वर्ग रूपान्तरणको प्रतिफल

राजनीतिले मुलुकलाई समृद्धि, जनतालाई सुख र सन्तुष्टि दिन्छ । देशवासीमा एकअर्काप्रति आकर्षण र स्नेह जागृत गराउन सक्नु, आत्मविश्वास र जाँगरको रक्तसञ्चार गरिरहनु र भविष्यप्रति आशावादी गराउनु सफल राजनीतिका लक्षण हुन् । जब राजनीति रक्षात्मक बन्छ तब समाजले गति गुमाउने गर्छ । राजनीति असफल हुँदा राजनीतिकर्मी टिकिरहन गुहारको खोजीमा लाग्ने गर्छन् । डुब्न लागेकाहरूलाई त्यान्द्रोको सहारा नमिल्ने होइन तर त्यसले काम दिँदैन । असफल राजनीतिकर्मीमध्ये कसैको हातमा नातावाद र वंशवाद पर्छ त सकैको हातमा धर्म, कसैको हातमा भ्रष्टाचार, अनियमितता र अराजकतावाद पर्ने गर्छ त कसैको हातमा आतंककारी गतिविधि र आतंकवाद ।
नेपालको एकीकरणपछि पृथ्वीनारायण शाह र बहादुर शाहको पालामा मात्र राजनीतिले गति पायो । लोकतन्त्रवादी कित्ताबाट राजनीतिलाई खुराक दिन बिपी कोइराला र मदन भण्डारी मात्र सफल भए । नोकरशाही, दलाली, व्यापार, अपराध र भ्रष्टाचारबाट राजनीतिलाई अलग्याउनुजस्तो जटिल संकट युवा पुस्ताको टाउकोमा थोपरेर भाग्य चम्काउनेहरूका कारण नेपालमा राजनीति अराजकतासामु रक्षात्मक बनेको छ । माओवादीको उत्कर्षकाल पनि अवसरवादीहरूका लागि भोजभतेर बनेको छ । जनयुद्धको असफलतालाई सुरक्षित अवतरणको रेशमी रुमालले छोप्न सफल भए पनि खुला राजनीतिमा आएपछि माओवादी पार्टीभित्र जबर्जस्त बनेको अवसरवादको फन्दा अध्यक्ष प्रचण्डलाई भालुको कन्चट सावित भएको छ ।
नेताहरू चुक्दा र राजनीति असफल हुँदाको नोक्सानी मुलुकको भागमा पर्छ भने लाभ अवसरवादीको पोल्टामा जाने गर्छ । कपटी, झपटी र जागिरे यतिका अवसरवादीहरूबाट निष्ठावानहरूलाई जोगाउन र उनीहरूको मन जित्न माओवादी संस्थापन असफल भयो । यही मौका छोपी अवसरवादीहरूबीच कम्युनिस्ट राजतन्त्रको अभ्यास गर्दै गोजी भर्ने प्रतिस्पर्धा चल्यो । सुरा र सुन्दरीको जोहो गरी सरकारी रकम हजम पार्दै सगरमाथा आरोहण यात्रालाई बाहना बनाइयो । एमाले, मालेपछि माओवादी खाइसिध्याउने क्रममा अभ्यस्त भइसकेको अवसरवादले प्रकाश दाहाल र विना मगरलाई मुर्गा बनायो । मक्किने, भत्किने वातावरण सिर्जना गर्नेले नै गम्भीर प्रकृतिको सूचना बिक्री गरेर श्रीषा कार्कीलाई आत्महत्याको ढोकामा पुर्‍याउने फोरमको उपयोग गरेर बाठाहरूले एकसाथ दुई घरबार बन्जर पारे । बाँदरभक्तहरूले कहाँ कसको पो भलो गरेका छन् र ? पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहकै हालतमा प्रचण्ड–प्रकाश पिता–पुत्र पुग्नुमा बाँदरभक्तहरू जिम्मेवार साखुल्ले छैनन् । जे होस्, प्रतिगामी हर्कत र अधिनायकवादी चलखेलजस्तो डरलाग्दो नियत बोकेका पिताजीहरूको हातमा दयालाग्दो नियति थमाएर पुत्रद्वयले लोकतन्त्रको दोहोरो खड्गो टारिदिएका छन् ।
संकटहरू एक्लै आउँदैनन् भन्ने थाहा नपाएकाले नै नेपालको राजनीतिक नेृतृत्व संकटको घानमा परेको हो । लक्ष्यवर्ती नेतृत्वले मात्र राजनीतिलाई गति दिन सक्छ । संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दल बनेपछि माओवादीले लक्ष्य नै बिर्सिदियो । नेपालको लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको आन्दोलन र वामपन्थी आन्दोलन अधुरा र अपूरा कार्यभार पूरा गर्न माओवादी नेतृत्व दत्तचित्त भएर लागेन । नेकपा (एमाले) सबैभन्दा ठूलो वामघटक हुँदा, विशेष गरी मदन भण्डारीको शेषपछि अलपत्र परेको नेपाल कम्युनिस्ट पार्टीको एकीकरणजस्तो ऐतिहासिक कार्यभार माओवादी नेताहरूको काँधमा थियो । उत्तम कोटिको राजनेताले मात्र कार्यसम्पादन गर्नसक्ने यस प्रकारको कृतकार्यको कर्ता स्वयं सहिष्णु, निष्कपट, निस्वार्थी, विवेकशील र साहसी हुनु अनिवार्य थियो । तर, माओवादी नेताहरू मध्यम कोटिका पनि बन्न सकेनन् । परिणामस्वरूप उनीहरूले अरूलाई समेट्न सक्ने सामथ्र्यको आपूर्ति गर्न त कता हो कता आफ्नो दुई दशक लामो धोकाधडीपूर्ण व्यवहारले भरिएको सहयात्रालाई पनि निरन्तरता दिन सकेनन् । माओवादीकै बेमेलका कारण संविधानसभाले संविधान दिन सकेन र मृत्युवरण गर्‍यो ।
