प्रजातन्त्रका लागि क्लिन्टनको आग्रह

कायरो : अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले मुलुकलाई प्रजातन्त्रको मार्गमा डोहोर्‍याउने कार्यमा सघाउन इजिप्टको सेनासँग आग्रह गरेकी छन् । इजिप्ट भ्रमणमा रहेकी उनले त्यहाँ जारी राजनीतिक संक्रमणलाई सहज बनाउने कार्यमा सघाउन इजिप्सेली सैन्य अधिकारीसमक्ष प्रस्ताव
गरिन् । सोमबार इजिप्टका सैनिक प्रमुखसँगको भेटवार्तामा उनले यस्तो प्रस्ताव गरेकी हुन् ।
इजिप्टका नवनिर्वाचित राष्ट्रपति मोहमद मोर्सी तथा शक्तिशाली सर्वोच्च सैन्य परिषद्बीच शक्ति संघर्ष चलिरहेको भनिएका बेला विदेशमन्त्री क्लिन्टनले यस्तो आग्रह गरेकी हुन् । नागरिक तथा सैन्य नेतृत्वबीच शक्तिसंघर्षले थप विवाद उत्पन्न गराउने भन्दै विदेशमन्त्री क्लिन्टनले प्रजातन्त्रका लागि मिलेर काम गर्न सैनिक प्रमुख र नवनिर्वाचित राष्ट्रपति मोर्सी दुवैसँग आग्रह गरेकी छन् । गत वर्ष आन्दोलनको बेगले पूर्व तानाशाह होस्नी मुबारकलाई अपदस्थ गरेपछि इजिप्ट अहिले राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ । मुबारकको अन्त्यपछि यसै महिना भएको आमनिर्वाचनले मोर्सीलाई नयाँ राष्ट्रपति चयन गरेको थियो । मोर्सीले कार्यकारिणी अधिकार प्रयोग गर्नुपर्ने संवैधानिक प्रावधान रहे पनि सैनिक प्रमुखले शक्ति अभ्यास गर्ने प्रयास गरेको आरोप मोर्सीको दलले लगाइरहेको छ । (एएफपी)

प्रतिक्रिया