एकै परिवारका चारको मृत्यु

पेसावर : उत्तरपश्चिम पाकिस्तानको एक गाउँमा बम विस्फोट गराइँदा एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । विस्फोटमा एकजना घाइते भएको समाचार प्राप्त भएको छ ।
उत्तरपश्चिम पाकिस्तानको साइखान गाउँमा आइतबार सबेरै विस्फोट भएको थियो । विस्फोटमा परी मारिनेमा एकै परिवारका तीन बालबालिका र उनीहरूकी आमा रहेका छन् । विस्फोटबाट सो परिवारका बाबु घाइते भएको प्रहरीले जनाएको छ । परिवारका सबै व्यक्ति सुतिरहेका बेला विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी साफिदुल्लाह खानले जानकारी दिए । विस्फोटबाट ज्यान गुमाउने बालबालिका दुईदेखि नौ वर्षबीचका रहेको उनले बताए ।
त्यसैबीच पाकिस्तानको पेसावरदेखि बाहिरी इलाकामा रहेको एक सरकारी विद्यालयमा तालिबानी आतंककारीले बम विस्फोट गराएको समाचार छ । विस्फोटबाट विद्यालय भवन क्षतिग्रस्त भएको छ । तर, मानवीय हताहतीको कुनै समाचार प्राप्त भएको छैन । विद्यालय भवनको पर्खालमा जडान गरिएको बम दूरनियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको थियो । विस्फोट गराइएको सो विद्यालयमा छात्राहरू मात्र अध्ययन गर्दै आएका छन् । तालिबानी चरमपन्थीले उत्तरपश्चिम पाकिस्तानमा छात्राहरूले अध्ययन गर्ने सयौँ विद्यालय ध्वस्त पारिसकेका छन् । (एएफपी)

प्रतिक्रिया