तर पनि, संविधानसभाको एकमात्र उपलब्धि गणतन्त्रको स्थापनाबाट मुलुक पछि हट्न सक्दैन । राजाकै रूपमा नारायणहिटी फर्कने पूर्वराजाको लहड भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देखेजस्तै हो । कुनै पनि व्यक्ति राम्रो वातावरण पाए मात्र उत्पात्र हुन सक्छ तर खराब वातावरण कुपात्रका लागि उर्बरभूमि सावित हुन्छ । शक्ति, सत्ता, सुन्दरी र सुुन्डमुसुन्डबाट घेरिएका युवराज नामका बबुरा युवाहरू एकाधलाई अपवादमा टाँस्ने हो भनेपछि अलोकप्रिय शासक हुने खतरा रहन्छ । संसारबाट राजतन्त्र हराएर जानु र सामन्तवाद आधुनिक राष्ट्र राज्यमा पछौटे चिन्तनका रूपमा देखापर्नुको कारण यही हो । त्यसैले जन्मेको आधारमा नेतृत्व चयन गर्ने कालो वा रातो रंगको राजतन्त्र नेपाली जनतालाई स्वीकार्य छैन । जनआन्दोलनको सफलता र आमहड्ताल घोषणाको प्रतिरोधले नेपाली जनता लोकतन्त्रको पक्षमा र निरंकुशता वा अधिनायकवादको विपक्षमा रहेको प्रस्ट छ । पिता र नेताको भूमिका निर्वाह गर्न चुकेका महत्त्वाकांक्षी नेताहरूले आफ्नो चित्तलाई आफैँ बुझाउँदै भन्नुपर्छ– जनताले साथ दिएनन् पोहोर पनि, भत्काइदिन्छु भएको खोर पनि ।
बनको चरी केके न बास्छे, साधारण मानिसले केके न भन्छ । प्रकाश–बिना सम्पर्कविहीन भएको हल्ला चलेपछि फेसबुक र ट्विटरमा हल्ला र गिल्लाले बजार पायो । सन्ध्याकालीन पत्रिका बेच्ने भाइहरूका खल्ती बाक्ला भए । तीमध्ये एकजना बागबजारस्थित पद्ममकन्या क्याम्पसअगाडि चियागफीहरूको ध्यान खिच्दै भन्दै थिए, ‘लौ मार्‍यो हजुर † प्रचण्डको छोराले, उद्दण्ड मोराले, अर्काकी स्वास्नी लग्यो शूराले ।’ संयोगको कुरा त्यही साता प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति डा. बाबुराम भट्टराईकी सुपूत्री मानुषी यमी विश्वविद्यालयको दीक्षान्त समारोहमा पिताजीबाट अभिनन्दित भइन् । ट्विटरमा कसैले लेखे– धन्य मानुषी † हुने बिरुवाको चिल्लो पात । कठै प्रचण्ड † छोराका कारण पुर्पुरोमा हात । यी तथ्यहरूले छोरा नभई वैतरणी तरिन्न, पुण्य पाइन्न भन्ने रुढिवादलाई चिर्न मद्दत पुर्‍याएका छन् । जनसंख्या शास्त्रका विद्यार्थीका लागि यो एउटा सुराक पनि हो । छोरी भएकाले गर्भपतन गराएर मुलुकमाथि लैंगिक असन्तुलनको संकट थोपर्ने दम्पतीका लागि यो घटना प्रेरणाको स्रोत बन्न सक्छ । ओखलढुंगाका रवि मगरले अर्काको होटलमा साँझबिहान भाँडा माझ्ने काम गर्दै ८२ प्रतिशत अंक ल्याएर गाउँको सरकारी विद्यालयबाट एसएलसी उतीर्ण गरे । मुलुकमा असंख्य वामपन्थी दल, तिनका धनीमानी नेता र कमाउवादी जनजातिवादी नेताहरूबीच अवसर र भागवण्डाका लागि आरोपप्रत्यारोप चलिरहेको छ । तर, रविको पीरमर्का सुन्ने फुर्सद कसैसँग छैन । वामपन्थी आन्दोलनमा अघाएका किर्नाहरूबाट पाखा लगाइएका समाजवादी नेता लोककृष्ण भट्टराई रविका लागि शिक्षा व्यवसायीरूपी कालो कोइलाको पिँध उधिनेर शिक्षासेवी रूपी हीराको खोजीमा छन् । सयौँ रवि मगरलाई पुग्ने लाडप्यार, अर्थ र अवसर, आफन्त र समर्थकलाई दुरुपयोग गरी पूर्वयुवराजा र नवयुवराजाहरू सीताजस्ती पत्नीलाई दु:ख दिँदै गरिब देशका जनताको पसिनाको कमाइले विदेशमा मस्ती उडाइरहेका छन् । त्यसैले त भनिन्छ–
‘छोरा राम्रा गरिबका घर राम्रा शोषकका
ओकल्दा निख्रिने छैनन् यी दु:ख पेटका’

प्रतिक्रिया