सिरियाली शरणार्थी लेबनानमा

बेरुत, १ साउन   । एक साताभित्र सिरियाका ६ सय शरणार्थी लेबनान पुगेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसिआरले साप्ताहिक प्रतिवेदनमा जनाएअनुसार सिरियाका ३० हजारभन्दा बढी शरणार्थी देशमा हिंसा फैलिँदै गएपछि भागेर लेबनान पुगेको जनाइएको छ । भागेर लेबनान पुगेका सिरियाली शरणार्थीमध्ये २८ हजार चार सय ७६ व्यक्तिले आफ्नो नाम दर्ता गराएको नियोगले जनाएको छ ।
लेबनानका समाजिक मामिलामन्त्री वाएल अबु फाओरले सिरियाली शरणार्थीलाई सहयोग प्रबन्ध गर्ने जिम्मेवारीबाट आफूहरू भाग्न नसक्ने उल्लेख गरे । सिरियामा गत वर्षको मार्च महिनादेखि राष्ट्रपति बासर अल असदको राजीनामा माग गर्दै प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा अहिलेसम्म १७ हजारभन्दा बढीको ज्यान गइसकेको मानव अधिकारकर्मीहरूको दाबी छ । रक्तपात नरोकिने हो भने सिरियामा भीषण गृहयुद्धको प्रबल सम्भावना रहेको बताइन्छ ।
गृहयुद्ध सुरु भए लाखौँको ज्यान जाने सम्भावना रहेको भन्दै विश्व समुदायले यसप्रति चिन्ता व्यक्त गरिरहेको छ । सिरियामा जारी हत्या रोक्न अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेकाले यसको प्रभाव देखिन सकेको छैन ।
राष्ट्रपति असदले सत्ता त्याग गर्न अस्वीकार गर्दै आएका छन् । देशभित्र सुरु भएको विद्रोह अमेरिकाद्वारा प्रायोजित रहेको आरोप लगाउँदै उनले विदेशीको उक्साहटमा आफ्नो राजीनामा माग्नेको कामना पूरा नहुने प्रस्ट पार्दै आएका छन् । तर, विपक्षी नेताहरूले भने राष्ट्रपति असदको राजीनामा आन्दोलनको बटमलाइन रहेको उल्लेख गर्दै असदले सत्ता नछाडेसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने अडान राख्दै आएका छन् । (सिन्ह्वा)

प्रतिक्रिया