आदिकवि भानुभक्त

भाइबहिनीहरू, भानुभक्त आचार्यलाई नेपाली साहित्यका आदिकवि भनिन्छ । नेपाली साहित्य लेखनको आरम्भ उनैबाट भएको मानिन्छ । त्यसैले उनलाई नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान गरेको व्यक्तिका रूपमा चित्रित गरिन्छ । गत शुक्रबार अर्थात् असार २९ गते उनलाई सम्झिँदै नेपालीले भानुजयन्ती मनाए । तिमीहरूले पनि सो दिन स्कुलमा उनको तस्बिरमा पूजा गर्‍यौ होला । भानुजयन्तीका दिन विभिन्न स्थानमा कविता वाचनलगायत कार्यक्रम आयोजना गरेर भानुभक्तको स्मरण गरिन्छ । असार २९ भानुको जन्मदिन हो । विसं. १८७१ असार २९ गते तनहुँ जिल्लाको रम्घामा उनी जन्मिएका थिए । उनका पिताको नाम धनञ्जय हो भने माता धर्मावतीदेवी । हजुरबुबा श्रीकृष्ण आचार्यले उनलाई शिक्षारम्भ गराएका थिए ।
भानुभक्तले एउटा घाँसीबाट परोपकारको प्रेरणा पाएका थिए । घाँसीले घाँस काटेर जम्मा भएको पैसाले तिर्खाएका बटुवाको प्यास मेट्न इनार खनिदिएका थिए । भानुभक्तले पनि लोककल्याणकारी काम गरेर नाम कमाउन चाहे । भानुभक्त राणाकालीन संकटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने मार्गदर्शक हुन् । हजारौँ वर्षदेखि पूर्वीय जगत्मा आदर्श बनेको प्रतिनिधिग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए उनी । एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम आदि भावलाई उनले जन्म दिए । यही योगदानलाई हेरेर उनलाई नेपालको राष्ट्रिय विभूतिको सम्मान दिइएको छ ।
आदिकवि भानुभक्तको जीवनचरित्र विसं. १९४८ मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई देशभर चिनाउने काम मोतीराम भट्टले गरेका थिए । भानुभक्तले संस्कृतका आदिकवि वाल्मीकिले लेखेको संस्कृत रामायणलाई नेपालीमा उल्था गरेका थिए । त्यसबाहेक त्यस समयको समाजको प्रतिनिधित्व गर्ने गरी उनले अनेक रचना लखेका छन् । वधूशिक्षा, भक्तमाला, प्रश्नोत्तरजस्ता कृति भानुकै देन हुन् । जसरी नेपालको भू एकीकरण पृथ्वीनारायण शाहले गरे, त्यसरी नै विभिन्न भाषाभाषीमा छरिएर रहेका नेपालीको भाषिक एकीकरण भानुभक्तले नै गरेको विश्वास गरिन्छ । नेपाली साहित्य फाँटमा आचार्यलाई आज पनि उत्तिकै श्रद्धासाथ हेरिन्छ ।

प्रतिक्रिया