सिडिओविरुद्ध बारले मुद्दा दायर गर्ने


दाङ, २ साउन । नेपाल बार एकाइ दाङले सिडिओ मधुसूदन बुर्लाकोटीविरुद्ध मुद्दा दायर गर्ने जनाएको छ । अदालतको आदेशको अवज्ञा गरेको आरोपमा सिडिओविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने बारले जनाएको छ । सिडिओको आदेशमा हातहतियार तथा खरखजाना मुद्दामा थुनामा रहेका शंकरचन बालान क्षत्रीलाई आइतबार पुनरावेदन अदालतले ६० हजार रुपियाँ धरौटी लिएर तारेखमा छाडेको थियो ।
न्यायाधीश शेषराज सिवाकोटी र निहिरकुमार ठाकुरको संयुक्त इजलासले क्षत्रीको मुद्दा अघि बढाउन आदेशसमेत दिएको थियो । अदालतको आदेशानुसार सोमबार धरौटी राखेर तारेखमा रिहा हुन माग गरेका क्षत्रीका निवेदन सिडिओ बुर्लाकोटीको ठाडो आदेशमा जिल्ला प्रशासनले लिन अस्वीकार गरेको छ । सिडिओले अदातलविरुद्ध गरेको ठाडो आदेशले अदालतको मानहानी भएको जिल्ला बारले निष्कर्ष निकालेको अध्यक्ष दीपक रेग्मीले बताए ।
उनले भने, ‘जिल्ला बारले  सोमबार सिडिओविरुद्व खेद प्रस्ताव पारित गरेर मंगलबार उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने निर्णय भएको छ ।’ उनले अदालतको निर्णयलाई प्रजिअले लत्याएको र न्यायिक क्षेत्रको मानहानी गरेको बताए । हाल काजमा काठमाडौं रहेका सिडिओ बुर्लाकोटीले भने आफूले अदालतको आदेश नलत्याएको बताए । आफू जिल्लाबाहिर रहेकाले सम्पूर्ण कुरा बुुझेर मात्र काम गर्न कर्मचारीलाई निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया