तस्बिरमा सुदूरपश्चिम लट्ठिए देउवा

सौर्य समाचार

काठमाडौं,१ साउन । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेपाल पर्यटन बोर्डमा थिए । तर, भन्दै थिए, ‘मलाई यतिखेर आफ्नै ठाउँ सुदूरपश्चिममै रहेको अनुभूति भइरहेछ ।’ भित्तामा लहरै झुन्डिएका फोटोहरू नियाल्दा उनका ओठबाट शब्द बर्सिंदै थिए, ‘हाम्रो देशमा यस्ता राम्रा धार्मिक, सांस्कृतिक र प्राकृतिक छटा रहेछन्, जुन विश्वमा अन्त पाइँदैन । काठमाडौंका साँघुरा गल्ली पिँजडा नै भएछ नि ।’ राजनीति भन्दाभन्दै मुलुकका मनोरम दृश्य अवलोक गर्न नपाएकामा थकथकी मान्दै थिए । अनि भने, ‘अबचाहिँ समय मिलाएर खप्तड मालिका भ्रमणमा जानुपर्ला ।’ पूर्वगृहमन्त्री भीम रावल पनि सुदूरपश्चिममै पुगेजसरी खप्तड–मालिकाको सुन्दरतामा हराइरहेका थिए । भन्दै थिए, ‘यहीँ बसेर सुदूरपश्चिमको जनजीवन र प्रकृतिको अवलोकन गर्न पाइयो ।’
प्रसंग हो– आइतबारबाट नेपाल पर्यटन बोर्डमा सुरु खप्तड–मालिका शीर्षक फोटो प्रदर्शनीको । जहाँ सजिएका छन्, बालकृष्ण थापा क्षेत्रीले सुदूरपश्चिमको खप्तड क्षेत्रमा खिचेका फोटोहरू । सुदूरपश्चिमका प्राकृतिक सौन्दर्य र धार्मिक–सांस्कृतिक विविधतालाई फोटोग्राफरले तस्बिरमा कैद गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा, पूर्वमन्त्रीहरू रावल र लेखराज भट्ट तथा बैंकर्स अनिल शाहलगायतले संयुक्त प्रदर्शनी उद्घाटन गरे । कार्यक्रमपछि पूर्वमन्त्री भट्टले सौर्यसँग भने, ‘यी तस्बिर देखेर मलाई गाउँको त्यही खोलामा डुबुल्की मारेको महसुस भइरहेको छ ।’ आफूले पनि सुदूरपश्चिमका थुप्रै फोटो खिचेर घरमा राखेको उनले सुनाए । उनी रिल हाल्नुपर्ने क्यामेरा भएकाले सबै फोटो धुलाउन नसकेको स्मरण गर्दै थिए ।
सजिएका ४० वटा फोटोमध्ये हरियो छेपारोको फोटो खिच्न सबैभन्दा बढी समय र जोखिम पनि मोल्नुपरेको सुनाउँदै थिए, फोटोग्राफर बालकृष्ण । हरियो छेपारोको फोटो खिच्ने पहिलेदेखिकै चाहना रहेकाले संग्रहालयमा गएर यसबारे जानकारी पनि लिएका रहेछन् उनले । ‘तर, भेट्टाउन सजिलो भएन, चार दिन त त्यसैको खोजी गरेर बसेँ ।’ उनले सुनाए । यी तस्बिर उनले सुदूरपश्चिमको दुईपटकको भ्रमणमा २२ दिन लगाएर खिचेका हुन् ।
बडिमालिका र खप्तड समुद्री सतहबाट १२ देखि १४ हजार फिटको उचाइमा अवस्थित छ । यो बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल पनि हो । खप्तड बाबाले पाँच दशकभन्दा बढी समय साधना गरेको यो भूमि पछि उनैको नामबाट स्थापित भयो । यही सेरोफेरोको सौन्दर्य उजागर गर्ने उद्देश्यले माईसञ्चार डट कमले आयोजना
गरेको प्रदर्शनी आगामी ३ साउनसम्म चल्नेछ ।

प्रतिक्रिया