ओलम्पिकमा अमेरिकाको खडेरी

न्युयोर्क, १ साउन । आधुनिक ओलम्पिक खेलकुदमा अमेरिकाको वर्चस्व नयाँ होइन र अझै जारी छ । प्राय: सबै खेलविधामा अमेरिकाले सफलताको स्वाद चाखिसकेको छ । ट्रयाक एन्ड फिल्ड होस् या स्विमिङपुल या बास्केटबल यस्तै अरू प्राय: ओलम्पिक खेलमा अमेरिकाले कुनै न कुनै पदक कुनै न कुनै समयमा जितिसकेको छ ।
तैपनि, आसन्न लन्डन ओलम्पिकमा तीनवटा खेल विधा हुनेछन् जसमा अमेरिकाले अहिलेसम्म ओलम्पिक पदक जित्न सकेको छैन । ती खेल हुन्– ब्याडमिन्टन, टेबलटेनिस र ह्यान्डबल । यी खेलमा अमेरिकाले आसन्न ओलम्पिक खेलकुदमा पनि पदकको खडेरी चिर्ने सम्भावना कम रहेको बताइन्छ । ब्याडमिन्टन र टेबल टेनिसमा एसियाली राष्ट्रको वर्चस्व छ । खासगरी चीन यी खेलमा विश्वमै अगाडि छ । त्यसैले एसियाले नै यी खेलका सम्पूर्ण पदक जित्ने सम्भावना छ । ह्यान्डबलमा भने आसन्न ओलम्पिकमा अमेरिकाको सहभागिता नै हुनेछैन किनकि ओलम्पिकका लागि भएको क्षेत्रीय छनोटमै सीमित भएको थियो अमेरिका ।
प्रश्न उठ्छ, प्राय: खेलमा बलियो उपस्थिति देखाएको अमेरिका यी खेलमा चाहिँ किन पछि पर्‍यो ? सामाजिक पक्षलाई नै यी प्रश्नको उत्तर मानिन्छ अमेरिकाको हकमा । तीन सय मिलियन जनसंख्या रहेको अमेरिकामा टेबलटेनिस र ब्याडमिन्टन धेरैले खेल्छन् तर त्यो खासगरी मनोरञ्जनका लागिमा मात्र हुने गर्छ । ओलम्पिकमा समावेश भएको हेन्डबलको स्वरूप र अमेरिकामा खेलिने हेन्डबलको स्वरूप फरक छ ।
ओलम्पिकमा ‘मिनी फुटबल’ र गोल हुने त्यसका लागि गोलपोस्ट निर्माण हुने हेन्डबलको यो स्वरूप अमेरिकामा परिचित छैन । हत्केलाले बल भित्तामा हिर्काएर खेलिने खेलका रूपमा रहेको छ ह्यान्डबल अमेरिकामा । ‘धेरै मात्रामा यो सांस्कृतिक हो,’ इन्टरनेसनल सोसाइटी अफ ओलम्पिक हिस्टोरियन्सका पूर्वअध्यक्ष बिल मेलोनले भने, ‘अमेरिकामा यस्ता केही खेलहरू छन् । यिनीहरूलाई परिवर्तन पनि गर्न सकिन्छ । केही समयअघिसम्म भलिबल आफ्नै तरिकाको थियो अमेरिकामा । तर, त्यसलाई परिवर्तन गरी अहिले हामी विश्वमै बलियो शक्तिका रूपमा उदाइसकेका छौँ ।’ सन् १९८८ र सन् १९९२ मा टेबलटेनिस र ब्याडमिन्टन ओलम्पिकमा समावेश गरिएको थियो ।

प्रतिक्रिया