एमालेले मौका पाए ओली प्रधानमन्त्री

 

 

काठमाडौं, ३१ असार । सरकारको नेतृत्व गर्ने मौका पाए एमालेले तेस्रो बरियताका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ । सहमतीय सरकार गठन हुँदा कांग्रेसले आन्तरिक किचलोका कारण उम्मेदवार तोक्न नसक्ने र प्रधानमन्त्री आफ्नो पोल्टामा पर्ने एमालेको बुझाइ छ ।
सहमतीय सरकारको नेतृत्व गर्न एमालेले कांग्रेसलाई सार्वजनिक रूपमा आह्वान गर्दै आएको छ । सँगसँगै उसले कांग्रेस अघि नसरे आफूले जिम्मेवारी लिने बताउँदै आएको छ । प्रधानमन्त्री उम्मेदवारको चाँडो टुंगो लगाउन पनि एमाले नेताहरूले कांग्रेस नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
स्रोतका अनुसार कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच प्रधानमन्त्री बन्ने विषयमा रस्साकस्सी हुने निष्कर्ष एमाले नेताहरूले निकालेका छन् । ओली र उनीपक्षीय नेताहरूले यसबारे कांग्रेस नेताहरूसित छलफलसमेत चलाइरहेको स्रोतले जनाएको छ ।
सरकारको नेतृत्व गर्ने मौका एमालेले पाए ओलीलाई प्रधानमन्त्री बनाउने विषयमा अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहमत छन् । एमाले स्रोत त तीन नेताबीच ओलीलाई प्रधानमन्त्री बनाउने अनौपचारिक सहमति भएको एमाले स्रोतको दाबी छ । तीन नेताबीचको सहमतिकै आधारमा एमालेले कांग्रेससितको छलफलमा ‘चाँडो उम्मेदवार टुंगो लगाऊ’ भनेर दबाब दिने गरेको स्रोतले जनाएको छ ।
सहमतीय सरकार बनाएर राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गर्नुपर्ने बताउँदै आएका कांग्रेस, एमालेका दुईपक्षीय वार्तामा एमालेले विगतको सहमतिअनुरूप कांग्रेस नेतृत्वमा सरकार गठनका लागि समर्थन गर्ने तर कांग्रेसले सहमतिमा उम्मेदवार अघि नसारे एमालेलाई जिम्मेवारी दिन आग्रह गर्दै आएको छ । १७ असारमा आºनै निवास डल्लुमा कांग्रेस सभापति सुशील कोइरालासँग भएको छलफलमा अध्यक्ष खनालले सहमतीय सरकारको नेतृत्वका लागि छिटो आन्तरिक तयारी सक्न भनेका थिए । खनालले कांग्रेस सरकारको नेतृत्वका लागि तयार नभए एमाले त्यसका लागि तयार रहेको बताएका थिए ।
पार्टीभित्र खनाल र नेपाल–ओलीको ध्रुवीकरण अन्त्य गरी गत माघमा आन्तरिक विवाद समाधान गरेपछि दुवै पक्षका युवा नेताहरूको पनि सरकारको नेतृत्व गर्ने अवसर आए पार्टीले ओलीलाई नै अगाडि सार्ने बुझाइ छ । ओलीलाई पार्टीको तेस्रो बरियता प्रदान गर्ने निर्णयसहित एमालेले पार्टीका अन्य विवाद सल्ट्याएको थियो । त्यतिबेला अध्यक्ष खनालले आºनै निवासमा ओलीसित गरेको छलफलमा ओलीलाई प्रधानमन्त्री र नवौँ महाधिवेशनबाट पार्टी अध्यक्ष बनाउने मौखिक सहमति भएको दाबी गरिएको थियो । ‘पार्टीका शीर्षस्थ नेताहरू र दोस्रो जेनेरेसनका नेताबीच पनि अब केपी कमरेडले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने अन्डरस्ट्यान्डिङ भएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘आवश्यक परे र एमालेले नेतृत्व गर्ने अवसर आए पार्टीको औपचारिक बैठकबाटै निर्णय हुन्छ ।’
विगतमा अन्य शीर्ष नेतासँग निकट रहेको भनिएका पोलिटब्युरो र केन्द्रीय कमिटीका युवा नेताहरू पनि पार्टीलाई नेतृत्वको अवसर आए ओलीलाई नै अघि सारिने बताउँछन् । ‘पार्टीभित्र औपचारिक छलफल त भएको छैन, बेला नआई छलफल गर्ने कुरा पनि भएन,’ पोलिटब्युरो सदस्य रघुजी पन्तले सौर्यसँग भने, ‘पार्टी अध्यक्ष र वरिष्ठ नेता एकपटक प्रधानमन्त्री भइसक्नुभएको छ, स्वाभाविक रूपमै तेस्रो बरियतामा रहेका र प्रभावशाली व्यक्तित्व भएकाले केपी ओलीलाई पार्टीले प्रधानमन्त्रीमा पठाउन सक्छ ।’
एमालेले सरकारको नेतृत्व गर्ने मौका पाए राष्ट्रिय राजनीतिमा स्पष्ट दृष्टिकोण र अडान राख्न सक्ने नेता भएकाले ओलीलाई प्रधानमन्त्री बनाइने दाबी उनीपक्षीय युवा नेताहरूको छ । ‘फर्मल निर्णय त केही छैन तर अब पार्टीले सरकारको नेतृत्व गर्दा केपी ओली नै निर्विकल्प नेता हो,’ केन्द्रीय सदस्य कर्णबहादुर थापाले भने, ‘काल्पनिक हिसाबले अहिले नै निर्णय गर्न नमिल्ने भएकाले मात्र हो ।’ यसअघि खनालनिकट भनी चिनिएका केन्द्रीय सदस्य घनश्याम भुसाल र योगेश भट्टराईलगायतका युवा नेता पनि ओलीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।
पार्टी उपाध्यक्ष विद्या भण्डारीले यसअघि नै सार्वजनिक कार्यक्रममा अबको प्रधानमन्त्री ओली भएको दाबी गरेकी थिइन् । सरकारको नेतृत्व गर्ने अवसर आए ओलीलाई अघि सार्ने कुरामा उपाध्यक्ष वामदेव गौतमसमेत सहमत छन् । अध्यक्ष खनाल र ओलीको सम्बन्ध सुमधुर बनाउन सक्रिय रहँदै आएका उपाध्यक्ष गौतमले यसअघि नै एमालेलाई महत्त्वपूर्ण जिम्मेवारी आउन सक्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
सहमतीय सरकारबारे दलहरूबीच सार्थक संवाद नै आरम्भ नभएकाले ओली आफैँले भने प्रधानमन्त्री बन्न पहल थालेका छैनन् । तर, कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालासहितको एउटा पंक्ति ओलीलाई प्रधानमन्त्री बनाउने पक्षमा रहेको ओलीनिकट स्रोतको दाबी छ । पछिल्लो समय कांग्रेस सभापति कोइराला आºनै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेपछि उपसभापति पौडेल पनि रुष्ट बनेका छन् । आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीलाई बनाउने पक्षमा उनी रहेको ओलीनिकटहरूको बुझाइ छ ।
त्यस्तै, कांग्रेस वरिष्ठ नेता देउवाले पनि आफू नहुने अवस्थामा ओलीलाई प्रधानमन्त्री बनाउन सघाउने ओलीनिकट नेताहरूको बुझाइ छ । कांग्रेस उपसभापति पौडेल र केन्द्रीय सदस्य कोइरालासँग ओली नियमितजस्तै सम्पर्कमा रहने गरेका छन् । अहिलेको अवस्थामा ओली मात्रै माओवादीको ‘डिफेन्स’ गर्न सक्ने नेता भएको कांग्रेका ती नेताको भनाइ रहने गरेको ओलीनिकट नेताहरूले बताए ।
पार्टीको पहिलो बरियतामा रहेका अध्यक्ष खनाल वर्तमान सरकार गठनअघि प्रधानमन्त्री थिए भने वरिष्ठ नेता नेपाल खनालअघिको सरकारका प्रधानमन्त्री हुन् । ओली एमालेमा तेस्रो बरियतामा छन् । भट्टराई सरकार कामचलाउ भइसकेकाले राष्ट्रपतिले सहमतीय सरकार गठन प्रक्रिया आरम्भ गर्नुपर्ने माग एमालेले गर्दै आएको छ ।

प्रतिक्रिया