पाँच वर्षपछि भारत–पाक क्रिकेट शृंखला हुने

नयाँदिल्ली, २ साउन । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई)ले आगामी डिसेम्बरमा भारत–पाक एकदिवसीय शृंखला सञ्चालन हुने तयारी भइरहेको जनाएको छ ।
पाकिस्तान र भारतबीच अन्तिमपटक सन् २००७–०८ मा दुई देशीय क्रिकेट शृंखला भएको थियो, जतिवेला पाकिस्तानले भारत भ्रमण गरेको थियो । सन् २००८ मा मुम्बईमा आतंकवादी हमला भएयता पाकिस्तान र भारतबीच क्रिकेट शृंखला हुन सकेको छैन । उक्त घटनामा भारतले पाकिस्तानी आतंकवादी समूह संलग्न रहेको र त्यसका आक्रमणकारीलाई कारबाही गर्ने भारतीय प्रयासमा पाकिस्तानले सहयोग नगरेको आरोप लगाउँदै आएको छ ।
दुई देशबीच क्रिकेट शृंखला सञ्चालन गर्न दुवै देशका सरकारको स्वीकृति अनिवार्य छ तर यो प्रक्रिया अब औपचारिक मात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरुमा भारतको विदेश मामिला र गृह मन्त्रालयले स्वीकृत गर्नुपर्ने छ ।
‘पाकिस्तानलाई बोलाएर हामीले दुई देशीय शृंखला सुचारु गर्ने निर्णय गरेका छौँ,’ बिसिसिआईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ । डिसेम्बरको अन्त्यतिर सुरु भई आगामी वर्षको जनवरीमा सकिने उक्त शृंखलामा तीन म्याच खेलिनेछन् ।
२३ डिसेम्बरदेखि १० जनवरीको अवधिबीच सञ्चालन हुने उक्त शृंखलाका खेल नयाँदिल्ली, मोहाली र धर्मशालास्थित हिमालयन हिलटाउनमा हुनेछ । पाकिस्तानी क्रिकेट बोर्डले पनि बिसिसिआईको उक्त निर्णयको स्वागत गरेको छ । पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले आफूहरू औपचारिक निमन्त्रणाको पर्खाइमा रहेको जनाएका छन् । ‘यदि यो समाचार सत्य हो भने यसै वर्षको अन्त्यमा भारत–पाक शृंखला हुनेछ,’ स्थानीय टेलिभिजनसँगको कुराकानीमा असरफले भने । भारत–पाकिस्तानबीचको सरकारी छलफलमा यसबीच क्रिकेट शृंखला सुचारु गर्ने विषयले प्राथमिकता पाउँदै आएको थियो । दुई देशीय सम्बन्ध सुधारको एउटा पक्षका रूपमा क्रिकेट पनि रहँदै आएको छ ।
यसै महिनाको सुरुमा दुई देशका विदेश सचिवले नयाँदिल्लीमा छलफल गरी दुई देशबीचको खेलकुद सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल गरेका थिए । मुम्बई हमलापछि यी दुई देशबीचको सम्बन्ध स्वत: चिसिएिको थियो । एकअर्कासँग दुई देशीय शृंखला नखेल्ने विषयमा यी दुई टोलीले औपचारिक रूपमा घोषणासमेत गरेका छैनन् । ‘दुई देशीय क्रिकेट सम्बन्ध सुधारको विषय हामीले क्रिकेट बोर्डलाई दिएका छौँ । बोर्डले जे निर्णय गर्छ त्यो नै करिब अन्तिम हुनेछ,’ एक भारतीय सरकारी स्रोतले भन्यो, ‘तर आन्तरिक सुरक्षा र परराष्ट्र मामिलाको सम्बन्धमा अध्ययन सकारात्मक देखिएपछि मात्र निर्णय कार्यान्वयन हुनेछ ।’ सरकारी स्रोतका अनुसार सुरक्षा नै प्रमुख चुनौतीका रूपमा रहेको छ, क्रिकेट सम्बन्ध सुचारु हुनका लागि ।
बीचमा तटस्थ स्थान (न्युट्रल भेन्यु)मा समेत यी दुई देशले शृंखला खेलेनन् । तर, विभिन्न प्रतियोगितामा भने यी टोली आपसमा भिडेका छन् । सन् २०११ को एकदिवसीय विश्वकपमा पाकिस्तान र भारत आएर खेलेका थिए जसमा पाकिस्तान र भारतबीच सेमिफाइनलमा भेट भएको थियो । यस खेलमा दुवै देशका प्रधानमन्त्री सहभागी थिए । त्यस्तै, बंगलादेशमा आयोजित एसिया कपमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया