काठमाडौं : नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने अवसर आफूले पाए अरूले भन्दा राम्ररी देश चलाउने बताएका छन् । एमाले नेताहरूले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने मौका मिले नेता ओलीलाई अघि सार्ने बताइरहेका बेला ओली स्वयंले पनि यस्तो दाबी गरेका हुन् ।
दक्षिण अफ्रिका भ्रमणबाट मंगलबार स्वदेश फर्केका ओलीले अब बन्ने सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनोस् भन्ने पक्षमा आफू रहेको बताए । एकीकृत नेकपा (माओवादी) नेतृत्वको सरकार मात्रै असफल नभएको भन्दै उनले सरकारसँगै संविधानसभालाई पनि असफल बनाएकाले एमाओवादीबाहेकको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे ।
‘यो सत्ताप्राप्ति र ओहोदाप्राप्तिको लडाइँको विषय होइन, लोकतन्त्रको बाटोमा मुलुकलाई हिँडाउने लडाइँ हो,’ उनले भने, ‘संविधानसभा चुनावपछि कांग्रेस नेतृत्वमा सरकार बनेको छैन, त्यसैले प्राथमिकता कांग्रेस नेतृत्वमा सरकार बनोस् भन्नेमा छ ।’
कांग्रेसले सरकारको नेतृत्व नगरे एमालेले गर्ने बताउँदै उनले आफूले नेतृत्व पाए ‘बेटर’ ढंगले चलाउने दाबी गरे । ‘मेरो नाममा पनि चर्चा भएको भन्ने मैले सुनेको छु’ उनले भने, ‘मौका पाउँदा म ‘बेटर’ ढंगले चलाउँछु तर प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दिनँ ।’
उनले संवैधानिक रिक्तता अन्त्य गरेर मुलुकलाई सहमतिको बाटोमा लैजान सहमतिको सरकार गठन गर्नुपर्ने बताए । एमाओवादीको आवेश, उत्तेजना र सत्ता कब्जाको जिद्दीले मुलुक संवैधानिक रिक्ततामा पुगेको उनको भनाइ थियो । भने, ‘एमाओवादीले जुन बाटो हिँडे पनि असंवैधानिक हुने अवस्थामा मुलकलाई फसायो त्यसैले एमाओवादीको नेतृत्वमा सरकार बन्न हुँदैन ।’ (सौस)
प्रतिक्रिया