाबजुद कैलालीमा करिब ७ हजार ५ सय परिवारको पुर्नस्थापना भइसकेको र थप एक हजार मुक्तकमैया परिवारलाई जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको मुक्त कमैया पुर्नस्थापना जिल्ला समितिका सदस्य सचिव एवं भूमिसुधार अधिकृत हेमन्तबहादुर सिंहले बताएका छन् ।
हालै मात्र जिल्ला समितिले २ सय ८८ परिवारलाई उनीहरुले रोजेकै क्षेत्रमा जग्गा खरिद गरी पुर्नस्थापित गराएको छ । जिल्लामा ८ हजार ९ सय १० मुक्तकमैया परिवार रहेका छन् ।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका पूर्व कमैया मध्ये कैलाली र बर्दिया बाहेक अन्य जिल्लामा कमैया पुर्नस्थापनाको काम पूरा भइसकेको बताइएको छ ।
सरकारले २०५७ साउन २ गते पश्चिम तराईमा ब्याप्त रहेको कमैया प्रथालाई अबैध घोषणा गर्दै सबै कमैयालाई मुक्ति दिएको थियो ।

प्रतिक्रिया