भाइबहिनी हो, विसं. २०११ चैत २१ गते धनकुटाको तल्लोकोप्चे टोलमा मैले सर्वप्रथम चिहाँचिहाँ गरेको हुँ । तीन दाजुभाइ, एक दिदी र दुई बहिनीमध्ये म कान्छो हुँ । बुबा कवि, लेखक तथा समाजसेवी हुनुहुन्थ्यो ।
कखरा कहिले कसबाट चिन्न र लेख्न सिकेँ, हेक्का नै छैन । पक्कै पनि स्कुलतिर गुरुहरूसँग नै सिकेँ होला । सानो छँदा घरमा मलाई प्यारो गररे अशु भन्थे । तर, दाजु मुकेशचाहिँ ठाडै ‘अशे’ भनेर बोलाउनुहुन्थ्यो । अहिले ५८ वर्षको ढाडे उमेरमा पनि बच्चालाई जसरी दाजुले ‘अशे’ नै भनेर बोलाउनुहुन्छ ।
धनकुटाकै बालमन्दिर मिडिल स्कुलमा एक कक्षामा भर्ना भएर स्कुले जीवनको सुरुआत गरेको हुँ । त्यहाँ पाँच कक्षासम्म पढ्ने मौका पाएँ । केही समय त्यस स्कुलका हेडमास्टर प्रसिद्ध कवि तुलसी दिवस हुनुहुन्थ्यो । ६ कक्षादेखि गोकुण्डेश्वर माविमा पढेँ । त्यहाँचाहिँ प्रसिद्ध समालोचक दयाराम श्रेष्ठ सम्भवले पढाउनुभयो ।
किताबकापी हातमा बोकेर लैजान्थेँ । पौडी खेल्नमा जिरो भए पनि फुटबलमा चाहिँ हिरो नै थिएँ । त्यति बेला कहाँ पाउनु साँच्चिकै बल † निबुवा, भोगटे, बिमिरो र ज्यामिरजस्ता फलफूललाई लात्ताले हानेर खेलिन्थ्यो । अमिला फलफूललाई फुटबल बनाउने हामी अमिलिया टिमलाई देखेर टोलका व्यापारीहरूको मन कुँडिएछ क्यारे † हामीलाई गुलियो अनुभूति हुनेगरी साँच्चिकै फुटबल किनेर उपहार दिए । हामी हाँस्दै, नाच्दै र उफ्रिँदै खेल्थ्यौँ ।
साथीहरूसँग माछा मार्न पनि जान्थेँ । साथीहरू माछा मार्थे, मचाहिँ डिलमा बसेर बकुल्लोझैँ माछो ढुकेर बस्थेँ । किनकि पानी देख्यो कि मेरो सातो नै जान्थ्यो, छेउछाउमा ढिम्किँदै ढिम्किँदैनथेँ ।
मलाई स्कुलमा नेपाली विषय, त्यसमा पनि कथा, कविताबाहेक अन्य विषय नभइदियोस् जस्तो लाग्थ्यो । पढाइमा ठीकठाक खालको विद्यार्थी थिएँ । भरसक स्कुल जान नपरोस् भन्ने सोच भएको सरल, शान्त, सोझो र नेतृत्व गर्ने खालको केटो थिएँ ।
फुटबलको म कप्तान थिएँ । धनकुटामा हरेक वर्ष फुच्चे केटाहरूको फुटबल प्रतियोगिता हुन्थ्यो । हाम्रो टिम जहिले पनि राम्रो खेलेर फाइनलमा पुग्थ्यो, तर फाइनलमा सधैँ हाथ्र्यो । पदक र कप अर्कै टिमले जित्थ्यो । हामी लाटाले पापा हेरेझैँ हुन्थ्यौँ । एक कुनामा घोसेमुन्टो लगाई आºनो हार र अरूको जितमा परर्र ताली बजाएर बस्थ्यौँ ।
स्कुलबाट कक्षा छाडेर भाग्ने काम कहिल्यै गरिनँ, बरु मन नलागेको दिन स्कुलै जान्नथेँ । बिहानदेखि ठसठसी सुली गन्हाउने कुखुराको खोरमा लुक्थेँ । तीन कक्षामा पढ्दाखेरिको कुरा हो, बाल्नलाई चाङ बनाइराखेको दाउराको थुप्रोमा लुकेर बसेँ । घरमा खैलाबैला मच्चियो । अशु कहाँ गयो भनेर सबैतिर धुइँपत्ताल खोज्दा पनि कसैले भेट्टाउन सकेन । सानो हजुरआमाले मलाई सारै माया गर्नुहुन्थ्यो, उहाँले चाहिँ भेट्टाइछाड्नुभयो । क्या फसाद † भोलिपल्टदेखि बाटैबाट भाग्ला भनेर हजुरआमा पनि मैसँग स्कुल जान आउन र कक्षामा बस्न थाल्नुभयो । बेºवाँकमा कक्षामा बसेर मेरा लागि दु:ख गरेकी देख्दा मेरो कलिलो र मसिनो मनले स्कुल छाड्न नहुने रहेछ, भन्ने ठान्यो । त्यो वर्ष म फेल भएँ, तीन कक्षामै डल्लिएँ । अरू साथीचाहिँ चार कक्षामा पुगे । त्यसपछि म नियमित स्कुल जान थालेँ । भाइबहिनी हो, हजुरआमाले आफैँसँग स्कुल लिएर नगएको भए नानीदेखि स्कुल नजाने बानी लागेको म तिमीहरूका सामु यसरी अशेष दाजु भएर उपस्थित हुन पाउँदिनथेँ होला ।
मीनपचासको बिदामा विराटनगर हजुरबाकहाँ जान्थँे । पैदल जानुपथ्र्यो, दुई दिन लाग्थ्यो । बास बस्नुपथ्र्यो । विराटनगर पुग्दा अमेरिका, बेलायत नै पुगेजस्तो लाग्थ्यो । मानिसको भिडभाड, मोटरगाडीको पापूँ, रिक्साको लर्को, कमिलाको जस्तो साइकलको ताँती देखेर छाती खुसीले ढुक्क फुल्थ्यो । सबैभन्दा रमाइलो कुरा त सिनेमा हेर्न पाइन्थ्यो । हजुरबाको विराटनगरमा जुत्ताको ठूलो पसल र कारखाना भएर पनि म थोत्रो र पुरानो कपडाको जुत्ता लाएर स्कुल जाने गर्थें ।
स्कुलमा माफतमा पिटाइ पनि खानुपथ्र्यो । चार कक्षामा पढ्दाखेरिको कुरा हो, अंग्रेजी पढाउने सरलाई अंग्रेजीको खासै ज्ञान थिएन । अगडमबगडम फासफुसे अंग्रेजी पढाउनुहुन्थ्यो । मैले हेडमास्टरलाई कम्प्लेन गरिदिएँ । मलाई सरले कक्षाकोठामै साथीहरूका माझ सिस्नोपानी छर्कीछर्की झ्याम्मझ्याम्म हिर्काउन थाल्नुभयो । छडीले पिट्नुभयो र अन्त्यमा दुई औँलाको कापमा सिसाकलम राखेर आºनो हातले बेस्सरी थिचिदिनुभयो । मलाई साह्रै पीडा भएको थियो । त्यो यातना र शरीरभरिको नीलडाम सम्झिँदा अहिले पनि आङ जिरिंग र सिरिंग गर्छ ।
मलाई अलि ठूलो हुँदासम्म पनि च्वाँचे सुँगुरदेखि साह्रै डर लाग्थ्यो । छाडा सुँगुरको बथान जताततै देखिन्थ्यो । एकपटक जाडो बेलामा आँट गरेर नुहाएर ठाँटले स्कुल जाँदै थिएँ, बाटोमा जैरे सुँगुर छुन पुगियो । फेरि घर आएर थुरथुर काम्दै नुहाएर स्कुल जानुपर्यो । भाइबहिनी हो, त्यति बेला सुँगुर छोयो भने जात जान्छ भन्थे । कहिलेकाहीँ त दिनमै तीन–चारपटक नुहाउनुपथ्र्यो । सुँगुर छोइएर साह्रै दिक्क लाग्थ्यो । नुहाउने झर्कोले गर्दा मलाई सुँगुरदेखि डर लाग्थ्यो । छाडा सुँगुरले जताततै फोहोर गर्ने, बालीनाली बिगार्ने भएकाले टोलका अग्रज काकाहरू सुँगुर छाडा नछाडौँ भनेर घरघरमा सम्झाउने–बुझाउने गर्नुहुन्थ्यो । हामी फुच्चेहरू पनि जुलुसमा हिँडेजस्तो उहाँहरूको पछिपछि लाग्थ्यौँ ।
मेरो सानो हजुरबाले त उल्का नै गर्नुहुन्थ्यो । दाजु मुकेश र मलाई राम र लक्ष्मणको भेषभुषामा सजाएर धनुवाण पछिल्तिर झुन्ड्याइदिएर घरघरमा डुलाउने गर्नुहुन्थ्यो । हामी चुप लागेर ठिंग उभिन्थ्यौँ । उहाँ भने सुँगुर नछोड्नेबारे मानिसहरूलाई सम्झाउँदै रामायणका जस्ता कुन्नि के–के श्लोक र कविता भट्याउँदै रामजी, लक्ष्मणजी आएका छन् भन्दै हामीलाई देखाइदिनुहुन्थ्यो । प्राय: त्यसरी हिँड्दा मजा नै लाग्थ्यो तर कहिलेकाहीँ आºनो भेषभुषा देखेर दिक्क पनि लाग्थ्यो ।
बालवयमा मेरा दुइटा चाहना थिए । पहिलो, कवि बन्ने । घरमा बुबाको नामअगाडि कवि लेखेको निम्तोपत्र देख्दा र उहाँलाई मानिसहरूले मानसम्मानसाथ कविज्यू भनेर बेलाएको सुन्दा मलाई पनि त्यो पदवी लिन मन लाग्थ्यो । बुबालाई सोध्थेँ– ‘बुबा कवि बन्न के गर्नुपर्छ ?’ उहाँले ‘पढ्नुपर्छ, लेख्नुपर्छ’ भन्नुहुन्थ्यो ।
दोस्रो चाहनाचाहिँ बुट लाएर भकुन्डो खेल्ने थियो । अग्रज दाजुहरूले बुट लगाएको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो । हजुरबालाई कति अनुनयविनय गर्थें तर उहाँले मलाई कहिल्यै बुट दिनुभएन ।
भाइबहिनी हो, यसरी दोस्रो चाहना पूरा नभएकामा मलाई दु:ख लागेको छ । तर, पहिलो चाहना पूरा भएकामा सुख पनि उत्तिकै छ । सत्र वर्षको उमेरमा विसं. २०२८ सालमा गोकुण्डेश्वर स्कुलबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मेरो स्कुल जीवनले विश्राम लियो ।
प्रस्तुति : अनुक्रमराज
प्रतिक्रिया