एमाओवादीसँग अन्तिम लडाइँ : कोइराला

काठमाडौं, ३  साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीसँग प्रजातन्त्रका लागि अब अन्तिम लडाइँ लड्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ, पाल्पा–काठमाडांै सम्पर्क समितिले मंगलबार राजधानीमा गरेको कार्यक्रममा सभापति कोइरालाले सहमति, सहकार्य र एकतामार्फत प्रजातन्त्रका लागि माओवादीसँग अन्तिम लडाइँ लड्ने बताए । जनताप्रति इमानदार नभए अन्य तानाशाहजस्तै माओवादी पनि समाप्त हुने दोहोर्‍याउँदै कोइरालाले जनतासँग खेलवाड नगर्न माओवादी नेतृत्वलाई चेतावनी दिए ।
विगतमा भएका सहमतिको माओवादीले इमानदारीपूर्वक कार्यान्वयन नगरेका कारण राजनीतिक र संवैधानिक संकट आएको तर्क गर्दै उनले कांग्रेसले संवैधानिक ढंगबाट मुलुकलाई निकास दिने दाबी गरे । ‘हामी विधि र विधानभित्र रहेर वैधानिक लडाइँ लड्नेछाँै,’ उनले भने, ‘सहमतिमा आउनुभन्दा माओवादीसँग अर्को विकल्प छैन ।’
सहमतिविना घोषणा गरिएको चुनावको वैधता नभएको उल्लेख गर्दै उनले सरकारले चुनाव गराउनका लागि चुनावको घोषणा नगरेको आरोप लगाए । ‘संवैधानिक र कानुनी जटिलता बुझ्दाबुझ्दै सरकारले चुनावको घोषणामात्र गरेको हो,’ उनले भने, ‘चुनाव गराउनका लागि घोषणा गरिएको होइन ।’

प्रतिक्रिया