चितवन, १ साउन । यौनकर्मी महिलालाई एसएमएसमार्फत यौन शिक्षा दिन सुरु गरिएको छ । यौनकर्मी महिला खुल्न नचाहने भएकाले मोबाइल नम्बर संकलन गरेर मोबाइलमा सन्देश दिन थालिएको हो ।
यौनकर्मी महिला तथा तिनका ग्राहकको विषयमा काम गर्दै आएको सहभागी संस्थाले कार्यक्रम सुरु गरेको हो । मोबाइल सन्देशमार्फत यौनशिक्षा कार्यक्रमअन्तर्गत ४० महिलालाई एसएमएस सन्देश दिइएको संस्थाका कार्यक्रम संयोजक युवराज सापकोटाले बताए ।
‘यौनकर्मी महिला व्यवसाय लुकाउने गर्छन्, त्यसैले महिला कर्मचारीलाई परिचालन गरेर गोपनीयता भंग नहुने गरी सन्देश दिन थालेका छौँ,’ सापकोटाले भने, ‘यौनकर्मीबाटै एचआइभी, यौनरोगलगायत विभिन्न रोगको संक्रमण दर बढी देखिएकाले यो अभियान चलाइएको हो ।’
सन्देशमा ‘कन्डम’ प्रयोग, नियमित स्वास्थ्य परीक्षण, एचआइभी तथा यौनरोगबारे जानकारी, रोकथाम, रोग सर्न नदिने उपाय समेटिएका छन् ।
जिल्ला एड्स समन्वय समितिका संयोजक रामहरि न्यौपाने एसएमएस सन्देश सञ्चालन सकारात्मक भएको प्रतिक्रिया दिए । सहभागी संस्थाका अनुसार केही महिला यौनकर्मीले जवाफसमेत पठाएर दोहोरो मोबाइल सन्देश गर्न थालेका छन् । चितवनमा एक हजारको हाराहारीमा यौनकर्मी रहेका छन् । तिनका १० हजार ग्राहक रहेको बताइएको छ । उनीहरूले ग्राहकलाई पनि नियमित जानकारी र चेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताएका छन् । सरकारले यो पेसालाई वैधानिकता नदिए पनि नेपालमा लुकिछिपी यौनव्यवसाय संगठित रूपमै सञ्चालित छ ।
प्रतिक्रिया