पन्ध्र तालिबानीको मृत्यु

काबुल : अफगानिस्तानमा गत २४ घन्टाभित्र नेटोसहितको संयुक्त सेनाले गरेको कारबाहीमा १५ भन्दा बढी तालिबानी चरमपन्थीको मृत्यु भएको छ ।
अफगानिस्तानको गृह मन्त्रालयले जनाएअनुसार कारबाहीका क्रममा थप १० चरमपन्थी घाइते भएका छन् । अफगान राष्ट्रिय प्रहरी, सैनिक र नेटोसँग आबद्ध सैनिकले नान्गार्हार, लाघमान, कुन्दुज, उरुगान, वार्दाक घाज्नी, हेरात र हेल्मान्डलगायत प्रान्तमा कारबाही गरेको थियो ।
कारबाहीमा १५ भन्दा बढी सशस्त्र तालिबानी चरमपन्थीको मृत्यु हुनाका साथै अन्य १० जना घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले आइतबार विज्ञप्तिमा जनाएको छ । कारबाहीका क्रममा विभिन्न हातहतियार बरामद गरिएको छ । आक्रमणबाट सुरक्षा बलतर्फ दुई प्रहरी घाइते भएकोसमेत समाचारमा जनाइएको छ ।
अफगानिस्तानमा अफगान र नेटोसँग आबद्ध करिब एक लाख ३० हजार सैनिकले तालिबानी लडाकुविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिबानविरुद्धको कारबाहीलाई तीव्र पारिएको छ । (सिन्ह्वा)

प्रतिक्रिया