मुम्बई : पुराना चलचित्रको सिक्वेल बनाउने ट्रेन्ड नै चलिसकेको छ बलिउडमा । यस्ता चलचित्रले चर्चासँग व्यावसायिक सफलता पनि कमाइरहेका छन् । सिक्वेल चलचित्रमा अभिनय गर्ने कलाकारको अग्रपंक्तिमा पर्छिन् नायिका कंगना रनावत पनि । ठूला तथा साना ब्यानरका बढीजसो सिक्वेल उनकै हातमा आइपुगेका छन् । अहिले उनका साथमा डेढ इस्किया, कृस– ३ र तनु वेड्स मनु–२ जस्ता चलचित्र छन् । डेढ इस्कियामा उनले माधुरी दीक्षितका साथ काम गर्ने भएकी छन् । कृस–३ ऋत्विक रोशनको महत्त्वाकांक्षी चलचित्र हो । तनु वेड्स मनु–२ गत वर्षको चलचित्र तनु वेड्स मनुको सिक्वेल हो । केही समयअघिसम्म सिक्वेल चलचित्रमा करिना कपुर र विपासा वसुलाई पनि निकै देखिन्थ्यो । तर, अचेल बलिउडका निर्माताहरू कंगनाकहाँ अफर लियर बढी जाने गरेको एजेन्सीले बतायो । ‘सिक्वेल चलचित्र सेफ गेमजस्तो भएकाले यिनमा काम गर्न लागेकी हुँ,’ कंगनाले भनिन् । पुरानै चलचित्रको सिक्वेललाई दर्शकमाझ प्रचारप्रसार पनि कमै गरे हुने भएकाले निर्माताले सजिलो मान्ने गरेको एजेन्सीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया