सिरियामा १ सय १८ को हत्या

बेरुत : सिरियामा शुक्रबार भएको हिंसामा ११८ व्यक्तिको मृत्यु भएको र उक्त संख्यामा सरकारविरोधी बृहत् प्रदर्शनमाथि सरकारी सेनाले गरेको गोली प्रहारमा मरेका दर्जनौँ व्यक्तिको संख्या पनि समावेश भएको मानवअधिकारवादी एक संस्थाले दिएको प्रतिवेदनमा उल्लेख छ ।
सिरियन अब्जरभेटरी फर हयुमन राइट्सले मुलुकभर यसरी मर्नेमा १३ बालबालिकासहित ४९ नागरिक, ३७ सैनिक तथा ३२ विद्रोही लडाकु परेको जानकारी दिएको छ । बेलायतमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले घटनास्थलमा रहेका आफ्ना कार्यकर्ता तथा प्रत्यक्षदर्शीले दिएको जानकारीअनुसार उत्तरपश्चिमी इडलिब प्रान्तमा सेनाले गरेको आक्रमणमा कम्तीमा १८ विद्रोही मारिएको उल्लेख गरेको छ ।
१८ नागरिकको दमासकस जिल्लामा तथा यार्मुकस्थित प्यालेस्टाइनी शरणार्थी शिविरमा मृत्यु भएको पनि अब्जरभेटरीले उल्लेख गरेको छ । प्रदर्शनकारीहरूले नाह्र आयसा तथा सायिदा जैनाबमा सरकार विघटनको माग गर्दै प्रदर्शन गरेका थिए भने उनीहरूमाथि सेनाले गोली प्रहार गरेको थियो ।
यसको एक दिनअगाडि सेनाले टयांक तथा हेलिकोप्टर प्रयोग गरी ट्रिस्मामा गरेको आक्रमणमा १५० व्यक्तिको हत्या गरेको थियो भने सो दिन दुई सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया